सरकार छोड्न उपेन्द्रमाथि यसरी बढ्दैछ दबाब

सरकार छोड्न उपेन्द्रमाथि यसरी बढ्दैछ दबाब


उपप्रधानमन्त्रीसमेत रहेका संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालय मन्त्रिमण्डल पुनर्गठनपछि नेकपाका एक नेताको काँधमा पुगेको छ । उपेन्द्र भारत यात्रामा रहेकै अवस्थामा उनबाट स्वस्थ्य मन्त्रालय खोसेर कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । उपप्रधानमन्त्रीको ओहदा कायम रहेको भए पनि उपेन्द्र यादवलाई ‘ह्युमिलियट’ गर्नकै लागि उनको मन्त्रालय परिवर्तन गरिएको ब्याख्या–विश्लेषण गरिएका छन् । अझ सुक्ष्म विश्लेषण गर्नेहरूले त उपेन्द्र यादव सरकार छोडेर बाहिरिउन् भन्ने अभीष्ट राखेर नै प्रधानमन्त्री केपी ओलीले यस्तो निर्णय लिएका हुन् भन्ने दाबी गरिरहेका छन् ।

एकतिर प्रधानमन्त्री नै यसरी यादवप्रति असहिष्णु बनिरहेका छन् भने अर्कोतर्फ संघीय समाजवादी पार्टीभित्रबाटै सरकार छाड्नुपर्छ भन्ने पक्षको दबाब उपेन्द्रमाथि बढिरहेको अवस्था छ । तर, उपेन्द्र यादव भने कुर्सी छोड्न आनाकानी गरिरहेका छन् ।

सो पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराई सरकार छोडेर सडकमा आउने र राजपासँग पार्टी एकता गरी संविधान संशोधनको मुद्धा चर्काउनुपर्ने पक्षमा छन् । यसरी समाजवादी पार्टीको एउटा अध्यक्ष सत्तामा टाँसिन चाहने र अर्कोचाहिँ सडक तताएर राजनीतिक स्थिरता खल्बल्याउन खोज्ने परिवेशले पार्टी कार्यकर्ताहरू चाहिँ अल्मलिएका छन् ।

अझ महत्वपूर्ण कुराचाहिँ उपेन्द्रको सत्तामोहले राजपासँगको पार्टीएकता नै धरापमा परेको भन्दै दुर्व दलका नेता–कार्यकर्तामा असन्तोष बढिरहेको देखिन्छ । यसले सरकार छोडेर सडकमा आउन उपेन्द्रलाई बाध्य पार्ने सम्भावना बढाएको सो पार्टीसम्बद्ध एक नेताले बताए ।

यसै परिवेशमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिए मात्र पार्टी एकता सम्भव हुने धारणा सार्वजनिक गरेका छन् । जनकपुरमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै महतोले समाजवादी पार्टी सरकारसँग नबाहिरिएकाले एकताको सम्भावना तत्कालका लागि नभएको बताएका हुन् । । उनले भने ‘देशमा काङ्ग्रेस र कम्युनिष्ट शक्तिको विकल्पमा नयाँ वैकल्पिक शक्तिको खाँचो छ, त्यसलाई हामी पूरा गर्न लागेका छौँ, तर समाजवादी पार्टीले सरकार नछोडेसम्म एकताको सम्भावना छैन ।’

राजपा नेपाल वैकल्पिक शक्ति निर्माणको दिशामा अगाडि बढेको दाबी गर्दै संयोजक महतोले सरकारमा गएर वैकल्पिक शक्तिको निर्माण नहुने भएकाले समाजवादीसँग तत्काल एकता सम्भव नरहेको तर्क गरे । महतोले लोेकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादीलगायतका पार्टीसँग एकताको विषयमा कुरा अघि बढिरहेको जानकारी दिए ।

वर्तमान सरकारबारे उनको धारणा थियो– ‘हाम्रो माग सम्बोधन नभएसम्म सरकारलाई समर्थन गर्न सक्दैनौँ, त्यसैले त सरकारबाट समर्थन फिर्ता लिएर प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौँ ।’