सप्तरीमा नेपाली सेनाद्वारा स्वास्थ्य शिविर

सप्तरीमा नेपाली सेनाद्वारा स्वास्थ्य शिविर


सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ मा शनिबार (७ मंसिर) आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ६०० भन्दा बढीको उपचार गरिएको छ ।

नेपाली सेनाको राजविराजस्थित भीमदल गण र युनिक कलेज अफ मेडिसिन साइन्स एण्ड हस्पिटल प्रालिको संयुक्त आयोजनामा आयोजित स्वास्थ्य शिविरमा ६०० भन्दा बढीले उपचार सेवा प्राप्त गरेको गणका कार्यअधिकृत अमरबहादुर थापाले जानकारी दिएका छन् ।

युनिक अस्पताल र सेनाले बस्तीमै गएर निःशुल्क जाँच र औषधि वितरण गरेपछि ठूलो राहत मिलेको जाँचका लागि आएका स्थानीयवासी बिरामीको भनाइ छ । जिल्लाको अतिविकट मानिएको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरामा गरीबी र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेका जनतालाई लक्षित गरी सो शिविर आयोजना गरिएको भीमदल गणका प्रमुख सेनानी गुप्तबहादुर कुँवर बताए ।

यस्ता शिविर सेनाले विगतमा पनि विभिन्न विकट र विपन्न बस्तीमा लक्षित गरी चलाउँदै आएको जानकारी दिँदै यसलाई निरन्तरता दिने काम गरिएको उनले जानकारी दिए । शिविरमा उपचारका लागि आएका बिरामीलाई निःशुल्क औषधिसमेत उपलब्ध गराइएको थियो ।

यस्तै, शिविरमा फेला परेका जटिल प्रकृतिका रोगीलाई सिफारिस गरी अस्पताल पु¥याउने र त्यहाँ निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको युनिक कलेज अफ मेडिसिन साइन्स एण्ड हस्पिटल प्रालिका प्रमुख जयप्रकाश ठाकुरको भनाई छ । शिविरमा अस्पतालका निर्देशक डा. सञ्जय सिंहको नेतृत्वमा डा. रवीन्द्र चौधरी, डा संजित साह, डा. प्रमोद साह, डा अमरेन्द्र यादव तथा भीमदल गणका १० स्वास्थ्यकर्मीसहित २५ सदस्यीय चिकित्सकको टोलीले शिविरमा जाँच गरेको थियो ।

pict:rss