अलगअलग सडक दुर्घटनामा तीनले ज्यान गुमाए

अलगअलग सडक दुर्घटनामा तीनले ज्यान गुमाए


देशका भिन्नभिन्न ठाउँमा सडक दुर्घटनामा परी तीनजनाले ज्यान गुमाएका छन् ।

शनिबार बाँकेको कोहलपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–११ चौराहास्थित सडकमा भे.८प ९६७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका अर्जुन खत्रीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिए ।

उनका अनुसार मृतक २६ वर्षीय खत्री कोहलपुरका स्थानीय बासिन्दा हुन् । दुर्घटनामा मोटरसाइकलमा सवार कोहलपुर नगरपालिका–११ बस्ने १८ वर्षीय नीराजन खत्री घाइते भएका र उनको शिक्षण अस्पताल कोहलपुरमा उपचार बताइएको छ

यसैगरी भरतपुर महानगरपालिका–२९ दासढुंगामा आइतबार बिहान ट्रककोे ठक्करबाट एकजनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार मुग्लिनबाट हेटौँडातर्फ जान आउँदै गरेको ना.६ख १८९६ नम्बरको ट्रकले ती पुरुषलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ६ः२५ बजे मृत्यु भएको हो । पुरुषलाई ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ । दुर्घटना बिहान ५ः५४ बजे भएको हो ।

उता पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर घर भई हाल शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने ६० वर्षीय सोमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग.१७प १२९८ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते तामाङको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आइतबार बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । तामाङको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो । घाइतेलाई दुलेगौडास्थित तनहुँ सेवा अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि पोखरा पठाइएको थियो ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइसकेको छ ।