मिर्गौला प्रत्यारोपण स्वदेशमै

मिर्गौला प्रत्यारोपण स्वदेशमै


प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण नेपालमै गरिने सम्भावना बढेको छ । गत साता महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रियापश्चात् आराम गरिरहनुभएका प्रधानमन्त्री यसै साताभित्र अस्पताल बसाइबाट मुक्त हुँदै हुनुहुन्छ । स्वास्थ्यस्थितिमा थप कुनै प्रतिकूलता नदेखिएमा केही सातापछि मिर्गौला प्रत्यारोपणका लागि आवश्यक प्रक्रिया शुरु गरिने बुझिएको छ ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण कहाँ गर्ने भन्ने अहिलेसम्म टुङ्गो लागिसकेको छैन । अमेरिकानिकट भनी चिनिएका केही व्यक्तिहरूले ओलीलाई उपचारका निम्ति अमेरिका लैजान दबाब दिँदै आएका छन् । अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की र सल्लाहकार विष्णु रिमाललगायतले ओलीलाई अमेरिका पुऱ्याउन सम्पूर्ण जोडबल लगाएको बुझिन्छ ।

कार्की त अमेरिकाबाट ‘लबिङ’कै लागि नेपाल आएका थिए । अमेरिकानिकटस्थ भनिनेहरूले उपचारका निम्ति ओलीलाई अमेरिका पुऱ्याउन जोड गर्नुलाई जानकारहरूले निकै गम्भीर र अर्थपूर्ण मानेका छन् । उनीहरूले अमेरिका पुऱ्याउन बल गरेकै कारण प्रधानमन्त्री उपचारका निम्ति कतै नजाने, स्वदेशकै अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने निर्णयमा पुग्नुभएको बुझिएको छ ।

शुभचिन्तकहरूले केपीलाई चीन, भारत र सिङ्गापुरबाट विज्ञहरू झिकाएर नेपाली चिकित्सकहरूकै नेतृत्वमा मिर्गौला प्रत्यारोपण कार्य सम्पन्न गर्न दिएको सुझावलाई प्रधानमन्त्री ओलीले सकारात्मक रूपमा लिनुभएको बताइएको छ । कतिपयले भने बेइजिङ गएर उपचार गर्न पनि प्रधानमन्त्रीलाई सुझाइरहेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि ओलीलाई उपचारका लागि बेइजिङ आउन आग्रह गर्नुभएको थियो । ओली बेइजिङ नजानु भए पनि उहाँको उपचारमा चीन र भारतका ख्यातिप्राप्त चिकित्सकहरूको संलग्नता रहने बताइएको छ ।

प्रधानमन्त्री ओलीलाई अमेरिका पुऱ्याउन ‘खटिएका’हरू उहाँ अमेरिका नजाने निश्चित भएपछि निराश बनेका छन् । अर्जुन कार्कीले केपीलाई अमेरिका पुऱ्याएर के गर्न खोजेका थिए प्रश्न पनि अहिले उठ्न थालेको छ ।