सेना र न्यायालयबीच समझदारी बन्न नदिइने !

सेना र न्यायालयबीच समझदारी बन्न नदिइने !


नेकपाका ‘कार्यकारी’ अध्यक्ष प्रचण्ड आफ्नो बाटोमा चुनौती र अवरोध के हो र त्यसलाई पन्छाउन के गर्नुपर्छ भन्नेबारेमा राम्रो हेक्का राख्न सक्ने व्यक्तिमा पर्नुहुन्छ । केपी ओलीलाई मूख्य अवरोध ठान्नुहुने उहाँ यतिबेला ओलीविरुद्ध शक्ति सञ्चय गर्ने कार्यमा केन्द्रित रहनुभएको देखिन्छ ।

कदाचित प्रचण्डले ओलीमाथि विजय प्राप्त गर्नुभएमा त्यसपछि उहाँले नेपाली सेनालाई कमजोर बनाउने र सेनालाई काबुमा लिन सम्पूर्ण प्रयास गर्नेमा शङ्का गर्नुपर्ने देखिँदैन । २०६५ सालमा सेनालाई काबुमा लिन खोज्दा भएको दुर्घटनाका कारण प्रचण्ड अलिक सचेत त हुनुभएको छ, तर सेनालाई कमजोर बनाउने र काबुमा लिने मानसिकताबाट उहाँ मुक्त भइसक्नुभएको छैन ।

सेनालाई नियन्त्रणमा लिइसकेपछि न्यायालयलाई काबुमा राख्न सहज हुने बुझाइ प्रचण्डमा रहेको बुझिन्छ । त्यसैले उहाँको अबको रणनीति सेना र न्यायालयलाई आफ्नो नियन्त्रणमा राख्ने र यी दुई निकायबीच असमझदारी तथा आशङ्का र दरार पैदा गर्ने कार्यमा केन्द्रित हुन सक्ने देखिएको छ ।

सेना र न्यायालयबीच समझदारी कायम भएमा आफूले प्रतिकूल अवस्थाको सामना गर्नुपर्ने ठहर प्रचण्डले गर्नुभएको बताइन्छ । त्यसैले कुनै पनि अवस्थामा सेना र न्यायालयबीच विश्वास र समझदारीको वातावरण बन्न नदिन प्रचण्ड सचेततापूर्वक रणनीतिक चाल चल्ने मानसिकतामा रहनुभएको बुझिएको छ ।