फेरि राष्ट्रिय पोसाककै कुरा-बबिता बस्नेत

फेरि राष्ट्रिय पोसाककै कुरा-बबिता बस्नेत


प्रधानमन्त्री डा. बाबुराम भट्टराई अहिले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्युयोर्कमा हुनुहुन्छ । त्यहाँ उहाँले नेपालको सरकारप्रमुखको रूपमा महासभालाई सर्ट, पाइन्ट, कोट लगाएर सम्बोधन गर्नुहुनेछ । जुन पोसाक युरोपेली र अमेरिकी मुलुकका प्रतिनिधिहरूको शरीरमा पनि हुनेछ । छिमेकी मुलुक भारतका प्रधानमन्त्रीदेखि अन्य विभिन्न मुलुकका सरकारप्रमुखहरूले आफ्नै राष्ट्रिय पोसाक लगाएका हुनेछन् । प्रत्येक वर्ष हुने संयुक्त राष्ट्रसङ्घको महासभा यस्तो थलो हो जहाँ विभिन्न देशका प्रतिनिधि आफ्नो व्यक्तिगत होइन राष्ट्रिय पहिचान झल्काउने पोसाक लगाएर प्रस्तुत हुन्छन् । महासभाका बेला विश्वका थरीथरी राष्ट्रिय पोसाकको प्रदर्शनीस्थलझैं लाग्छ राष्ट्रसङ्घ परिसर । औपचारिक कार्यक्रमका लागि देशको राष्ट्रिय पोसाक लगाउनु गौरवको कुरा हो । तर, हामीकहाँ माओवादी राजनीतिको मूलप्रवाहमा आएपछि यसप्रकारका गौरवलाई मेटाउँदै हरेक कुरालाई ‘राष्ट्रिय’का ठाउँमा ‘जातीय’ बनाउने कोसिस गरियो । राष्ट्रिय पहिचानका ठाउँमा जातीय पहिचानलाई महत्त्व दिँदै गर्दा माओवादी अध्यक्ष प्रचण्ड र नेता बाबुरामहरूको आफ्नै पहिचान भने न हाँसको चाल न बकुल्लाको हुने अवस्थामा पुगेको छ । केही मधेसी समुदायले राष्ट्रिय पोसाक, भाषाजस्ता कुराहरूको पहिलेदेखि नै विरोध गर्दै आएका हुन् । उपराष्ट्रपतिजस्तो पदमा पुग्दासम्म परमानन्द झाले राष्ट्रिय पोसाक लाउँदिनँ, नेपाली भाषा बोल्दिनँ भन्नु नेपालीपनप्रतिको घृणाको चरम रूप थियो । अहिले तिनै समूहका केही मधेसीले राष्ट्रिय पोसाकको बारेमा प्रश्न उठाए भनेर सरकारले सबैका पोसाकलाई ‘राष्ट्रिय’ माँन्ने भनी हास्यास्पद निर्णय गरेको छ । हामीकहाँ जातीय संस्कृति र मूल्य-मान्यता झल्कने पोसाकहरू धेरै छन्, आदिवासी, जनजाति, जनजातिभित्र पनि फरक-फरक जातिका फरक-फरक पोसाकहरू छन् । आफ्नो छुट्टै भाषा र पोसाक नहुने भनेको त क्षेत्री, ब्राह्मण र दलितहरू मात्र हुन् । डा. बाबुराम भट्टराईले लगाउने गर्नुभएको सर्ट, पाइन्ट, कोट जातीय र सांस्कृतिक दुवै हिसाबले बाहुनको पोसाक होइन । उहाँहरूले जातीय पहिचानका आधारमा सबै जातका पोसाकलाई राष्ट्रिय पोसाक भनेर गाईजात्राको झलक दिने घोषणा त गर्नु भो तर त्यसभित्र आफ्नै पहिचान भने कतै पनि नदेखिने निश्चित छ ।
यसबीचमा राष्ट्रिय पोसाकको रूपमा दौरा-सुरुवालको जति चर्चा भयो सारी-चोलोको भएन । दौरा-सुरुवालको त्यति धेरै विरोध गर्ने मधेसी समुदाय सारीको मामिलामा चुप रह्यो, किनभने मधेसका महिला सारी-चोलो संस्कृतिबाट बाहिर आउन् भन्ने कल्पना पनि गरिएको छैन । मधेसका महिलाले सर्ट, पाइन्ट, कोट लगाएको परिकल्पना कुनै नेताले गर्न सक्ने देखिँदैन । माओवादी महिलाले सारी-चोलोलाई राष्ट्रिय पोसाक मान्दैनौँ भनेर जुन रूपमा सर्ट-पाइन्टलाई अपनाए मधेसी महिलाको सवालमा त्यो अवस्था छैन । सभासद् हुन् या मन्त्री या गृहणी सारीभन्दा बाहिर जान मिल्ने नदेखिएपछि सारीले दौरा-सुरुवालको जस्तो चर्चा नपाएको हो । छिमेकी मुलुकमा महिलाले सारी नै लगाउने चलनले पनि प्रभाव पारेको हुन सक्छ । यसको अर्को कारण राष्ट्रिय पोसाक भनेको औपचारिक समारोहमा लाउने कुरा हो जुन सार्वजनिक व्यक्तित्वहरूले लगाउने गर्छन् । राष्ट्रिय पहिचान र महिलाबीचको सम्बन्धलाई लिएर त्यत्रो चर्चा गरिराख्न आवश्यक नठानिएको पनि हुन सक्छ ।
हिसिला यमी अहिले यो मुलुककी प्रथम महिला हुनुहुन्छ । आजसम्म उहाँ जे-जे हुनुभो आफ्नै कारणले हुनुभो । इन्जिनियर, माओवादी नेतृ, सभासद्, मन्त्री जे-जे हुनुभो त्यसमा उहाँको मिहिनेत र योगदानको इतिहास जोडिएको छ । तर, हिसिला यमी यो देशको प्रमथ महिला -फस्र्टलेडी) हुनुमा डा. बाबुराम भट्टराईसँग विवाह हुनुबाहेक अर्को संयोग छैन । प्रधानमन्त्रीकी पत्नी भएकै कारण उहाँ ‘प्रथम महिला’ हुनुभएको हो । सारीलाई राष्ट्रिय पोसाक नमानेर कोट-पाइन्टमा आफ्ना प्रधानमन्त्री पतिसँग प्रथम महिलाको हैसियतले अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डलमा समावेश हुने उहाँ नै पहिलो नेपाली महिला पनि हो । यसअघि प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा बाहिर जाँदा उहाँकी पत्नी सीताले सारी नै लगाउनुभएको थियो । मन्त्री हुँदा पनि हिसिला यमीले कहिल्यै राष्ट्रिय पोसाक लगाउनुभएको थिएन । तर, केही समययता भने यदाकदा हाकु पटासी -नेवारी समुदायले लगाउने पोसाक) लगाएको देखिएको छ । जुन पोसाक सारीजस्तै भए पनि आफ्नो जातीय पहिचान झल्काउने खालको भएकाले लगाएको हुनुपर्छ । अप्ठ्यारो कुरा कहाँ छ भने प्रथम महिलाका रूपमा उहाँ श्रीमती बाबुराम भट्टराई हो, भट्टराई भनेको बाहुन हो र हाकु-पटासीले बाहुन समुदायसँग कुनै सरोकार राख्दैन । झिना-मसिनाजस्ता लाग्ने यी यस्ता ‘कम्प्िलकेटेट’ कुरा हुन् जसले सम्बन्धित ठाउँमा ठूलो प्रभाव पारिरहेको हुन्छ । महिलाका सवालमा मात्र होइन पुरुषका सवालमा पनि यो कुरा लागू हुन्छ, यदि यो मुलुकमा भोलि प्रधानमन्त्री या राष्ट्रपति महिला भए तिनका पतिले प्रधानमन्त्रीका श्रीमान्का रूपमा औपचारिक समारोहहरूमा सहभागी हुँदा राष्ट्रिय पोसाक लाउने कि नलाउने – आफू जुन जातको छ त्यही जातको लुगा लगाउने कि – हिजोआज अन्तरजातीय विवाह सामान्य भइसक्यो, यस्तो अवस्थामा श्रीमतीपट्टकिो जातको लगाउने कि आफ्नै लगाउने – यसप्रकारका समस्या भोलि नआउलान् भन्न सकिन्न । कुनै जातजातिसँग सम्बन्धित जातीय सङ्गठनको प्रमुख या पदाधिकारी हुनु र राष्ट्रिय जिम्मेवारी प्राप्त गर्नु फरक-फरक कुरा हुन् । राष्ट्रिय जिम्मेवारी पाएको व्यक्तिले आफ्नो देशको पहिचान झल्किने पोसाक लगाउनुमा गौरव गर्नुपर्छ न कि हीनताबोध । अहिले जसरी सबै जातिका पोसाक राष्ट्रिय भनिएको छ यो दर्ीघकालसम्मका लागि हुने कुरा होइन । यसले मुलुकमा जातीय सद्भावनालाई होइन भावनालाई मात्रै बढाउने कामभन्दा अरू गर्दैन । उदाहरणका लागि सभामुख सुवास नेम्वाङ औपचारिक समारोहहरूमा सधैं राष्ट्रिय पोसाक लगाउनुहुन्छ, सबैलाई आफ्नो जस्तो लाग्छ । अब अहिलेको कुराअनुसार उहाँले सभामुखका रूपमा लिम्बू पोसाक लगाउनुभयो भने उहाँ लिम्बूको मात्रै आफ्नो मान्छे बन्नुहुन्छ अरू जातिको होइन । उहाँ नेपालको सभामुख हो लिम्बूको होइन र उहाँ लिम्बू भएका कारणले सभामुख हुनुभएको पनि होइन । त्यसैले साम्प्रदायिक भावना भड्किनबाट रोक्नका लागि पनि ‘सबै जातिका पोसाक राष्ट्रिय’ भन्ने कुरा फिर्ता लिएर एउटै राष्ट्रिय पोसाक निर्धारण गरिनुपर्छ । मुलुकलाई दर्ीघकालीन प्रभाव पार्ने कुरामा निर्णय गर्दा हचुवाको भरमा गर्न मिल्दैन । ‘सबै जातिका पोसाक’को कुरा गर्दा क्षेत्री, बाहुन र दलितको पोसाक के हो भन्ने विषयमा पनि छलफल र बहस हुनु आवश्यक छ ।