■ केशव प्रसाद भट्टराई
रामशरण विष्णु भक्त थिए । भगवान विष्णु उनका इष्टदेव पनि थिए ।
एक रात रामशरण मस्त निद्रामा भएका बेलामा उनले सपनामा एक दिव्य रथमा एक तेजश्वी पुरुष आफू समीप आएको देखे ।
तेजश्वी पुरूषले आफूलाई भगवान विष्णुका दुत बताएर उनलाई बैकुण्ठ धाम भ्रमण गर्ने इच्छा छ कि भनेर सोधे !
रामशरणले प्रसन्नतापूर्वक आफ्नो अभिरुचि व्यक्त गरे ।
दिव्य रथमा विष्णु भगवानका दुतसहित रामशरण बैकुण्ठ पुगे ।
एउटा विशाल र सुन्दर भवनको भव्य पटाङ्गिनीमा रामशरणलाई लगियो ।
छेउमा एउटा ठूलो हलजस्तै कोठा थियो ।
दर्जनौँ देवदूतहरू बहीखाताको बिटो बोकेर हतार हतार घरी यता घरी उता गरिरहेका थिए ।
जता हेऱ्यो उता कागजपत्रका चाङ थिए ।
कम्प्युटर जस्तै यन्त्रमा अभिलेख अद्यावधिक गर्नेहरू पनि दर्जनौ थिए !
रामशरणको जिज्ञासायुक्त हेराइपछि दूतले भने- यहाँ भगवान विष्णुसमक्ष मानिसले जे जे कुराको चाहना राखेर प्रार्थना गर्दछ, बिन्ती गर्दछ, भाकल गर्दछ ती सबै यो कक्षमा आउँछ !
त्यसपछि उनीहरू अर्को कक्षमा पुगे
त्यहाँ पनि त्यस्तै भीडभाड, दौडादौडयुक्त व्यस्तता थियो ।
कागजपत्र, बहीका त्यस्तै चाङ थिए ।
काम त्यसरी नै भैरहेका थिए ।
रामशरणको प्रश्नपछि दूतले उत्तर दिए-
पल्लो कक्षमा आएका प्रार्थनाहरूको सूची हेरेर कसलाई के के दिने त्यसको निकासा यहाँबाट हुन्छ ।
यहाँबाट गएको चलानीअनुसार पृथ्वीमा मानिसहरूलाई भगवानद्वारा प्राप्त कृपा र बरदान उपलव्ध गराइन्छ ।
यसैगरी अन्त्यमा दुवै जना पटांगिनीको पल्लो छेउको कोठामा पुगे ।
त्यहाँको कक्ष त अगाडिका जस्तै ठूलो र भव्य थियो – तर एक जना मात्र दूत थिए,
उनी काम नभएर त्यसै अल्छी मानेर बसिरहेका थिए,
एक दुईवटा पातला फाइल थिए ।
रामशरण छक्क परे र सोधे- ‘यो कक्ष त सुनसान छ, यत्रो विशाल कक्षमा एक जना, एका दुई कागज .. ?’
देवदूतले पनि दिक्क मानेर भने- ‘मानिसहरूका प्रार्थना अनुसार भगवानले कृपापूर्वक उनीहरूलाई प्रदान गर्नुभएका भएका धन सम्पत्ति, सन्तान, पद, प्रतिष्ठा,आयु, आरोग्य वापत भगवानप्रति आभार ज्ञापन गरिएका पत्रहरू मात्रै यहाँ यो कक्षमा राखिन्छ ।
यस्तै छ मानिसहरू दिनहौँ लाखौँको सङ्ख्यामा भगवानलाई यो देऊ, ऊ देऊ भन्छन् !
भगवान पनि त्यसरी नै दिनुहुन्छ !
अनि आफूले चाहेको कुरा प्राप्त गरेपछि भगवानलाई कत्तिको सम्झिदा रहेछन् र आभार ज्ञापन गर्दा रहेछन् भनेर यो कक्षको व्यवस्था गरेको तर त्यस्तो हुँदो रहेनछ ।
अपवादको रूपमा वर्षौंमा कसैले आक्कलझुक्कल मात्रै भगवानलाई सम्झिन्छ, आभार वा कृतज्ञता ज्ञापन गर्दछ ।
‘भगवानलाई आभारको खाँचो पर्छ र ?’ रामशरणले सोधे
‘भगवानलाई खाँचो पर्ने नपर्ने कुरा अर्को हो तर त्यस्तो आभार ज्ञापन त उसको कर्तव्य हो नि, होइन ?
अर्को कुरो मानिसले त्यस्तो आभार ज्ञापन गर्दा मानिसलाई थप कृपा प्रदान गर्न भगवानलाई शक्ति प्राप्त हुन्छ ।
त्यस्तो आभार भनेको भगवानलाई भक्तको बल प्राप्त हुनु हो ।’
‘त्यस्तो आभार कसरी ज्ञापन गर्ने त ?’
‘केही गर्नु पर्दैन,
भगवानलाई केही दिनु पर्दैन ।
भगवानलाई सम्झिदिए हुन्छ ।
एक दुई शव्द रवाक्यमा प्रार्थना गरिदिए पुग्छ ।’
‘मानिसलाई भगवानको कृपा प्राप्त भएको छ र ऊ भाग्यमानी छ भनेर कसरी बुझ्ने त ?’
१. ‘तपाईंलाई बिहान-बेलुकाको छाक टार्न कुनै समस्या छैन,
ओत लाग्ने ठाउँ छ भने सम्झिनुहोस् यो संसारका ७५ प्रतिशत मानिस भन्दा तपाईं भाग्यमानी हुनुहुन्छ र त्यो भगवानको कृपा हो ।
२. तपाईंको बैंक खातामा धेरथोर रकम छ,
गोजीमा पनि अलिअली छ र घरखर्च चलेकै छ भने तपाईं संसारका १० प्रतिशत धनी मानिसमा गनिनुहुन्छ !
३. हरेक बिहान उठ्दा स्वस्थ्य शरीर र मनले उठ्न सकिरहनुभएको छ भने त्यो दिन मृत्यू हुने र अस्पतालको बेडमा पुग्ने लाखौँ करोडौँ मानिसभन्दा तपाईं भाग्यमानी हुनुहुन्छ ।
४. तपाईंलाई कहीँ कतैबाट कुनै भय, त्रास, पीडा, यातनाको सम्भावना छैन भने तपाइँ यो संसारका झन्डै एक अर्ब मानिस भन्दा बढी भाग्यमानी हुनुहुन्छ ।
५. स्वतन्त्र भएर कुनै दबाब र भयविना आफ्नो धार्मिक र सांस्कृतिक व्यवहार सञ्चालन गर्न पाइरहनुभएको छ भने तपाईं संसारका तीन अर्ब मानिस भन्दा बढी भाग्यमानी हुनुहुन्छ ।
६. तपाईंका बाबुआमा जीवित छन् र तपाईंसँग खुशी छन् अनि तपाईं पनि यसबाट खुशी हुनुहुन्छ भने सम्झिनुहोस् त्यो दुर्लभ शौभाग्य हो !
७. शिर ठाडो गरेर, प्रसन्नतापूर्वक मनमा लागेको लेख्न बोल्न पाउनुभएको छ भने तपाइँ संसारको अति विशिष्ट भाग्यमानी व्यक्तिमा पर्नुहुन्छ ।
८. माथिका सबै कुराका साथै आफूले रोजेको पेशा वा व्यवशायमा हुनुहुन्छ, सन्तुष्ट हुनुहुन्छ भने तपाईंलाई भगवानले दिन बाँकी केही छँदै छैन ।
९. तपाईंलाई माथिका एक, दुई, केही वा सबै प्राप्त छन् र तपाईं भगवानप्रति आभार ज्ञापन गर्न सक्नुहुन्छ भने तपाईं स्वयम् संसारमा भगवानको प्रतिनिधि हो ।
प्रतिक्रिया