सीके राउतलाई राष्ट्रिय सभा !

सीके राउतलाई राष्ट्रिय सभा !


नेपाललाई विखण्डित गर्ने नियतका साथ मैदानमा देखापरेका सीके राउतलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा सदस्य चयन गर्ने सोच बनाएको समाचार घटना र विचारलाई प्राप्त भएको छ । कुल ५९ मध्ये दुईवर्षे कार्यकाल भएका १९ सदस्यको अवधि आगामी फागुन ३ गते पूरा हुँदै छ । रिक्त १९ स्थानका निम्ति आगामी माघमा निर्वाचन गराउने कार्यक्रम निर्वाचन आयोगले तय गरेको छ । १९ मध्ये दुई नम्बर प्रदेशबाट राष्ट्रिय सभामा पु¥याइने चारजनाका लागि नेकपाले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी या राजपासँग गठबन्धन बनाएमा कम्तीमा दुईजना सदस्य नेकपाले तोकेका व्यक्ति हुनेछन् । राजपा र समाजवादीमध्ये कोसँग नेकपाले गठबन्धन गर्ने भन्ने निश्चित भएको छैन ।

राजपा र समाजवादीबीच गठबन्धनको सम्भावना नरहेकोले पनि नेकपाको दुई मधेसकेन्द्रित समूहमध्ये एउटासँग चुनावी तालमेल हुने स्थिति बनेको हो । दुई नम्बर प्रदेशमा नेकपासँग मतको भार ३०१०, राजापासँग २२०० र समाजवादीसँग २४०० रहेको छ । उल्लिखित तीनमध्ये दुई एकतिर हुनेबित्तिकै एकीकृत पक्षले चारमा चारै स्थानमा जित्ने स्थिति छ । दुई–दुई स्थान लिने गरी भागबन्डा भए पनि नेकपाले एक स्थानचाहिँ सीके राउतलाई दिने सङ्केत देखिएको छ ।

पश्चिमी इच्छा र योजनाअनुरूप नेपालमा क्रियाशील सीके राउत र नेकपाबीचको गठबन्धन निकै रहस्यमयी मानिन्छ । देश विभाजनको चर्को नारा लगाएर सतहमा आएका राउत र नेकपाको नेतृत्वबीच गत वर्षदेखि रहस्यमयी किसिमबाट गठजोड कायम भएको छ । विखण्डनकारी मानिएका गैरकम्युनिस्ट सीकेलाई राष्ट्रिय सभामा लैजान कम्युनिस्ट नेतृत्व तयार हुनुले अदृश्य शक्तिको योजनामै राउतलाई राष्ट्रिय सभामा पुऱ्याउने योजना बनेको आशङ्का पैदा गराएको छ ।