शिक्षक

शिक्षक



■ नारायण खनाल

एउटा आदर्श
जसमाथि
पवित्र आशा, अटल भरोसा
र, मनग्गे आधार छ समाजको ।

जो
सुखद स्वभावको
धैर्यवान, सहनशील, लगनशील
अनुशासित, कर्तव्यपरायण
अध्यनशील, चिन्तनशील, सृजनशील
मार्गदर्शक, सहयोगी, परामर्शदाता
परोपकारी र
बालमनोविज्ञानको ज्ञाता हुन्छ ।

जसले
विद्यार्थी चरित्रको आकार दिन्छ
बालकको मनभित्र
रचनात्मकता जगाइदिन्छ
आत्मविश्वास बढाइदिन्छ
जिउने कला सिकाइदिन्छ
बालमनहरूमा भाइचारा
र मानवता रोपिदिन्छ
स्वाभिमान र राष्ट्रप्रेम फुलाइदिन्छ
परिवर्तनका लागि उत्प्रेरणा
र कर्मठता जगाइदिन्छ
समृद्धिको बीउ रोपिदिन्छ ।

जसबाट
एक कलिलो मस्तिष्कमा
जीउनलायक जीवन बनाउने
सुत्र सिकाइन्छ
अनगिन्ती बाल–कल्पनाहरूलाई
प्रज्वलित गर्ने बाटो देखाइन्छ
सृजनात्मक भाव तथा
ज्ञानको आनन्द जगाइन्छ
विकल्पहरूबाट सत्मार्ग पहिलाइन्छ

त्यस्तो आदर्श
जो प्रेरक हो, मनोरञ्जक हो
बुद्धिमान सल्लाहकार हो
असल मित्र हो
इश्वरको भाषामा भाग्य हो
प्रकृति हो र वायु हो
त्यही आदर्श
सभ्य सुसंस्कृत समाज
निर्माणकर्ता हो
नेपाली पहिचानको संरक्षक हो
सामाजिक विभेदको निर्मूलकर्ता हो
सत्कर्मी हो, परोपकारी हो
जीवन संघर्षमा
विजय हुन सिकाउने शुत्र हो
सृजना फुलाउने माटो हो
सच्चाइको मिसाइल हो
आविष्कारको सुत्रधार हो ।

जसबिना
सभ्य सुसंस्कृत समाज
निर्माण सम्भव छैन
प्रगति कल्पना गर्न सकिन्न
समानता प्राप्ति गाह्रो बन्छ
राष्ट्रको सर्वाङ्गीण विकास सम्भव छैन ।

त्यही आदर्श
जो आफै कुनै सत्कर्मबाट
बिचलित हुनु हुँदैन
ढोँगी बन्नु हुँदैन
त्यसैको नाम हो– ‘शिक्षक’ !

शिक्षाको सागर हो शिक्षक
जससँग बिताएको एकदिन
मन लगाएर पढेको
१००० दिन भन्दा
बढी प्रभावकारी हुन्छ
त्यही नाम हो शिक्षक
निर्धन होस या धनवान्
सबैलाई समान ब्यवहार गर्ने
न्यायमूर्ति हो शिक्षक
सबैलाई समान ज्ञान दिने
दानविर हो शिक्षक ।

(शिक्षक– विजय मावि डिभर्ना, अर्घाखाँची)