सांसद अमरेश सिंहको हत्या गर्न खोज्ने व्यक्ति पक्राउ

सांसद अमरेश सिंहको हत्या गर्न खोज्ने व्यक्ति पक्राउ


नेपाली काङ्ग्रेसका युवा नेता एवम् सांसद डा. अमरेशकुमार सिंहको हत्याका लागि खटिएको बताउने एक व्यक्तिलाई स्थानीय बासिन्दाले पक्राउ गरी प्रहरीको जिम्मा लगाइदिएका छन् । पुस ७ गते अपराह्न सर्लाहीको बलरा नगरपालिकाका बासिन्दाले सन्दिग्ध भारतीय नागरिक विकास झालाई जनताले प्रहरीको जिम्मा लगाएका हुन् ।

पेसेवर सुटरका रूपमा चिनिएका सुशील झाको भान्जा नाता पर्ने विकासले बलराको एउटा भट्टीमा मदिरा सेवन गर्दै गएपछि नसामा आफूले गत वर्ष जुगल साह (कलवार) को घाँटी थिचेर हत्या गरेको र सांसद अमरेश सिंहको हत्या गर्न काठमाडौंसम्म पुगेको बताएका थिए । नसामा यसरी बोल्न थालेपछि त्यहाँ उपस्थितहरूले मोबाइलबाट भिडियो रेकर्ड गरेका थिए ।

सन्दिग्ध विकास झाले भनेका छन्, ‘मैले गत वर्ष जुगल साहलाई सुशील मिश्रको निर्देशनमा मारेको हुँ । म गोली हानेर मार्न चाहन्थेँ, तर सुशीलले गोली नहान्नु घाँटी थिच्नु भनेकोले घाँटी थिचेरै मारेको हुँ ।’ स्मरणीय छ, हत्याको आदेश दिने भनिएका सुशील मिश्र बलरा नगरपालिका– २ को वडाध्यक्ष हुन् र उनी भारतमा ‘मोस्ट वान्टेड’ छन् ।

विकास झाले सांसद अमरेशको हत्या गर्न एकपटक बलरामै प्रयास गरेको र अर्कोपटक काठमाडौं गएर केही दिन होटेलमा बसेको, तर हत्याको निम्ति अनुकूल अवस्था नभएकोले त्यत्तिकै फर्किएको पनि बताएका थिए । यसरी भट्टीमा एक भारतीयले मदिरा सेवन गरी बोलेका कुरा तत्काल फैलियो र केही स्थानीय बासिन्दा खोजी गर्न जाँदा निज विकास झा भारतीय सीमापारि पुगिसकेका थिए । केही व्यक्तिहरू सीमापारि गएर निजलाई फकाउँदै नेपाल ल्याएपछि स्थानीयले बलरा प्रहरी चौकीमा बुझाएको र बलरा थानाले जिल्ला प्रहरी परिसरको जिम्मा लगाएको छ ।

बलरा थानाका प्रमुखसमक्ष पनि विकास झाले आफूबाट भएको अपराधबारे स्पष्ट बयान दिएका थिए । अपराध कबुल गरेपछि मात्र बलरा चौकीले निज सन्दिग्ध व्यक्तिलाई जिल्ला प्रहरी परिसर चलान गरेको हो । तर, यस सम्बन्धमा घटना र विचारले पुस ७ गते राति दश बजे सर्लाहीको जिल्ला प्रहरी प्रमुखसँग टेलिफोन सम्पर्क गर्दा हिरासतमा रहेका विकास झा कुनै अपराधी नभई मादक पदार्थ सेवन गरेर जथाभावी बोल्ने व्यक्ति भएको जानकारी दिइयो । प्रहरी प्रमुख (एसपी) ले यो पात्र र विषयलाई गम्भीरतापूर्वक नलिन पनि आग्रह गरेका छन् । तर, स्थानीय बासिन्दा भने विकास झा अपराधी भएको र निजलाई उन्मुक्ति दिने नियोजित प्रयास माथिल्लो तहबाट भइरहेको ठान्दछन् ।