‘यती’प्रति केपी किन नतमस्तक ?

‘यती’प्रति केपी किन नतमस्तक ?


प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘यती अस्त्र’ प्रयोग गरी चौतर्फी हमला हुन थालेपछि ‘यती’ र ‘केपी’बीचको सम्बन्धलाई लिएर जनसाधारणमा समेत थप चासो बढेको पाइएको छ । केका निम्ति केपी ओलीले आङछिरिङ शेर्पाको परिवार र व्यापारिक कम्पनीलाई विशेष सुविधा र संरक्षण दिएका होलान् भन्ने जिज्ञाशा सर्वत्र प्रकट भएको छ ।

केही वर्षअघि आङछिरिङको सिफारिसमा भन्सारका पूर्वसुब्बा कृपाशुर शेर्पालाई केपीले पर्यटनमन्त्री बनाइदिएका थिए । अहिले आङछिरिङको मृत्युपछि निजकी भतिजीलाई स्पेनको राजदूत बनाइएको छ । आङछिरिङको समूहको व्यापारिक कार्यलाई सहयोग पुऱ्याउन केपीले नियम, कानून र प्रचलित व्यवस्थालाई समेत बदल्ने गरेका छन् । आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने सार्वजनिक प्रतिबद्धता जाहेर गर्दै आएका प्रधानमन्त्रीले आङछिरिङसम्बद्ध कम्पनीका निम्ति जे–जसरी काम मिलाइदिएका छन् त्यसलाई भ्रष्टाचार नभन्ने हो भने केलाई चाहिँ भ्रष्टाचार भन्नुपर्ने हो भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

दरबारमार्गस्थित नेपाल ट्रस्टको जमिन र गोकर्णस्थित गल्फकोर्ससहितको रिसोर्टको जमिन भाडामा दिने काम जसरी भयो त्यो भ्रष्टाचारबाहेक केही हो भन्ने ठानिएको छैन, तर केका निम्ति प्रधानमन्त्रीले यसरी आफैँ ‘एक्स्पोज’ हुने गरी व्यापारीलाई सहयोग पुऱ्याउनुपरेको हो भन्ने प्रश्नको ठोस जवाफ कतैबाट पनि मिल्न सकिरहेको छैन ।

आङछिरिङले प्रधानमन्त्रीका सर्वाधिक विश्वासप्राप्त स्वकीय सचिव राजेश शाक्यलाई भक्तपुरको एक कोलोनीमा करिब तीन करोड मूल्य पर्ने आवास उपहारस्वरूप दिएको भन्ने चर्चा गत वर्ष चलेको थियो ।

कतिपयले यती समूहमा केपी ओलीको ठूलो लगानी रहेको भन्ने प्रचार पनि गरेका छन् । कतिले चाहिँ वर्षौंदेखि ‘यती’ र आङछिरिङले लगाउँदै आएको गुनको बदलामा केपीले सहयोग पुऱ्याएको ठानेका छन् । बालुवाटारनिकटको एक सूत्रले जनाएअनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको सिफारिसमा आङछिरिङकी भतिजीलाई स्पेनको राजदूत बनाइएको थियो । तर, प्रदीप ज्ञवालीको इच्छालाई यसरी पूरा गर्नैपर्ने बाध्यतामा प्रधानमन्त्री रहनुभएको विश्वास गरिँदैन । ज्ञवालीले शेर्पाकी भतिजीलाई राजदूत बनाउन सिफारिस गरेको मान्ने हो भने पनि गोकर्णको जमिन भाडामा उपलब्ध गराउने कामचाहिँ बालुवाटारभित्रैबाट प्रधानमन्त्रीकै इच्छाअनुरूप भएको बुझिन्छ ।

गत वर्ष आङछिरिङले प्रधानमन्त्रीका सर्वाधिक विश्वासप्राप्त स्वकीय सचिव राजेश शाक्यलाई भक्तपुरको एक कोलोनीमा करिब तीन करोड मूल्य पर्ने आवास उपहारस्वरूप दिएको भन्ने चर्चा चलेको थियो । प्रधानमन्त्री केपीको जन्मस्थान आठराई (तेह्रथुम) मा उहाँको घरलाई भव्य सङ्ग्रहालय बनाइदिने योजना पनि आङछिरिङले बनाएका थिए र हेलिकोप्टर दुर्घटनामा परेर दिवङ्गत हुनुभन्दा केही क्षणअघि आङछिरिङ ‘मन्त्री रवीन्द्र अधिकारी’सँगै जुन विमानस्थल निर्माणका लागि अवलोकन गर्न गएका थिए, त्यो पनि केपीको जन्मघरलाई सङ्ग्रहालय बनाउने कुरासँगै सम्बन्धित छ । केपीको जन्मघर हेर्न आठराई पुग्ने लाखौँ पर्यटकलाई सुविधा होस् भनेर नै तेह्रथुममा विमानस्थल बनाउने योजना अघि बढेको थियो ।

आङछिरिङ केपीलाई औधी माया गर्दथे । केपीका हरेक सङ्कटमा उनी साथ रहन्थे । उपचारका निम्ति विदेश जाँदा पनि आङछिरिङ केपीलाई मिनेटभर छोड्दैनथे । आर्थिक रूपमा केपीलाई सहयोग गर्न उनी सधैं तत्पर रहन्थे । समग्रमा आङछिरिङ केपी ओलीका सबैभन्दा विश्वासयोग्य साथी थिए, त्यसैले उनको मृत्युपछि पनि केपीले सीमा नाघेर सहयोग पुऱ्याइरहनुभएको छ । तर, ‘यती’कै कारण केपीको बदनाम पनि भइरहेको छ ।