काङ्ग्रेसलाई ‘कोमिन्ताङ’ बनाउँदै छन् शुभेच्छुक सङ्घहरू

काङ्ग्रेसलाई ‘कोमिन्ताङ’ बनाउँदै छन् शुभेच्छुक सङ्घहरू


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शुभेच्छुक पेसागत महासङ्घसँग आबद्धता भएको सङ्घ हो– नेपाल नर्सिङ सङ्घ । सङ्घसंस्था दर्ता ऐनअनुसार दर्ता भएको यो साझा पेसागत सङ्घ हो । नेपाल कम्युनिस्ट पार्टीले सबैतिर अधिनायकवादी चरित्र प्रस्तुत गरेर सङ्घ–संस्थाहरू कब्जा गरेर बसेको छ ।

नेपाली काङ्ग्रेसका नेताहरूले आफ्नो सङ्गठनको विषयमा समयमा ध्यान नदिँदा अहिले सबैतिर वामपन्थीहरूले कब्जा जमाएका छन् । नेपाली काङग्रेसको शुभेच्छुक सङ्घ नेपाल नर्सिङ युनियन गठन गरेर अगाडि बढाएको भए पनि नेताहरूको असहयोगको कारण त्यसले समेत गति लिन सकेको छैन । नेपाली काङ्ग्रेसको अहिले शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काङ्ग्रेसले यस विषयमा समयमा ध्यान दिनुपर्ने ट्रेड युनियनका नेताहरूलाईृ तारेहोटेलको भात–मासु र विदेश भ्रमणबाहेक अरूतिर ध्यान दिन फुर्सद छैन ।

नेपाल स्वास्थ्यकर्मी सङ्घले ध्यान दिनुपर्ने हो कि नेपाल स्वास्थ्यकर्मी सङ्घ पनि महिला स्वास्थ्य स्वयम्सेविकाको नाममा विदेशी डलरको भिक्षा माग्नमा सीमित छ । यसबाहेक स्वास्थ्य मन्त्रालयमा हुने सरुवा–बढुवा, गोष्ठी–सेमिनारमा धार्नी–बिसौलीको भाग लिनमै सङ्घका हर्ताकर्ताहरू व्यस्त छन् ।

अर्को विडम्बना के पनि छ भने ट्रेड युनियनको तर्फबाट विदेशी मिसिनरीहरूले नेपाललाई क्रीडास्थल बनाएका छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जनआन्दोलनपश्चात् आईएलओ १६९ पारित गर्न बाध्य बनायो जसमा आत्मनिर्णयको अधिकारसमेत समेटिएको थियो । जानिफकारहरू यसलाई सीआईएको योजनाअनुसार भएको पनि भन्ने गर्छन् । अहिले महिला स्वास्थ्य स्वयम्सेविकामार्फत पब्लिक सर्भिस इन्टनरनेसनलले नेपालीको घर–घरमा आफ्नो एजेन्डा पु¥याएको अवस्था छ । वि.सं. २०४८ सालमा तत्कालीन मालेको सङ्गठन कर्मचारी संयन्त्रले गिरिजाप्रसाद कोइरालाको सरकारलाई अप्ठ्यारोमा पारेको अवस्था थियो । अहिले पार्टी प्रतिपक्षमा भएको बेला नेपाल निजामती कर्मचारी युनियन सङ्घ सशक्त भएर अगाडि बढ्नुपर्नेमा अहिले कर्मचारी युनियन सङ्घको अस्तित्व पनि देखिएको छैन ।

प्रतिपक्षमा थन्किनुपर्दा पनि नेपाली काङ्ग्रेसका नेताहरूलाई सङ्गठनप्रति माया छैन । अहिले पनि नेताहरूको वरिपरि कि विदेशी डलर ल्याउने एजेन्टहरूले स्थान पाएका छन् कि त ठेकेदार, तस्कर, दलालहरूले प्रश्रय पाएका छन् । नेपाल नर्सिङजस्तै नेपाल स्वास्थ्य प्राविधिक सङ्घमा पनि वामन्थीहरूले कब्जा जमाएका छन् । नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन तत्कालीन स्वास्थ्यमन्त्री अर्जुननरसिंह केसीको पालामा आएको हो । उनले नै नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा नेपाल स्वास्थ्य प्राविधिक सङ्घलाई परिषद्मा पदेन प्रतिनिधित्वको व्यवस्था गरेका हुन् अहिलेसम्म त्यही आधारमा वामपन्थीहरूले मोजमस्ती गरेका छन् ।

जसरी नेपाली काङ्ग्रेसका नेताहरूलाई सङ्गठनको माया छैन त्यसैगरी काङ्ग्रेसका शुभेच्छुक सङ्घहरूलाई सङ्गठन निर्माणमा भन्दा पनि धार्नी–बिसौलीको भागमा रमाउनुबाहेकमा दिलचस्पी रहेको देखिँदैन । यस आधारमा भन्नुपर्दा उनीहरू नेपाली काङ्ग्रेसलाई कोमिन्ताङ पार्टी बनाउँदै त छैनन् भन्ने प्रश्न सहजै उठाउन सकिन्छ ।

– हेमराज अमगाईं, काठमाडौं