-बसन्तराज कुँवर
सुर्खेतमा सेवारत रहँदाको कुरा हो, चोरीको आरोप लागेका एक व्यक्तिलाई भेट्न उनकी श्रीमती र एक छोरी आए । म कार्यालय कोठाबाट तलतिर हेरिरहेको थिएँ । निकैबेर उनीहरू प्रहरी कार्यालय परिसरस्थित रूखमुनि बसे । उनीहरू डराएका देखिन्थे । लगभग पन्ध्र मिनेटसम्म ती आमा-छोरी रूखमुनि नै बसिरहेको देखेपछि मैले आफ्नो गार्डलाई तल गएर उनीहरूको समस्या के रहेछ भनी बुझ्न पठाएँ । उनीहरूसँग कुरा गरी फरि्कएर गार्डले मलाई जानकारी दिए कि उनीहरूले आफ्ना पति र पितालाई भेटिसकेछन्, तर आफ्नो पति या पितालाई थुनेको घर यही हो भन्दै उनीहरू केहीबेर रूखमुनि बसेर उक्त घर नियालिरहेका मात्र रहेछन् । त्यो गार्डको कुराले म निक्कै संवेदनशील भएँ र मैले ती आमा-छोरीलाई अफिसमा बोलाएँ । उनीहरू डराई-डराई मेरो कोठामा आए र नमस्कार गरे । मैले सोफामा बसालेर भने, ‘तपाईंको श्रीमान्लाई राम्रो हुन्छ, पीर नगर्नू ।’ ती दुवैले मेरासामु बरर्र आँसु झारे तर केही बोलेनन् । मैले सोधेँ, ‘तपाईंहरू उहाँलाई भेट्ने हो ?’ दुवैले आँसु झार्दै टाउको हल्लाए । मैले उनका पतिलाई माथि बोलाउन लगाएँ । ती थुनुवा व्यक्ति मेरो कोठामा छिर्दा ती आमा-छोरीले करुणामयी ढङ्गले तिनलाई नियाले । पति आँखा निहुराएर मेराअगाडि उभिए । उनको हातमा हथकडी थियो । मैले तिनलाई ल्याउने गार्डलाई फर्कन भने । ती शङ्कामा ल्याइएका चोर भनिएका व्यक्तिले अझै आफ्नो अपराध स्वीकार गरेका रहेनछन् । थुनामा राखेको झन्डै एघार दिन भइसकेको थियो । मैले ती पतिलाई पनि सोफामा राखेँ र भने, ‘भाइ, जबसम्म हामी खराब काम गर्छौं तबसम्म सङ्कट आइरहन्छ र हाम्रा कारणले भएका खराब कामले परिवार र समाजलाई पनि पिरोलिरहन्छ ।’ उनी निहुरिएर मेरा कुरा सुनी मात्र रहे । मैले केहीबेर आफ्ना कुरा राखेपछि उनले हात जोड्दै भने, ‘हो, हजुर मैले पहिले-पहिले एक-दुई ठाउँमा चोरी गरेको हुँ । त्यसको सजाय पनि पाइसकेँ तर यसपटक भने मैले चोरेको होइन ।’
त्यस व्यक्तिको भनाइमा किन-किन मैले सच्चाइ देखेँ । उसले मेरोसामु झुटो बोलेझैं लागेन मलाई । म त्यति नै बेलामा कुनै निर्णय गर्ने अवस्थामा त थिइनँ तर पनि मेरो अन्तरआत्माले भन्यो- यसमा प्रहरीबाट केही त्रुटि भएको हुनसक्छ ।
म त्यो परिवारसँग कुरो गर्दै गएँ । ती डराइरहने परिवार पनि मसँग केही खुले । ती पक्राउ परेका व्यक्ति पहिला अर्कै जिल्लाका रहेछन् । त्यो जिल्लामा चोरीको आरोप लागेपछि उनी साना-साना बालबच्चा बोकेर बसाइँ सरेर यस ठाउँमा आएका रहेछन् । सुरु-सुरुमा यो नयाँ जिल्लामा पनि पेट पाल्न उनले केही बद्मासी गर्नैपर्ने परिस्थिति आएछ । त्यही रेकर्डको प्रतिफल उनी त्यस दिन पुनः एक चोरीको केसमा शङ्कामा पक्राउ परेका रहेछन् ।
ती चोर भनिएका व्यक्तिमाथिको शङ्काले समग्र निर्दोष परिवारले पटक-पटक यातना, आरोप-प्रत्यारोप खप्नुपर्ने अवस्था आएको रहेछ तर पनि मलाई यस कुराले अचम्मित तुल्यायो कि ती व्यक्तिका श्रीमती र छोरीमा आफ्ना पति तथा पिताप्रति कुनै गुनासो थिएन । उनीहरू कपडामा बेरेको रोटी र तरकारी बोकेर पैदल तीन घन्टा हिँडी आफ्ना थुनिएका पति र पितालाई भेट्न प्रहरी थानामा आउने गर्दथे तर पनि आफ्ना बाबु वा लोग्नेप्रति ती श्रीमती र छोरीलाई कुनै गुनासो थिएन ।
जब हथकडी लगाएको अवस्थामा मेरा कोठामा ल्याइएका बाबुलाई मैले सोफामा बस्नु भने, नजिकै रहेकी छोरीले आफ्ना बाबुको हातमा रहेको हथकडीलाई अलिकति सारी सुमसुम्याउन थालिन् । श्रीमतीले ‘तपार्इंलाई ल्याइदिएको खानेकुरा
खानुभयो -‘ भनेर सोधिन् । उनले मुन्टो हल्लाएर खाएँ भने । म केही नबोली त्यो परिवारलाई हेरी मात्र रहेँ । ती व्यक्तिले श्रीमतीसँग अर्की छोरी र छोराका बारेमा सोधे, श्रीमतीले तिनको बारेमा पीर नगर्नु भनिन् । ‘खानलाई चामल छ कि छैन ?’ ती व्यक्तिले श्रीमतीलाई सोधे । श्रीमतीले उधारोमा ल्याएका छौँ भनिन् । श्रीमान्ले भने, ‘म यहाँ छु अब कमाउने कोही छैन, तिमीहरू कसरी खान्छौ ? म त जेल पर्छु होला ।’ श्रीमती र छोरीले बाबुको कुरा सुनेपछि तर्रर आँसु झारे ।
वास्तवमै त्यो दृश्य हेर्नु मेरा लागि पनि कम कठिन थिएन । त्यसपछि मैले घन्टी बजाई प्रहरी बोलाएर त्यस व्यक्तिलाई लैजान भने । जब प्रहरीले ती व्यक्तिलाई कोठाबाट लिएर जाँदै थियो त्यतिबेला दुवै आमा-छोरीले ती पति या बाबुको दुवै काँधमा आ-आफ्ना हात राखे । आँखाभरि आँसु पारी एकटकले अनुहारमा हेरिरहे । उनलाई कोठाबाहिर देखुन्जेल उनीहरूले चिहाइ-चिहाइ हेरे । जाँदाजाँदै ती व्यक्तिले छोरी र श्रीमतीलाई भने, ‘घर राम्ररी हेर्नु, मलाई भेट्न भने आइरहनु पर्दैन ।’ यति भनी उनले सुँक्क गरेर रोएको मैले सुनेँ ।
गाउँमा चोरी भएको कारण उसको विगतलाई हेरेर यसैले चोरेको हुनुपर्छ भन्दै गाउँलेले नै त्यो व्यक्तिलाई प्रहरीमा बुझाएका रहेछन् । जब उसले मेरो सामुन्ने आएर आँखाभरि आँसु पार्दै श्रीमती र छोरीको अगाडि आफू निर्दोष भएको बतायो त्यसपछि किन-किन मलाई लाग्यो त्यो व्यक्ति निर्दोष पनि हुनसक्छ । त्यसपछि मैले आफैंले त्यो केस हर्ेन थालेँ । जहाँ चोरी भएको भनिएको छ त्यस स्थानमा पनि खास अधिकृतलाई बुझ्न पठाएँ । केही दिनपछि चोरी भएको घरबाट लगिएको भाँडाकुँडा एउटा पसलमा बेच्न ल्याएको अवस्थामा फेलापर्यो । पसलेकहाँ त्यो भाँडा बेच्न आउने व्यक्ति अर्कै थियो । पसलेलाई बोलाई थुनामा रहेको व्यक्तिको सनाखत गराउँदा यो व्यक्ति आफूकहाँ आएको होइन भनी उसले प्रमाणित गरिदियो । केही दिनको प्रयासमा नै सक्कली चोर समातियो ।
सक्कली चोर पत्ता लागेपछि थुनामा भएको व्यक्तिलाई मैले छाडिदिन भने । छोड्नका लागि परिवार बोलाउने व्यवस्था गरियो । उसलाई कसैलाई बुझाउनुपर्ने हुन्थ्यो । हामीले छोड्ने निर्णय गरेको भोलिपल्ट मध्याह्नतिर श्रीमती र उही छोरी प्रहरी कार्यालय आए । उनीहरूले फेरि कपडामा केही खानेकुरा बेरेर ल्याएका थिए । किन प्रहरीले उनीहरूलाई बोलाएको छ – भन्ने कुरा पनि तिनीहरूलाई थाहा थिएन । परिवार आए भनेपछि मैले पक्राउ परेका व्यक्ति र परिवार दुवैलाई कोठामा बोलाएँ । फेरि त्यो परिवार मेरो कोठामा जम्मा भयो । सबै डराइरहेकै थिए । मैले श्रीमतीलाई हेरेर भनं, ‘तपाईंको श्रीमान् निर्दोष हुनुहुन्छ, घर लिएर जानुस् ।’ मेरो यस्तो कुरा सुनेर उनी अक्क न बक्क भइन् । एकछिनसम्म त विश्वास पनि गरिनन् । ती व्यक्तिलाई हथकडीबाट मुक्त गरियो र श्रीमतीलाई बुझाएर घर जान निर्देशन दिइयो । मैले जानुुस् भनेपछि पनि त्यो परिवार निक्कैबेर मेरो कोठामा उभी नै रह्यो । बाबु श्रीमती, छोरी तीनैजना हात जोडेर मलाई हेरी नै रहेका थिए । उनीहरू सबैको आँखा रसाएका देखिन्थे ।
त्यो परिवार प्रहरी थानाबाट बाहिरिँदा मैले निक्कैबेर तिनलाई हेरिरहेँ । त्यो सानो परिवार खुसी थियो । पछि अनुसन्धान गर्दै जाँदा वास्तविक चोरीमा संलग्न व्यक्तिले नै आफूले चोरी गरेर यी व्यक्तिलाई आरोप लगाउने षड्यन्त्र गरेको पनि खुल्न आयो । ती व्यक्ति झन्डै पन्ध्र दिन म नै इन्चार्ज भएको कार्यालयमा निर्दोष हुँदाहुँदै पनि झुटो अपराधमा आरोपित भएर हथकडी लगाउन बाध्य भए तर पनि मलाई यस कुराले सन्तुष्टि दियो कि तिनका परिवारको स्नेह आँसुका कारण मलाई सत्य तथ्य पत्ता लगाउन सजिलो भयो र मैले उनलाई अन्याय हुनबाट बचाएँ ।
अदालतमा होस्, अख्तियारमा होस््, प्रहरीमा होस्, राजस्वमा होस् वा जिल्ला प्रशासन कार्यालयमा यदि यी कार्यालयमा कसैमाथि कारबाही गरिँदै छ भने तिनका परिवार पनि त्यो अड्डामा आउने गर्छन् । अहिलेको समय नेपाल यति धेरै षड्यन्त्र, इर्ष्या, डाहा र प्रतिशोधले भरिएको छ कि आफूलाई मन नपरेको मानिसलाई यी अड्डाहरूमार्फत दुःख दिन पनि कति षड्यन्त्रकारीहरूले झुटा उजुरी हाल्ने र जालझेल बुन्ने काम गर्छन् । जुन घरमा कसैमाथि आरोप लागेको हुन्छ वास्तवमा त्यो घरका सदस्यलाई नै त्यो व्यक्ति कस्तो मान्छे हो भन्ने सबैभन्दा बढी जानकारी हुन्छ । अर्को शब्दमा भन्ने हो भने ती परिवारका सदस्य नै आरोपित व्यक्तिलाई बुझ्ने सबैभन्दा ठूलो साक्षी हुने गर्छन् । जब परिवारलाई लाग्छ यो नगरेको आरोप मेरो घरको सदस्यमाथि लागेको छ, त्यसपछि उनीहरू त्यस कार्यालयका हाकिम वा जिम्मेवार मान्छेलाई भेट्न खोज्छन् र गुनासो सुनाउन चाहन्छन् तर कतिपय अड्डा-अदालतका मानिसहरूले ती दुःखी परिवारको कुरा सुन्न त परै जाओस् उल्टो ती परिवारमाथि रोव जमाउने र वचन लगाउने कामसमेत गर्छन् । वास्तवमा यसो गर्नु पापको भागी हुनु बराबर हो । कुनै पनि परिवारले भनेको कुरोलाई नै सत्य मान्नुपर्छ भन्ने छैन तर थुनामा रहेका, जेल परेका, कारबाहीमा परेका परिवारहरूको सदस्यले आफ्ना परिवारका सदस्य निर्दोष छन् भनेर भने त्यसलाई एकदमै उल्टा ढङ्गले हेरिरहनुपर्छ भन्ने जरुरी पनि छैन बरु यो सूचनाबाट सही अनुसन्धान गर्न मद्दत पनि मिल्न सक्छ । मैले आफैंले पनि देखेँ सूर्यनाथ उपाध्यायजस्ता अनुसन्धानमा आवश्यक ज्ञान नभएका व्यक्ति अख्तियार प्रमुख हुँदा उनले सस्तो लोकप्रियताका लागि धेरै कर्मचारीलाई अन्यायपूर्वक मुद्दा चलाई तिनको जागिर हरण गर्ने काम गरे । मलाई लाग्छ त्यसको पापको हिसाबकिताब उनले यही धर्तीमा तिर्नुपर्छ तर यदि उनले ती कारबाहीमा परेका व्यक्ति र तिनका परिवारको आवाजलाई त्यस समय सकारात्मक ढङ्गले बुझ्न सकेको भए तिनले ती पापको भारी बोक्नुपर्ने थिएन । त्यसैले मलाई लाग्छ अड्डा अदालतमा बसेर जसलाई कसैमाथि कारबाही गर्ने अधिकार छ तिनले बुझ्नुपर्छ कि तपाईंहरूकहाँ आएका व्यक्तिहरू षड्यन्त्रले परेका पनि हुन सक्छन् । जब कुनै परिवारका सदस्यहरू आँखाभरि आँसु राखेर आफ्ना परिवारका सदस्य अन्यायपूर्वक थुनामा परेको गुनासो लिएर तपाईंकहाँ आउँछन् त्यतिबेला उल्टो मात्र सोच्ने नगर्नुहोला । आँसुले सत्य कुरा बोलिरहेको पनि हुनसक्छ । मलाई त्यतिबेला ती आरोपित चोरलाई आरोपमुक्त पार्न उनको आँसुले ठूलो मद्दत गर्यो । नत्र मबाट पनि एउटा पाप हुनेवाला थियो । त्यसैले मलाई लाग्छ कानुन कार्यान्वयन गर्ने इकाइहरूमा काम गर्ने व्यक्तिले आँसु पढ्न पनि जान्नुपर्छ ।
प्रतिक्रिया