पापीको शासन ः अपराधीको बजार -बद्रीनरसिंह केसी

पापीको शासन ः अपराधीको बजार -बद्रीनरसिंह केसी


थाहा हुँदै छ, यो मुलुक अपराधीको चङ्गुलमा परिसकेको रहेछ । राज्यका हर गौँडा र नाकामा अपराधीहरू अड्डा जमाएर बसेका छन् भन्ने तथ्य ‘खाद्य अनुगमन कारबाही’ले देखायो । आकृतिमा मान्छे प्रकृतिमा राक्षसहरू पैसाका लागि कतिसम्म क्रूर अपराध गर्न सक्छन् भन्ने प्रमाण, बजारमा रोग बेचेर पैसा सोहोर्नेहरूका चर्तिकलाले बताइसक्यो । मुलुकको शासन-प्रशासन यस्तै अपराधीसँग साँठगाँठ गरेर चलेको छ भन्ने पनि निर्विवाद भइसक्यो ।
बजारलाई पूरै स्वस्थकर खानेकुरा मात्र बेच्ने बनाउनुपर्छ भन्ने समर्पणभावबाट अहिलेको ‘अनुगमन’ भइरहेको देखिन्न । यो मन्त्रिमण्डल गठन हुँदा वाणिज्यमन्त्रीको नियुक्ति नभएकोले प्रधानमन्त्रीबाट सोझै निर्देशन आउँदा जुन स्तरको अनुगमन हुने गथ्र्यो, तर वाणिज्यमन्त्रीको आगमनसँगै निर्देशन झाराटराइमा र्झन थालेको महसुस उपभोक्ताहरूमा हुन थाल्यो । अनुगमनमा जिल्ला प्रशासन र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधि नलिई हिँड्ने, अनुगमनमा फेलापरेका अपराधीलाई पक्राउ नगर्ने, वाणिज्य विभागलाई नरिझाउने अपराधीकहाँ मात्र छापा मार्ने गरिएकोबाट यस्तो आशङ्का जन्मिएको हो ।
यो अनुगमनको नतिजा कस्तो होला भन्ने लाग्छ – भन्ने सवालमा हालै गरिएको एक मत र्सर्वेक्षणमा ६६ प्रतिशत उत्तरदाताले ‘प्रचारबाजीमा मात्र सीमित रहन्छ’ भनेको पाइयो, १७.६० प्रतिशतले ‘दोषीलाई कारबाही हुन्छ’ भन्ने विश्वास देखाए भने १६.४० प्रतिशतले दोषीलाई कारबाही नहुने ठोकुवा गरे । यसप्रकार करिब ८३ प्रतिशत जनता अपराधीलाई कारबाही हुँदैन भन्नेमा पाइयो । अपराधीहरू नै भन्छन्, ‘त्यो अनुगमन गर्ने भनाउँदो पनि पेट नभएको प्राणी होइन क्यारे ! सबैलाई चिनेको छ, फुटानी गर्नै पर्दैन ।’
विकसित देशहरूमा खाद्यवस्तुमा मिसावट गर्ने वा बासी र सडेगलेको बेच्नेलाई जघन्य अपराधकै स्तरमा कडा कारबाही गरिन्छ । नेपालबाट युरोपमा निर्यात गरिने चियापत्ती, कफी, मह आदि वस्तुमा विषादी परेको छ कि छैन भनी स्पष्ट हुन उतैबाट विशेषज्ञसहिको टोली आएर स्थलगत अनुसन्धान गरेर, प्राविधिक जाँच र स्थानीय मानिसको भनाइ बुझेर मात्र आफ्नो बजारमा छिर्ने अनुमति दिन्छ । अमेरिकाले अन्य सामग्री विदेशबाट झिकाए पनि औषधिहरू आयात गर्दैन, आफ्नै देशको उत्पादन चलाउँछ । दुई वर्ष अगाडि चीनमा बच्चाको दूधमा मेलामाइन भन्ने तत्त्व मिसाउने अपराधीलाई मृत्युदण्ड नै दिइयो ।
कतिपय अपराधले नेपालमा मृत्युदण्डको आवश्यकता खट्काएको छ । नक्कली र मिति सकिएका औषधि, मान्छेले त के पशुलाई पनि खान दिनु नहुने खानेकुरा, विषादीयुक्त तरकारी तथा फलफूल बेच्नेहरू, मस्त न्रि्रामा सुतिरहेका दुइटै नाबालक छोरीलाई मध्यरातमा उठाएर उर्लिएको खोलामा फाल्ने बाबु, वालबालिका अपहरण गरेर फिरौती माग्ने, चेलिबेटी विदेशका वेश्यालयलाई बेच्नेजस्ता अपराधी, राष्ट्रघाती, भ्रष्ट नेता वा कर्मचारी रूपका दानवलाई दिइने अहिलेका सबै सजाय तिनका अपराधको तुलनामा नगन्य हुन्छ ।
के विश्वास डाबर (‘रियल जुस’) ले साँच्चै इमानदार व्यवसाय गर्न थालेको ! भारतको विख्यात बिस्कुट ‘पार्लेजी’ र ‘गुड डे’ का म्याद नाघेका उत्पादनलाई कालिमाटीतिर एक मारवाडीले खोल फेरेर बजार पुर्‍याउने गर्छन् । बहुराष्ट्रिय निगमका नेश्ले चक्लेट, ‘रेडबुल’ भनिने पेय पदार्थ आदि म्याद नाघिसकेका उत्पादन ‘अपडेट’ गरेर बजार पुर्‍याउने अपराध रोकिएकै छैन ।
फरार डनलाई आफ्ना निजी सहयोगीका रूपमा पाल्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री, हत्याको अपराधी प्रमाणित भइसकेकालाई स्वकीय सचिव राख्ने वीरगञ्जतिरका एक माओवादी मन्त्री, अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेका ‘मधेसी नेता’ मन्त्री, एउटा मन्त्रीलाई ‘रअको हवल्दार’ भनी औँल्याउने अर्का बहालवाला मधेसी पनि मन्त्री, मधेसी चिकित्सक सङ्घका एक पदाधिकारीबाट ‘आईएसआईको एजेन्ट’ भनेर आरोप पाएका अर्का महत्त्वपूर्ण मधेसी मन्त्रीलाई जनताले कसरी चिन्ने ! केही वर्षअगाडि दक्षिण भारतको एउटा पत्रिकामा छापिएको कार्टुनलाई लिएर भारतभरि ठूलो हङ्गामा मच्चिएको थियो । कार्टुनिस्टले कुर्ता, धोती लगाएका काँधमा दुपट्टा झुन्डाएका जुम्ल्याहाजस्ता दुईवटा मान्छे बनाएर क्याप्सनमा लेखिदिएछन्- लौ चिन्नुहोस्, यीमध्ये कुन मन्त्री हो र कुन डाँकु हो ! पहिचानको यस्तो सङ्कट भएको मन्त्रिमण्डलबाट के-कति अपेक्षा गर्ने ?
अन्त्यमा, गणतन्त्रको दाजुभाइका रूपमा देखिएका उपरोक्त शासकीय पाप र अमानवीय अपराधहरूबाट आगामी दिनमा हामी सबैलाई मुक्ति मिलोस् र चैनको सास फेर्न पाइयोस्, सबैलाई बडादसैँको हार्दिक शुभकामना ।
[email protected]