नेपाल टेलिकम सुपर क्रिकेट लिग : लुम्बिनी खुकुरी क्लब फाइनलमा

नेपाल टेलिकम सुपर क्रिकेट लिग : लुम्बिनी खुकुरी क्लब फाइनलमा


■ पुनहरि बेल्बासे, भैरहवा

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता–२०७६ अन्तर्गत शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा लुम्बिनी खुकुरी क्लब विजयी भएको छ । शुक्रबारको खेलमा विजयी भएसँगै लुम्बिनी खुकुरी फाइनलमा प्रवेश गरेको छ । यो क्लब गत वर्षको सुपर लिगको पनि विजेता टिम हो । लुम्बिनी खुकुरीले जितगढी क्रिकेट क्लब बेलबासलाई ९ विकेटले पराजित गऱ्यो ।

निर्धारित ५० ओभरको खेलमा टस जितेर व्याटिङ गरेको जितगढीले २९ दशमलव ४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ६२ रनको योगफल बनायो । उसका लागि सन्दिप सुनारले १० र देव खनालले ८ रनको योगदान गरे । बलिङमा लुम्बिनी खुकुरीका अजय लोनियाले ४, लालबहादुर अधिकारीले ३, धिरज शाहीले २ र दुर्गेश गुप्ताले १ विकेट लिए ।

जवाफमा लुम्बिनी खुकुरीले १२ ओभरमा १ विकेट गुमाउँदै ६६ रन बनायो । उसका लागि प्रज्जवल थापाले ३५ (नटआउट) र शंकर रानाले ११ रनको योगदान गरे । बलिङमा जितगढीका रसिद खानले १ विकेट लिए । खेलमा लुम्बिनी खुकुरीका अजय लोनिया म्यान अफ द म्याच घोषित भए ।

शनिबार दोस्रो सेमिफाइनल खेल न्यु होराइजन क्रिकेट क्लब बुटवल तथा बुटवल–११ बीच हुनेछ ।

नेपाल टेलिकमको प्रायोजन, विके ज्वेलर्स भैरहवाको सह–प्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिकाको रुपन्देहीको सहयोगमा सञ्चालित प्रतियोगिता माघ १९ गतेसम्म सञ्चालन हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए । प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार, द्धितीय हुनेलाई ४० हजार, म्यान अफ सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र इमरजिङ प्लेअरलाई ५/५ हजार प्रदान गरिने रुपन्देही क्रिकेट संघले जनाएको छ । त्यस्तै प्रत्येक दिनको खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई १ हजार प्रदान गरिने संघले जनाएको छ । त्यसै गरी मिनर्वा इङलिस बोर्डिङ स्कूलका प्राचार्य राजकुमार गुरुङले म्यान अफ द सिरिज वापतको १५ हजार रुपैंया पुरस्कार सौजन्य गरेका छन् ।