उपाधि दावेदार नेपाल एपिएफ क्लबले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा संघर्षपूर्ण जित निकाल्दा अर्काे उपाधि दावेदार होङग्वान्जी न्यु डायमनड स्पोर्ट्स क्लबले सहज जित निकालेको छ । पारामाउन्ट र बुलबुले रारा भलिबल क्लबले पनि सफलता हात पारेका छन् ।

नयाँ बसपाकस्थित ढोरपाटन क्लबको कोर्टमा भएको खेलमा साविक विजेता समेत रहेको एपिएफले पुलिसमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो । पहिलो सेट २५–२१ ले सहजै आफ्नो पक्षमा पारेको एपिएफले प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २७–२९ ले गुमाएको थियो ।

तेस्रो सेट पनि ९–२५ ले गुमाएको एपिएफले चौथो सेटमा उत्कृष्ट पूनरागमन गर्दै २५–८ को जित निकालेपछि खेल पाँचौ सेटमा धकेलिएको थियो । अन्तिम सेटमा एपिएफ २५–१३ ले विजयी हुन सफल भयो । जितसँगै एपिएफले ३ खेलबाट ८ अंक जोडेको छ । दुई खेल खेलेको पुलिसको ४ अंक छ ।

त्यस्तै अर्काे खेलमा डायमन्डले सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेब) माथि २५–२, २५–६ र २५–१३ को सहज जित निकाल्दै लिगमा अपराजित रहन सफल भयो । डायमन्डले ३ खेलबाट ९ अंक जोडेको छ । सेव बुलेबुलेसँग नै २५–११, २५–१३ र २५–११ ले पराजित भयो । पाँच खेल खेलेको सेवले अंक जोड्न सकेको छैन ।

अपराजित रहेको बुलबुलेको ३ खेलबाट ९ अंक पुगेको छ । अर्काे खेलमा पारामाउन्ट स्कुलले चुली युवा क्लबलाई पराजित गर्दै लिगमा ३ अंक जोड्न सफल भयो । पारामाउन्टले चुलीमाथि २५–२०, २५–२३ र २५–२२ को सहज जित निकाल्यो । पारामाउन्टको ३ खेलबाट ३ अंक छ । पाँच खेल खेलेको चुली पनि अंकविहीन छ ।

लाइट प्रोटेस्टका कारण पारामाउन्ट र आयोजक ढोरपाटनबीचको खेल भने रद्ध भएको छ । ढोरपाटनले खेलमा २–० को अग्रता लिएपनि लाइट प्रोटेस्टका कारण खेल रद्ध हुन पुगेको थियो । उक्त खेल सोमबार हुने आयोजकले जनाएको छ । प्रतियोगितामा आइतबार ५ खेल हुने आयोजकले जनाएको छ ।