अन्तरविद्यालय बास्केटबल र नेटबल भानुभक्तमा

अन्तरविद्यालय बास्केटबल र नेटबल भानुभक्तमा


भानुभक्त मेमोरियल स्कुलको आयोजनामा चौथो भानुभक्त अन्तरविद्यालय बास्केटबल प्रतियोगिता माघ २० गते सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा सिनियर ब्वाइज, सिनियर गर्ल्स र जुनियर ब्वाइजमा प्रतिस्पर्धा हुने भानुभक्तका प्रिन्सिपल बमबहादुर मोक्तानले पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइज र गर्ल्समा समान ११–११ तथा जुनियर ब्वाइजमा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

सिनियर ब्वाइजमा विल्सन एकेडेमी तथा गर्ल्समा स्वप्न वाटिका डिफेन्डिङ च्याम्पियन हुन् । जुनियर ब्वाइज स्पर्धा पहिलो पटक थपिएको हो ।

सोमबारदैखि नै प्रथम अन्तरविद्यालय नेटबल प्रतियोगिता पनि सुरु हुँदैछ । आयोजकसहित ४ टिमको सहभागिता रहने छ । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

दुवै प्रतियोगिता सञ्चालन गर्न करिव ३ लाख रुपैयाँ खर्च हुने आयोजक विद्यालयका संयोजक अनुपबहादुर श्रेष्ठले जनाएका छन् । माघ २६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु पानीपोखरीस्थित आयोजककै कोर्टमा हुने छ ।