साग पदकविजेता प्रहरीका खेलाडी सम्मानित

साग पदकविजेता प्रहरीका खेलाडी सम्मानित


नेपाल प्रहरीले नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडीलाई माघ १९ गते नगदसहित सम्मान गरेको छ ।

सागमा नेपाल प्रहरीमा आबद्ध खेलाडीले १६ स्वर्ण, १४ रजत र २६ कांस्य जितेको राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान समेत रहेका खेलकुद शाखा इन्चार्ज प्रहरी निरीक्षक भरतबहादुर शाहले जनाएका छन् ।

व्यक्तिगत स्पर्धामा स्वर्णलाई १ लाख २५ हजार, रजतलाई ६० हजार र कांस्यलाई ३० हजार नगद प्रदान गरियो । त्यस्तै टिममा स्वर्णलाई ७५ हजार, रजतलाई ४० हजार र कांस्यलाई २५ हजार नगदबाट पुरस्कृत गरियो ।

दोहोरो स्वर्ण जितेका मन्डेकाजी श्रेष्ठले सर्वाधिक २ लाख नगद पाए । उनले करातेको व्यक्तिगत र टिम कातामा स्वर्ण जितेका थिए । महाराजगन्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले खेलाडीलाई पुरस्कृत गरे ।

सोही अवसरमा प्रशिक्षकहरुलाई पनि प्रशंसा पत्र र दोसल्लाबाट सम्मान गरिएको थियो ।