खेलकुद-अधिकारीहरूप्रति सदस्यसचिवको आक्रोश- ‘अख्तियारमा उजुरी हाल्नेहरू यहीँ छन्’

खेलकुद-अधिकारीहरूप्रति सदस्यसचिवको आक्रोश- ‘अख्तियारमा उजुरी हाल्नेहरू यहीँ छन्’


१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का संयोजक र सचिवको गत साता बसेको समीक्षा बैठकमा विगतमा भएका कमी–कमजोरी तथा खेलकुदमा सुधार र विकास कसरी गर्ने भन्नेबारे चर्चा भएन, बरु ‘१३औँ सागमा भ्रष्टाचार भयो’ भन्दै अख्तियारमा कसले उजुरी हाल्यो भन्ने विषयमा ‘चिन्ता’ प्रकट गरिएको बुझिएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालको अध्यक्षतामा बसेको सो बैठकको मूल उद्देश्य हालै सम्पन्न १३औँ साग प्रतियोगिताको समीक्षा गरी कमी–कमजोरी केलाउनु रहेको थियो । तर, सम्बन्धित अधिकारीहरूले त्यसतर्फ ध्यान नदिई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका दर्जनौँ उजुृरी हाल्ने पात्रका बारेमा ब्यापक छलफल गरेका सो बैैठकमा सहभागी एक ब्यक्तिले जानकारी गराएका छन् ।

बैठकमा सदस्यसचिव सिलवालले अख्तियारमा उजुरी हाल्नेको आफूले पहिचान गरिसकेको भन्दै ती व्यक्तिमध्ये दुई जना सोही बैठकमै उपस्थित रहेको खुलासा गरेका थिए । सिलवालले यसरी किटान गरेर अभिव्यक्ति दिँदा बैठकमा उपस्थित संयोजक र सचिवहरू एकअर्काको मुख हेर्दै रातोपिरो भएका बुझिएको छ । सदस्यसचिव सिलवालले आफूले विश्वास गरेर जिम्मेवारी दिएका पात्रहरूले नै आफूविरुद्ध अख्तियारमा उजुरी दिएको दाबी गरेका थिए ।

बैठकमा उपस्थित ती दुई व्यक्ति को थिए त्यसबारे चाहिँ सिलवालले मुख खोलेनन्, यो विश्वासघातको मूल्य ती व्यक्तिहरुले भविष्यमा चुकाउनुपर्ने चेतावनी उनले दिएका स्रोत बताउँछ ।

१३औँ साग सम्पन्न भएको अहिले दुई महिना पुग्दैछ । तर, दुई महिना बितिसक्दा पनि सदस्यसचिव सिलवालले अहिलेसम्म राखेपको बोर्ड बैठक बोलाउन सकेका छैनन् । बोर्ड बैठक नबोलाएपछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) सिलवालप्रति निकै क्रुद्ध बनेका बताइन्छ । यति मात्र नभई सिलवालले आफूलाई अवमूल्यन गरेको गुनासो मन्त्री बिश्वकर्माले आफ्ना विभिन्न भाषणमा गर्दै आएका छन् ।

कुनै पनि कार्यक्रम सम्पन्न भएपछि समीक्षा बैठक गरी क्रार्यक्रमको सफल आयोजन र कमी–कमजोरी बारेमा छलफल गरिन्छ, ताकि भविष्यमा आयोजना गरिने प्रतियोगिताको निम्ति व्यवस्थापनमा सहजता पुगोस् । तर, सदस्यसचिव सिलवालले त्यसको विपरीत कार्य गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको दुई महिना बित्न लागिसक्दा पनि बोर्ड बैठक बोलाउने बारेमा कुनै पहलकदमी गरेका छैनन् । यो सन्दर्भलाई रहश्यपूर्ण मानिएको छ ।
राज्यको ढुकुटीबाट अर्बौं खर्च गरेर आयोजना गरिएको १३औँ सागको बारेमा वृहत ढंगबाट समीक्षा गरी कमी–कमजोरी केलाउनुपर्नेमा उल्टै स्वदेश तथा विदेशभ्रमणमै समय ब्यतीत गरिरहेका छन् ।

०७६ साल असार २२ गते राष्ट्रिय खेलकुद परिषदमा सदस्यसचिव सिलवालको नियुक्ति भएको हिसाबले ८ महिना बितिसकेको छ । तर उनले राखेपको बोर्ड बैठक मात्र राख्न नसकेका नभई खेलकुद विकास ऐन २०४८ बमोजिम जिल्ला, क्षेत्र, गठन गर्ने र परिषदमा रिक्त सदस्य पदमा नयाँ नियुक्ति गर्ने सम्बन्धमा समेत कुनैै सोच बनाएका छैनन् ।

सदस्यसचिवको यस्तो व्यवहारले उनी खेलकुदको सर्वोच्च संस्था चलाइरहेका छन् कि गोल्डनगेट कलेज– छुट्याउन गाह्रो भएको भएको छ । प्राप्त जानकारीअनुसार खेलकुद चलाउन आफुलाई कुनै सहयोगीको आवश्यकता नभएको अर्थात् आफु एक्लै काफी भएको भन्दै अन्य सदस्यहरूको पदावधि सकिए पनि नयाँ सदस्यको नियुक्ति नगर्ने पक्षमा रहेको बुझिएको छ ।