चितवनको दोहोरो जित, एपिएफ शीर्षस्थानमा

चितवनको दोहोरो जित, एपिएफ शीर्षस्थानमा


तीन इरानी खेलाडी समावेश गरेको चितवन टाइगर्सले १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा सोमबार दोहोरो जित हात पारेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा भएको खेलमा चितवनले पहिलो खेलमा सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव)लाई तथा दोस्रो खेलमा पारामाउन्ट स्कुलमाथि सहज जित निकाल्दै दोहोरो जित हात पारेको हो । दोहोरो जितसँगै चितवनले २ खेलबाट ६ अंक जोडेको छ । पहिलो खेलमा चितवनले सेवलाई २५–८, २५–७ र २५–५ को सहज जित निकाल्दा दोस्रो खेलमा पारामाउन्टको चुनौती २५–१३, २५–११ र २५–१२ ले पन्छायो । पारामाउन्टले ६ खेल खेल्दा ३ अंक मात्रै जोड्न सफल भएको छ ।

यस्तै साविक विजेता तथा उपाधि दावेदार विभागीय नेपाल एपिएफ क्लबले बुलबुले रारा भलिबल क्लब (बीआरसी) माथि ३–० को सोझो सेटमा जित हात पार्दै लिगको शीर्षस्थानमा उक्लन सफल भएको छ । अपराजित रहेको एपिएफको ५ खेलबाट १४ अंक पुगेको छ । एकपक्षीय खेलमा एपिएफले बीआरसीमाथि २५–२०, २५–१२ र २५–१० को सहज जित हात पारेको थियो ।

आफ्ना मुख्य स्पाइकर प्रतिभा माली विना लिग खेलिरहेको होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले लिगमा पहिलो हार बेहोर्दा विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा नतिजा सुम्पिएको छ । प्रतिभाविना फितलो देखिएको डायमन्डले आर्मीलाई २५–२०, २५–१५ र २५–१२ ले नतिजा सुम्पियो । यस जितले आर्मीले ४ खेलबाट ९ अंक जोडेको छ । डायमन्डको ५ खेलबाट १२ अंक छ ।

नेपाल पुलिस क्लबले आयोजक ढोरपाटन स्पोर्ट्स क्लबमाथि २५–१६, २५–१० र २५–७ को सहज जित निकाल्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ । पुलिसको ५ खेलबाट १३ अंक पुगेको छ । पुलिससँग पराजित भएको ढोरपाटनले पारामाउन्टमाथि २५–११, २५–१४ र २५–१३ को सहज जित हात पा¥यो । ढोरपाटनको ५ खेलबाटै ९ अंक छ । लिगमा मंगलबार ५ खेल हुने आयोजकले जनाएको छ ।