■ मौन आवाज
अलिकति माटो
र अलिकति आकाश नहुने मान्छे दास हो !
अलिकति चिन्तन
र अलिकति विद्रोह नहुने मान्छे दास हो !
जसको आफ्नो निजी घृणा हुँदैन
जसको आफ्नो निजी प्रेम हुँदैन
– त्यो दास हो !
जो अँध्यारोसँग तर्सन्छ
र उज्यालो मागेर यात्रा गर्छ
– त्यो दास हो !
जो भोकको लागि आफूलाई बेच्छ
– त्यो दास हो !
जसले हाँस्न अनुमति माग्छ
जसले रुन अनुमति माग्छ
– त्यो दास हो !
जो हरदम भइरहन्छ आफ्नै छायासँग भयभीत
– त्यो दास हो !
जसले आफ्नो टाउकोमा बोक्दैन
आफ्नै विचार
र जो आफैँसँग लड्दैन
– त्यो दास हो !
जो इशारामा बाँच्छ
– त्यो दास हो !
जो तयार छैन मान्छे हुन
– त्यो दास हो !
जसले निर्माण गर्दैन प्रतिरोधको हतियार
र गर्दैन आफ्नै कायरतामाथि प्रहार
– त्यो दास हो !
जो मौन छ,
र जसले चुपचाप स्वीकार गर्छ प्रतिबन्धित जीवन
– त्यो दास हो !
जसको स्वतन्त्र पीडा हुँदैन
– त्यो दास हो !
र, दासहरूको कुनै राष्ट्र हुँदैन !

प्रतिक्रिया