पुरुष राष्ट्रिय हक्कीको पहिलो चरणका खेल सम्पन्न

पुरुष राष्ट्रिय हक्कीको पहिलो चरणका खेल सम्पन्न


गिरिजाप्रसाद कोइराला दोस्रो स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत पहिलो चरणका खेल सम्पन्न भएको छ । अंक तालिकाका आधारमा नेपाल आर्मी, गण्डकी, सुदूरपश्चिम र प्रदेश ५ विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा आयोजना गरेको प्रतियोगिताअन्तर्गत पहिलो खेलमा विभागीय टोली नेपाल आर्मीका रोमन रानाको ह्याट्रिक गोल मद्दतले बाग्मती प्रदेशलाई ३–० गोल अन्तरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । रोमनले खेलको १२, ३८ र ५४औं मिनेटमा गरेका थिए भने खेलको म्यान अफ द म्याच रोमन राना भए ।

त्यसैगरी दोस्रो खेलमा गण्डकी प्रदेशले प्रदेश २ लाई ६–० को फराकिलो गोल अन्तरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सुमितकुमार कामीको चार गोल मद्दतले गण्डकी प्रदेशलाई सेमिफाइनलको यात्रा सहज भएको हो । खेलको २९ औं मिनेटमा सागर आचार्यले गोल गरेको थिए भने ३८, ४०, ५० र ५७ औं मिनेटमा सुमितकुमार कामीले गोल गर्दै जितलाई फराकिलो बनाए । खेलको म्यान अफ द म्याच सुमित भए ।

त्यस्तै तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ५–१ गोल अन्तरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । खेलको १० औं मिनेटमा प्रदेश १ का अनिष मगरले गोल गरेका थिए । २८ औं मिनेटमा सुदूरपश्चिमका कान्तुराम पनेरुले गोल गरे । ३६औं मिनेटमा दीपकराज जोशीले गोल गरे भने ४८ औं मिनेटमा केशवराज जोशीले गोल गरे । ४९ र ५५ औं मिनेटमा म्यान अफ द म्याच अमित ओझा गोल गरे ।

प्रतियोगितामा एक विभागीयसहित ६ प्रदेशको सहभागिता रहेको छ । विभागीय टोली नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र प्रदेश २ ले प्रतियोगितामा भाग लिएका छन् ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले नगद २५ हजार रुपैयाँ र तेस्रोले नगद १५ हजार रुपैयाँका साथै ट्रफी जित्ने छन् । त्यस्तै व्यक्तिगत पुरस्कारतर्फ उदयीमान खेलाडी, सर्वा्धिकगोलकर्ता, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडीले जनही नगद ५ हजार पाउने छन् ।

प्रतियोगिताअन्तर्गत बिहीबार हुने सेमिफाइनलको पहिलो खेलमा नेपाल आर्मी र प्रदेश ५ तथा दोस्रो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।