बालकृष्ण समको निवासलाई सङ्ग्रहालय बनाइने

बालकृष्ण समको निवासलाई सङ्ग्रहालय बनाइने


महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीसीथत घर (कविकुञ्ज)लाई सरकारले सङ्ग्रहालय बनाउने प्रक्रिया अगाडि बढाएसँगै मूर्धन्य नाटककार तथा कवि बालकृष्ण समको ज्ञानेश्वरस्थित निवासलाई पनि सङ्ग्रहालय बनाउने चर्चा सुरु भएको छ । समको ११८औँ जन्मजयन्तीको सन्दर्भमा शुक्रबार (२४ माघ) नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्वारा प्रज्ञा भवनमा आयोजित ‘नेपाली काव्यमा बालकृष्ण समको योगदान’ विषयक प्रवचन कार्यक्रममा वक्ताहरूले यस्तो चर्चा गरेका हुन् ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले प्रतिष्ठानले समको काठमाडौंको ज्ञानेश्वरमा रहेको घरलाई सङ्ग्रहालय बनाउन चाहेको बताए । सरकार र परिवारले स्वीकृति तथा अनुमति दिएमा समको घरलाई सङ्ग्रहालय बनाउन प्रतिष्ठान तयार रहेको भन्दै उनले भने– ‘यस विषयमा तत्कालै हामी परिवारसँग छलफल चलाउँछौँ ।’ उनले नेपाली वाङ्मयको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका श्रष्टाहरुको प्रतिष्ठानमा सामूहिक सङ्ग्रहालय बनाउने पक्रिया अघि बढाइएको जानकारी दिए ।

यस्तै, नेपाली शिक्षा परिषद्का सदस्य–सचिव रमा शर्माले समको घरलाई सङ्ग्रहालय बनाउने विषयमा आवश्यक सहयोग गर्न परिषद् तयार रहेको जनाउँदै भनिन्– ‘बहुप्रतिभाले युक्त समको सम्मानका लागि हामी आवश्यक योगदान दिन पछि हट्नुहुँदैन ।’

प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले समले राणा कुलमा जन्मिएर पनि सहित्य सिर्जनामार्फत समानता र न्यायको पक्षमा सशक्त आवाज वुलन्द गरेको बताए । नाटक र छन्द कवितामार्फत नेपाली भाषा तथा वाङ्मयको श्रीवृद्धिमा समले विशिष्ट योगदान पु¥याउनुभएको उनको भनाई थियो ।

प्रतिष्ठानका काव्य विभाग प्रमुख डा. हेमनाथ पौडेलले सम नाट्य र कविता विधामा मात्र नभएर निबन्धमा पनि उत्तिकै अब्बल रहेको उल्लेख गरे । प्राध्यापक डा. देवीप्रसाद सुवेदीले समलाई नाट्य सम्राट भनिएपनि उहाँको मुख्य विधा कविता नै भएको दाबी गरे ।

प्रवचन कार्यक्रमअघि कुलपति, सदस्यसचिव, प्राज्ञ एवम् विशिष्ट स्रष्टा–सर्जकहरूले कमलपोखरी र प्रज्ञा परिसरमा रहेको समको प्रतिमामा माल्यार्पण गरी समप्रति श्रद्धा अर्पण गरेका थिए ।