अचम्मका नजिर !

अचम्मका नजिर !


■ अर्जुनराज पन्त

कानून हो कि नियत उस्तो सकिएन चिन्न
अभियोग र कसुर एउटै सजायचाहिँ भिन्न !

एउटा कृष्ण हावा खाँदै डिल्लीबजार जेलमा
अर्का कृष्ण सुइँकीसके हरिद्वारे रेलमा !

पीडित पनि अचम्मैकी बोल्छिन् नानाथरि
छिनमै भन्छिन् बाउ जस्ता त छिनमै बलात्कारी !

न त जाँच’भो बलात्कृतको न मुचुल्का उठ्यो
पीडितले भन्दा पनि हो यो मुद्दा झुटो !

तिन्लाई मात्र राख्नु किन अब खोरभित्र ?
कानून पनि कोहीलाई शत्रु कोहीलार्इ भने मित्र !

कानून हो कि हतियार हो शत्रु तह लाउनी ?
गुटमा लागे सबै माफी नत्र दण्ड पाउनी !

बच्छन् ठूला आदेश दिने त्यसलाइ सदर गर्ने
कारिन्दा र फायल बोक्ने फन्दाभित्र पर्ने !

एउटै केसमा मुछिए नि मान्छे अनेकथरि
कोहिलाई मात्र लाग्छ मुद्दा मान्छे छनोट गरि !

सबैमाथि लाग्नुपर्ने त्यस्तो अख्तियार
कोहिलाई भने खुस्स भन्छ खा’को फिर्ता गर !

कानून हो कि आदेश हो त्यो उनले आफै जानून्
फिर्ता गरे दण्ड माफि कस्तो खालको कानून ?

उन्मुक्तिका अनेक काइदा आफ्ना मान्छे पर्दा
कानूनी राज बच्ला’र खै यस्ता कृत्य गर्दा ?

एउटै केसका अभियुक्त किन काखापाखा
बाँकीलाई नि देउ भो बरु फिर्ता गर्ने भाखा

अख्तियारको कदमले कस्तो नजिर आयो
पक्रिएमा फिर्ता गऱ्यो उसले माफि पायो !

(कवि पन्त ब्यङ्ग्य काब्य कोइलीका सर्जक हुन् ।)