जङ्गबहादुरबाट सिक बाबुराम-देवप्रकाश त्रिपाठी

जङ्गबहादुरबाट सिक बाबुराम-देवप्रकाश त्रिपाठी


नेपालमा दरबारभित्रै भए पनि विद्यालय सञ्चालन गरेर व्यवस्थित रूपमा शिक्षा दिने कार्यारम्भ कसले गरे ? कानुनी राजको प्रत्याभूति दिलाउन नेपालमा पहिलोपटक मुलुकी ऐन कसले जारी गरे ? नेपाली सेनाको आधुनिकीकरण कसले गरे ? युरोपियन शैलीका भव्य र कलात्मक आधुनिक भवनहरूको निर्माण प्रविधि कसले भित्र्याए ? गुमिसकेको नेपाली भूभाग -हालको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) बिनायुद्ध कसले फिर्ता गराए ? विश्वमञ्चमा नेपालको अस्तित्वलाई कसले स्थापित गरायो ? नेपालमा जनगणनाको थालनी -वि.सं. १९१७, जनसंख्या ५२ लाख) कसले गराए ? नेपालीको जन्म र मृत्युको रेकर्ड राख्ने कार्य कसले सुरु गरे ? भारतसँगको सीमा व्यवस्थित गरी स्तम्भ राख्ने कार्य कसले गरे ? नेपालमा भूमिका मापन गर्ने व्यवस्था कसले मिलाए ? यी र यस्ता अनेक प्रश्नको जवाफका रूपमा प्राप्त हुने जम्मा एउटै नाम हो- जंगबहादुर राणा । तर नेपालमा सर्वाधिक आलोचनाको पात्र बनाइएका व्यक्ति पनि यिनै जंगबहादुर राणा हुन्, जसले जीवनमा एकपटक मात्र युरोपको भ्रमण गरेका थिए । एउटै भ्रमणबाट उनले धेरै कुरा सिके र युरोपियन सभ्यता एवम् भव्यतालाई नेपालमा भित्र्याउने प्रयास गरे, इतिहासले यही भनेको छ । तर, जंगबहादुरलाई हजार गाली गरेर पनि नथाक्ने कथित आधुनिक पुस्ताका नेपाली राजनीतिकर्मीहरू जसले देशमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ती हरेक वर्षजस्तै युरोप-अमेरिकाको भ्रमण गर्ने गर्छन्, दर्ुभाग्यवश उनीहरू त्यहाँबाट केही सिक्दैनन्, सिक्न चाहँदैनन् या उनीहरूमा सिक्ने क्षमता र सामर्थ्य छैन । त्यसैले राणाशासनको पतनपश्चात् यहाँ हेर्न लायक कुनै राम्रो कार्यको अनुशरण गर्न खोजिएको देखिँदैन । उच्चपदस्थ नेता र कर्मचारीको भ्रमणका निम्ति राज्यले प्रतिवर्ष करोडौंको व्ययभार व्यहोर्नुपरेको छ । जीवनमा एकपटक तीस हजार पौण्ड खर्चेर युरोप भ्रमण गर्ने जंगबहादुरको तुलनामा वर्षौपिच्छे करोडौं खर्च गर्ने नेपाली अगुवा नेता तथा कर्मचारीको भ्रमणका उपलब्धि शून्यबराबर रहेको छ ।
माओवाद विध्वंश र विनाशमा विश्वास राख्छ, त्यसैले माओवादमा आस्था राख्नेहरूबाट निर्माण, विकास, सिर्जना र समृद्धिका पक्षमा काम हुन सकेन भने त्यसलाई अस्वाभाविक मानिँदैन । यर्सथमा उनीहरूबाट समृद्धिको आशा नराखिनु स्वाभाविक छ । तर, जो प्रजातन्त्र,
प्रजातान्त्रिक मूल्य-मान्यता एवम् निर्माण र समृद्धिमा विश्वास राख्छ ती पनि युरोप र अमेरिकाको समृद्धि र सभ्यतालाई नेपालीमा अनुवाद गर्न पूर्णतः असफल रहे । देशको समृद्धि खोज्नेभन्दा आफ्नै समृद्धिमा केन्द्रित रहने प्रवृत्ति प्रजातान्त्रिक आन्दोलनका अगुवाहरूमा पनि देखियो । माओवादका र्समर्थक भए पनि नेपालको आधुनिक इतिहासमा डा. बाबुराम भट्टर्राई सर्वाधिक आशा, भरोसा र विश्वास राखिएका व्यक्ति हुन्, जसले नेपाललाई सुनौलो युगमा प्रवेश गराउने विश्वास धेरै नेपालीले गरेका छन् । प्रधानमन्त्री बन्ने क्रममा गरिएको चारबुँदे सम्झौतालाई आमनेपालीले स्वीकार गर्न सकेका छैनन् । बाबुराम भट्टर्राईको लोकप्रियताले मात्र यो अवाञ्छित सम्झौताको ढाकछोप गरेको छ । बाबुरामबाहेक अरू कुनै नेताले त्यसप्रकारको सम्झौता गरेका भए देशमा कसरी आगो बल्थ्यो त्यसको अनुमान मात्र गर्न सकिन्छ । हत्यारा प्रमाणित व्यक्तिलाई मन्त्रिमण्डलमा यथावत् राखी कानुनी कारबाहीको दायराबाहिर राख्न भएको प्रयासलाई बाबुरामको छवि सुहाउँदो मान्न कुनै नेपालीले सकेनन् । सार्वभौमिक अखण्डताका विरुद्ध आपत्तिजनक बयान दिने रक्षामन्त्री भूमिकाको व्यक्तिलाई मन्त्रिमण्डलबाट पन्छाउन हिचकिचाउनुले बाबुरामप्रति प्रश्न उठ्ने स्थिति पैदा गरेको पनि यथार्थ हो । लडाकुलाई भत्ता बढाएको गैरमाओवादी कित्ताले बाध्यतावश स्वीकार गर्नुपरेको छ, यसले बाबुरामको उचाइ बढाएको छैन ।
कुनै मुस्ताङ गाडीको प्रयोगलाई सकारात्मक रूपमा लिइएको छ, लौरो टेकेर प्रधानमन्त्री सपरिवार गाउँ डुल्नुलाई पनि राम्रै मानिएको छ । खाद्यपदार्थको गुणस्तर वृद्धिका लागि अनुगमन बढाइनुलाई झनै राम्रो काम मानिएको छ । शान्ति स्थापना र लोकतान्त्रिक संविधान निर्माणको पक्षमा प्रधानमन्त्रीको तत्परतालाई पनि अपेक्षाकृत इमानदारीपूर्ण ठानिएको छ । सन् २०११ र १२ लाई लगानी वर्षका रूपमा मनाउन प्रधानमन्त्रीद्वारा भइरहेको तयारीलाई पनि सबै स्वागतयोग्य मानेका छन् । तर, बाबुरामप्रतिको अपेक्षा र उहाँको कामको गतिमा असमानताको दूरी तीव्र देखिएको छ । यसअघिका प्रधानमन्त्रीहरूले भन्दा बढी आशा जाग्ने काम प्रधानमन्त्रीका रूपमा बाबुराम भट्टर्राईले गर्नुभएको भए पनि हालसम्मको कामले उहाँको पुरानो छवि कायम राख्ने सङ्केत दर्शाएको छैन । विजय गच्छदारहरूसँगको साझेदारी, प्रचण्डजस्ता साथी र विद्यमान कर्मचारी प्रशासनलाई बाबुरामको यात्राका निम्ति अड्चन ठान्न थालिएको छ । उल्लिखित तीनवटै पक्षसँग सम्बन्धविच्छेद गर्नसक्ने अवस्थामा बाबुराम हुनुहुन्न । त्यसैले उहाँको सफलतामा पनि आशङ्का प्रकट गर्न थालिएको छ । जनस्तरमा त पत्नी हिसिला यमीको भूमिकालाई पनि रुचाइएको देखिएन । धेरैले यमीको भूमिका बाबुरामको छवि प्रतिकूल रहेको टिप्पणी गर्न थालेका छन् । तर, बाबुराम नेल्सन मण्डेला होइनन्, त्यसैले लोकलज्जाबाट बच्नकै लागि भनेर बिन्नीलाई झैं अलग गर्न पनि सक्दैनन् र त्यतिसम्म गरून् भन्नेचाहिँ जनताले चाहेका पनि शायदै छैनन् ।
दिगो शान्ति, बाबुराम भट्टर्राई या कुनै एक-दुई नेताविशेषको वशको कुरा होइन । माओवादी नेताहरूको कार्यक्षमताको दायराभित्र आफैंले सुरु गरेको युद्धको सम्पूर्ण रूपले पटाक्षेप गर्ने अभिभारा मात्र पर्दछ । अरू कसैले अरू नै कुनै माग राखेर फेरि पनि हिंसात्मक युद्धको थालनी गर्न सक्ने सम्भावना इन्कार गर्न सकिँदैन । माओवादी हिंसाले विश्राम लिने क्रमसँगै अन्य मुद्दाहरूलाई कारण बनाएर हिंसात्मक युद्धको थालनी गर्न भूमि उर्वर बनाएको छ । भविष्यमा उत्पन्न हुनसक्ने हिंसा र अराजकताको मुहान थुन्न सक्ने नैतिक सामर्थ्य माओवादी नेतृत्वमा देखिँदैन । आफूले रचेको युद्धका कारण उत्पन्न जटिलताको मात्र सर्वमान्य ढङ्गले व्यवस्थापन गर्न सके भने माओवादी नेतृत्वलाई धन्यवाद दिनुपर्ने हुन्छ । बाबुराम भट्टर्राईबाट पनि यस सन्दर्भमा यति नै अपेक्षा गर्नु उपयुक्त र उचित हुनसक्छ । तर, सुरक्षाका विषयमा भने प्रधानमन्त्रीका हैसियतले अलिक बढी नै केही गर्न आवश्यक छ । हत्यारा प्रमाणित व्यक्तिलाई अरू कसैले दबाब दिनु अगावै मन्त्रिमण्डलबाट हर्टाई कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग पुर्‍याएको भए त्यसले बाबुरामको नैतिक उचाइ वृद्धि गर्ने मात्र थिएन, देशको सुरक्षा-व्यवस्था मजबुत तुल्याउन र कानुनी राजको प्रत्याभूति दिलाउन पनि पर्याप्त योगदान पुग्न सक्दथ्यो । पार्टी र परिवार हर्ेर्नेहरू धेरैजना प्रधानमन्त्री भइसकेका हुन्, बाबुरामचाहिँ पार्टी र परिवारभन्दा माथि उठ्नुहुन्छ भन्ने आशा राख्नेहरूलाई पछिल्ला केही घटनाक्रमले चोट पुर्‍याएको छ ।
शान्ति र संविधान निर्माणको आफ्नै गति र लय छ, त्यसमा बाबुरामको मात्र एकल प्रयास परिमाणमुखी नहुन सक्छ । तर, देशको प्रधानमन्त्रीका रूपमा उहाँले केही अन्य काम जो जनताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित छन्, गरिदिनुभयो भने उहाँ अविष्मरणीय बन्नुहुने विश्वास गर्न सकिन्छ । बाबुरामले सबभन्दा पहिले सिंहदरबारभित्रको भौतिक स्थितिमा परिवर्तन ल्याउन सक्नुपर्छ, मूल ढोकाबाट भित्र प्रवेश गर्नेबित्तिकै सिंहदरबार देशको केन्द्रीय भूमि भएको आभास दिनुपर्छ । केही रोपनीको सिंहदरबार परिसरलाई सफा, स्वस्थ, तन्दुरुस्त र आकर्षक तुल्याउन नसक्नेले करिब डेढ लाख स्क्वायर वर्गकिलोमिटरको नेपाल बनाउँछन् भनेर विश्वास गर्न सकिँदैन र विश्वास गर्नु पनि हुँदैन । सिंहदरबारको मूलद्वार प्रवेश गरिसकेपछि देखिने झाडी र फोहोरले हाम्रा नेता तथा उच्चपदस्थ कर्मचारीको मानसिक स्तर तथा हाम्रो ‘सभ्यता’को उजागर गरेको महसुस जो कसैलाई हुनसक्छ । आँखैअगाडि त त्यसप्रकारको झाडी र फोहोर राखेर बस्न सक्नेहरूले आँखा नपरेको ठाउँको सुधार गर्ने या विकास गर्ने आशा र कल्पना गर्न सकिँदैन । देशभरिका सडक भत्किएका छन्, नयाँ-नयाँ सडकको निर्माणभन्दा भएका सडकको पुनर्निर्माण र सुधार वर्तमानको प्राथमिकता हो भन्ने सन्देश स्वयम् जीर्ण सडकले नै दिइरहेका छन् । ट्राफिक व्यवस्थापन अर्को प्रमुख समस्या बनेको छ । माओवादीले नयाँ पुस्तालाई चेतना दिने नाममा अराजक बनाएको महसुस देशवासीले गरिरहेका छन् । तिनलाई नियम-कानुनको पालना गर्न र सभ्य व्यवहार गर्न सिकाउनु पनि प्रधानमन्त्री बाबुरामको एउटा चुनौती बन्न गएको छ । मुलुकमा केही वर्षयता जनसाधारणको जीउ-धन असुरक्षित हुँदै गएको छ । गुण्डाराजले सहरबजार मात्र होइन गाउँलाई समेत प्रताडित तुल्याएको छ । गुण्डाराजले सङ्गठित अपराधलाई संस्थागत बनाउने खतरा बढेर गएको छ । यसप्रकारका आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई राजनीतिक दलहरूबाट संरक्षण हुनु सर्वथा निन्दनीय छ । प्रधानमन्त्रीका रूपमा बाबुराम भट्टर्राईले तत्काल गर्नुपर्ने काममा गुण्डाराजको अन्त्य पनि पर्न आउँछ । त्यस्तै देशमा औद्योगिक एवम् व्यापारिक क्षेत्रका लगानीकर्ताहरू राज्य र जनस्तरबाट समेत असुरक्षित महसुस गरिरहेको स्थिति छ । लगानीकर्तामा आत्मविश्वास जगाउन प्रधानमन्त्रीले केही नीतिगत व्यवस्था गरी लगानीमैत्री वातावरण बनाउन तथा सुरक्षाको विशेष प्रबन्ध मिलाउन आवश्यक देखिएको छ । प्रधानमन्त्रीले तत्काल गर्नैपर्ने काममा कम्तीमा आठदेखि दशवटा विमानको खरिद गर्नु पनि पर्दछ । कतार, गल्फ र एयर अरेबियाजस्ता विमान कम्पनीले नेपालीलाई मात्र ओसारपसार गरेर पनि वारि्षक करोडौं रुपैयाँ खुद नाफा आर्जन गरिरहेका छन् । तर, ती विमानमा नेपालीप्रति गरिने व्यवहार यति निम्नकोटिको छ कि नेपाल र नेपालीप्रति गौरव महसुस गर्ने हरेकको मन छियाछिया हुन्छ, आँखा रसाउँछ । तिनले विमानभित्र नेपालीलाई यतिसम्म अपमानजनक व्यवहार गर्छन् कि कतिपटक विमानमा शौचालयको ढोका ‘लक’ गरिदिएको पनि हामीले देखेका छौँ । खानेकुरा, सिट र अन्य सेवा-सुविधाको स्तर नेपाली भएकै कारण अरूहरूको भन्दा निम्नकोटिको रहेको बुझन उल्लिखित कुनै पनि विमानमा नेपालदेखि युरोपसम्मको यात्रा गर्नुपर्ने हुन्छ, अत्यन्त अपमानित महसुस हुन्छ आकाशमा । आफ्नै मुलुकको विमानमा यात्रा गर्न पाए सेवा र सुविधा जे-जस्तो भए पनि कम्तीमा अपमानित हुनुपर्ने त थिएन । नयाँ विमान खरिद गर्न नदिन कतार र थाईलगायतका विमान कम्पनीहरूले पर्यटनमन्त्रीदेखि सचिव र वायुसेवा निगमका उच्चपदस्थ कर्मचारीलाई समेत नियमित रूपमा करोडौं रुपैयाँ उपलब्ध गराउने गरेको पनि सम्बन्धित निकाय सम्बद्ध व्यक्तिहरूले जानकारी दिँदै आएका छन् । त्यसैले सरकारले आठ-दशवटा मात्र विमान खरिद गरिदिने हो भने देशलाई धेरै ठूलो गुन लगाएको मान्नुपर्ने अवस्था छ ।
जंगबहादुर राणा पनि बगे्रल्ती समस्या भएका बेला सत्तामा पुगेका हुन् । विरोधी उनका पनि थिए । राष्ट्रिय एकता र देशको अस्तित्व त्यसबेला झनै सङ्कटमा थियो । तथापि उनले नेपाललाई अविष्मरणीय गुन लगाएर गए । एउटा जटिल परिस्थितिमा कसरी आफ्नो कूटनीतिक कौशल प्रयोग गरेर देशको रक्षा गरे जंगबहादुरबाट सिक्न सकिन्छ । समस्याले नै योग्य मानिसलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्दछ । विरोधी, विपक्षी या परिस्थितिलाई देखाएर आफ्नो दायित्वबाट भाग्नु कुनै पनि योग्य राजनीतिकर्मीको विशेषता होइन र हुनु पनि हुँदैन । प्रधानमन्त्री बनिसकेपछि कम्युनिस्ट नेता पुष्पलालको सालिकमा पुष्पगुच्छा चढाएर मात्र पद बहाल हुन जानुलाई डा. बाबुराम भट्टर्राईको ब्रह्मले जायज देखेको भए पनि स्वतन्त्र नागरिकले त्यसलाई उचित मान्न सकेका छैनन् । देशका संस्थापकभन्दा महान् पार्टीका संस्थापक कहिल्यै हुन सक्दैनन् । पुष्पलाल एउटा पार्टीका संस्थापकभन्दा बढी केही हुन् भने कम्तीमा नेपाली जनतालाई त्यसको जानकारी छैन । देशका लागि योगदान पुर्‍याउने पृथ्वीनारायण शाह र जंगबहादुर राणाको सालिकमा माल्यार्पण गर्न मनले नमाने देशको एकमुठ्ठी माटो हातमा लिएर सिंहदरबारभित्रै अर्को कमस खाएका भए त्यसले बाबुरामको निष्पक्षता र देशप्रतिको प्रतिबद्धता जाहेर गर्ने विश्वास गर्न सकिन्थ्यो । जे होस्, केही गम्भीर त्रुटिका बाबजुद बाबुराम भट्टर्राईप्रतिको जनविश्वास र आस्था अझै समाप्त भइसकेको छैन । बाबुरामको नेतृत्वमा पनि मुलुकले त्राण पाउन सकेन भने देशमा अन्त्यहीन निराशा पैदा हुने प्रबल सम्भावना देखिँदै छ । मार्क्सवादबाट दीक्षित हुँदाहुँदै पनि जंगबहादुर राणाबाटसमेत केही सिक्ने हो भने बाबुरामलाई देशका निम्ति केही गरिछाड्ने प्रेरणा प्राप्त हुन सक्दछ, आगे बाबुरामजीकै इच्छा ।