‘अख्तियारले उन्मुक्ति दिएकाहरुलाई उचित समयमा कारवाही गर्नेछौँ’ : प्रकाण्ड

‘अख्तियारले उन्मुक्ति दिएकाहरुलाई उचित समयमा कारवाही गर्नेछौँ’ : प्रकाण्ड


बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मूल दोषीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्न नसकेको आरोप प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले लगाएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै सो काण्डका दोषीलाई अख्तिययारले नसके पनि आफ्नो पार्टीले उचित समयमा कारवाही गर्ने चेतावनी दिएका छन् ।

प्रकाण्डद्वारा जारी विज्ञप्तिअनुसार सरकार र सरकारी पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अघि सारेर मुख्य अभियुक्तहरूलाई जोगाएको छ । आफ्नो पार्टीले सामाजिक दायित्व र जनताको मागबमोजिम ललिता निवासकाण्डका दोषीहरूलाई कारबाही गरेपछि त्यसको बाध्यात्मक उपजका रूपमा केपी ओली सरकार र सरकारी पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अघि सारेका उनको भनाई छ । यसले सरकार, सत्तारूढ पार्टी र भ्रष्ट तथा कमिसनखोरहरूको अनुहार उदाङ्गो पारेको प्रकाण्डले विज्ञप्तिमार्फत् बताएका छन् ।

ज्ञातव्य छ, बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने प्रकरणका योजनाकार मानिएका शोभाकान्त ढकालको निवासस्थानमा केही दिनअघि विप्लब नेतृत्वको नेकपाले बम विष्फोट गराएको थियो ।

अख्तियारले सरकार र सत्तारूढ पार्टीको प्रभाव तथा निर्देशनमा मुख्य अभियुक्तलाई उन्मुक्ति दिने गरी ललिता निवासकाण्डलाई किनारा लगाउन खोजेको भन्दै प्रकाण्डले भनेका छन्, ‘अख्तियारले सरकार, सत्तारूढ पार्टीको दबाब र निर्देशनमा उन्मुक्ति दिएका राजनीतिक, न्यायिक, प्रशासनिक क्षेत्रका ललिता निवासकाण्डका मुख्य अभियुक्तलाई हाम्रो पार्टीले उचित समयमा कारबाही गर्नेछ ।’

सरकार र सरकारी पार्टीको अख्तियार र मुख्य अभियुक्त बचाउने भ्रष्ट र कमिसनखोर चरित्रका विरुद्ध उभिन सम्बन्धित सबै पक्षसँग उनले अनुरोधसमेत गरेका छन् ।