राष्ट्रिय सरोकार मञ्चद्वारा चिनीयाँप्रति सहानुभूति प्रकट

राष्ट्रिय सरोकार मञ्चद्वारा चिनीयाँप्रति सहानुभूति प्रकट


कोरोना भाइरसबाट चीन तथा त्यहाँका नागरिकले ब्यहोर्नुपरेको संकट र पीडाप्रति राष्ट्रिय सरोकार मञ्च नेपालले सहानुभूति प्रकट गरेको छ । मञ्चका केन्द्रिय अध्यक्ष एवं कर्मनिष्ट अभियन्ता सोमविक्रम सिंहले एक विज्ञप्ती जारी गर्नुहुँदै यस्तो सहानुभूति प्रकट गर्नुभएको हो ।

हिन्दू अधिराज्य पुनर्स्थापना गर्न संघर्षरत संस्था राष्ट्रिय सरोकार मञ्च नेपालका अध्यक्ष सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘छिमेकी देश चीनमा व्यापक रूपले फैलिरहेको कोरोना भाइरसले सयौँ चिनियाँ जनताको जीवन हताहत भइसकेको छ भने हजारौँको संख्यामा चिनियाँ जनता उक्त भाइरसबाट प्रभावित भइरहेका छन् । यस दुःखद खबर सुन्दा हामी एकदम मर्माहित भएका छौँ । यस दुःखद घडीमा चिनियाँ जनता र चीनसँग भौतिक रूपमा साथ हुन नसके पनि हामी यस अप्ठेरो समयमा कुनै न कुनै रूपले नजिक छौँ । हामीलाई लाग्छ चिनीयाँ जनतामाथि आइपरेको यस किसिमको बज्रपातसँग लड्न चीन आफै क्षमतावान छ, तर पनि नेपाली जनता हरदम चिनियाँ जनताको अप्ठेरो समयमा साथमा रहनेछ भन्ने विश्वस्त तुल्याउन चाहन्छौँ ।’

कोरोना भाइरससँग लडिरहेका हजारौँ व्यक्तिहरूको तत्काल स्वास्थ्यलाभ हुनेछ भन्नेमा मञ्च आशावादी रहेको भन्दै विज्ञप्तिमा भनिएको छ– ‘छिमेकी देश चीन रोग निर्मूल गर्न आत्मनिर्भर छ भन्नेमा हामी विश्वस्त छौँ । चीनको सहयोग र साथमा विश्व रहनेछ भन्ने अपेक्षा राख्दै चिनियाँ नेता र जनतालाई यस कठिन समयमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस्, चीन–नेपाल मित्रता अमर रहोस् ।’