धन्यवाद क्यान्सर

धन्यवाद क्यान्सर


क्यान्सर तिमी आउनु रहेछ मेरो जीवनमा
अलि ढिला आयौ
जब आयौ मलाई होसपूर्वक बाँच्न सिकायौ
नत्र
अरुकै सेवा र चाकडीमा बित्नै लागेथ्यो जीवन
तिमी आयौ र आफैप्रतिको मोह जगायौ
दुख्न त ठेस लागेर पनि दुख्छ नि जिन्दगी
कहिले शरीरमा चोट लाग्छ
कहिले मनमा चोट लाग्छ
मनमा चोट लाग्दा शरीर रुन्छ
शरीरमा चोट लाग्दा मन रुन्छ
मनले शरीरको हात खोज्छ
शरीरले मनको साथ खोज्छ
तर
तिमी त बिना सुचना यसरी आयौ
मन र शरीर एकैचोटी दुखायौ
यतिबेला
विश्वमै तिम्रो सान र रवाफ छ
डराउनेका लागि तिम्रो नामै काफी छ
जब तिमी मभित्र आयौ
जीवनलाई डरबाट मुक्त गरायौ
आफूले आफूलाई माया गर्न सिकायौ
म शरीर होईन भन्ने बोध गरायौ
सोच्दैछु अहिले-
त्यसै गुजारिएछ २१ हजार १७० दिनहरु
बेहोशीमै बिताइएछ त्यत्ति नै रातहरु
तिमी आयौ र होसपूर्वक बाँच्न सिकायौ
धन्यवाद क्यान्सर !