पूर्वप्रधानमन्त्रीद्वय माधव र बाबुरामलाई कारवाही गर्न पहाडीको आग्रह

पूर्वप्रधानमन्त्रीद्वय माधव र बाबुरामलाई कारवाही गर्न पहाडीको आग्रह


बहुचर्चित बालुवाटार जग्गा अनियमितता प्रकरणमा गहिरो अनुसन्धान तथा अध्ययनले उक्त प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको समेत संलग्नता छर्लङ्ग भएको चर्चित मानवअधिकारकर्मी कृष्ण पहाडीले बताएका छन् ।

पहाडीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनमा माधव नेपालको र गणतन्त्र स्थापनामा डा. भट्टराईको विशेष योगदान रहेको उल्लेख गर्दै तर त्यही योगदानको आधारमा उनीहरुले उन्मुक्ति पाउन नसक्ने जिकिर गरेका छन् । उत्कृष्ट लोकतान्त्रिक पद्धतिमा दण्डहीनता र उन्मुक्तिलाई कुनै स्थान नहुने पहाडीको तर्क छ ।

‘प्रधानमन्त्रीको रुपमा कार्य सम्पादन गर्दा नेपाल र भट्टराईले राष्ट्रलाई नोक्सान हुने गरी पटक पटक मन्त्रीमण्डलबाट निर्णय गराएको सन्दर्भमा अब राज्यले उक्त प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि कारवाई हेतु प्रक्रिया अघि बढाउनुपर्छ र त्यसको न्यायिक निरुपण हुनुपर्छ’, पहाडीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसैगरी, उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री विजय गच्छदारसहित १७५ जनालाई मुद्धा चलाएको सन्दर्भमा न्याय निरुपणको कार्यमा सबैले सहयोग गर्नुपर्ने र ‘स्वतन्त्र न्यायालय’बाट हुने निर्णयलाई सबैले स्विकार गर्नुपर्ने उनले बताएका छन् । कांग्रेसका नेता विजय गच्छदारमाथि मुद्धा चलाएको घटनालाई लिएर नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक एवं विधिको शासनको वकालत गर्ने दलले संसद अवरुद्ध गर्नु, भातृ संगठनहरुलाई सडकमा उतार्नु अशोभनीय एवं दुर्भाग्यपूर्ण भएको पहाडीको तर्क छ । उक्त अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईको प्रत्यक्ष संलग्नता देखिइसकेको उल्लेख गर्दै उनीहरुलाई पनि कारवाहीको दायरामा ल्याउन नेपाली कांग्रेसले शान्तिपूर्ण दबाब दिन खोजेको हो भने त्यसको चाहिँ आफूले स्वागत गर्ने, त्यस्तो अहिंसात्मक एवं रचनात्मक दबाबमा नागरिक समाजले सहकार्य गर्न सक्ने धारणा उनले अघिसारेका छन् ।

पहाडीले आफ्नो विज्ञप्तिमा अगाडि भनेका छन्, ‘हाल नेपाली कांग्रेसका उपसभापति रहेका विजय गच्छदारमाथि मुद्धा चलाइएको घटनालाई नेपाली कांग्रेसमाथिकै आक्रमण भनि एक कोणबाट भएको दुष्प्रचारले म दुखित छु । २०६३ को राजनीतिक परिवर्तनपश्चात नेपाली कांग्रेस परित्याग गरी २०७४ सालसम्मको १२ वर्षको अवधिमा विजय गच्छदारले सार्वजनिक तवरमा नेपाली कांग्रेसप्रति व्यक्त गरेको घृणा र आरोपको सूची लामो छ । साथै नेपाली कांग्रेसका तर्फबाट नभई अर्कै राजनीतिक दलको नेतृत्व गर्दै उपप्रधानमन्त्रीको रुपमा राष्ट्रिय हितविपरीत गच्छदारले गरेको निर्णयका कारण हाल गच्छदारमाथि मुद्धा चलेको ध्रुवसत्यलाई मनन गर्न पनि इमान्दार कांग्रेसजनहरुलाई म सादर आग्रह गर्दछु । जनताको ठूलो त्याग र उत्साहबाट स्थापित लोकतान्त्रिक गणतन्त्रमाथि खतरा छ भने नेताहरुको भ्रष्ट आचरण, उन्मुक्ति र दण्डहीनताका कारणले छ भन्ने मेरो धारणा छ ।’