चिनियाँ रेलको सोच आफ्नै भएको दाबी गर्दै प्रचण्डले भने– ‘तत्काल प्रधानमन्त्री बन्ने सोच छैन’

चिनियाँ रेलको सोच आफ्नै भएको दाबी गर्दै प्रचण्डले भने– ‘तत्काल प्रधानमन्त्री बन्ने सोच छैन’


पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डले रेलमार्ग, हवाइमार्ग वा सडक मार्ग जे बनाए पनि नेपालको आर्थिक ‘कनेक्टिभिटी’का लागि त्रिदेशीय साझेदारीको खाँचो रहेको धारणा प्रकट गरेका छन् । नेपालको विकासका लागि नेपाल, चीन र भारतबीचको त्रिदेशीय साझेदारी–रणनीतिमा जानुपर्ने जिकिर उनको छ ।

नुुवाकोटको विदुर नपा–७ तुप्चेमा सोमबार (२७ माघ) आयोजित पूर्व माओवादी पार्टीका दिवंगत नेता पोष्टबहादुर बोगटीको सालिक अनावरण तथा स्थानीय चण्डेश्वरी माविको ६१औँ अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले चीनबाट नेपालमा रेल ल्याउने शुरुको सोच आफ्नै रहेको दाबी समेत गरे । आफू पहिलोपटक प्रधानमन्त्री हुँदा लुम्बिनी–ल्हासा रेलमार्गको कुरा चीनका तत्कालीन राष्ट्रपति हु जिन्ताओसँग राखेको र त्यहीँबाट विकसित हुँदै आज देशमा रेलको चर्चा व्यापक हुन पुगेको आसय उनले प्रकट गरे । अहिले रेलमार्गको कुरा धेरै अघि बढिसकेको उनको दाबी थियो ।

मन्तव्यको क्रममा रेलसँगै केरुङ–ठोरी राजमार्गका विषयमा कुरा अघि बढिरहेको उल्लेख गर्दै उनले भने– ‘केरुङ नाका यता (नुवाकोट–रसुवा क्षेत्रमा) रहेकाले त्रिदेशीय कनेक्टभिटीबाट नुवाकोटले बढी लाभ लिन सक्छ ।’

सोही अवसरमा प्रचण्डले आफूले तत्काल प्रधानमन्त्री बन्ने लालसा नराखेको अभिव्यक्ति पनि दिए । सभामा मन्तव्य दिने एक वक्ताले भावी प्रधानमन्त्रीको रूपमा प्रचण्डको नाम उच्चारण गरेको जवाफस्वरुप उनले आफूलाई प्रधानमन्त्रीको रेसमा रहेको रुपमा नबुझिदिन पनि आग्रह गरे । त्यसरी प्रष्टिकरण दिइरहँदा प्रफुल्ल मुद्रामा देखिएका प्रचण्डको भाव–भङ्गिमाले चाहिँ भविष्यमा चाँडोभन्दा चाँडो प्रधानमन्त्रीको ओहदा सम्हाल्न इच्छुक रहेको सङ्केत गरिरहेको उपस्थित सचेतजनले महसुस गरेका थिए । तथापि, प्रचण्डले भने– ‘म अहिले प्रधानमन्त्री बनिरहेको छैन, भविष्यको कुरा अर्कै हो ।’