आतिसबाजीमा घाइते बालकको मृत्यु, घटना दबाउन कुलबहादुरको गैरकानुनी कसरत

आतिसबाजीमा घाइते बालकको मृत्यु, घटना दबाउन कुलबहादुरको गैरकानुनी कसरत


■ श्रीविक्रम भण्डारी

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेल जनकपुरमा आयोजना भएको थियो । उक्त खेल आयोजनापूर्व उद्घाटन समारोहमा काठमाडौं र पोखराझैँ जनकपुरमा पनि आतिसबाजी गरिएको थियो । आतिसबाजीपछि सम्बन्धित निकायका व्यक्तिहरूको लापरबाही र गैरजिम्मेवारीले गर्दा ११ वर्षीय अबोध बालक आलोक राउतको पटाका पड्किएर घाइते भई मृत्यु भएको थियो । उक्त दुर्घटना जनकपुर उपमहानगरपालिका– १३ पिडारीमा भएको थियो ।

प्राप्त जानकारीअनुसार पटाका पट्काएको ठाउँलाई सम्बन्धित निकायका जिम्मेवार व्यक्तिले सिल गर्नुपर्नेमा आतिसबाजी गरी त्यसै छोडेर जाँदा यस्तो दुर्घटना भएको स्रोतले दाबी गरेको छ । आतिसबाजी भएको दोस्रो दिन आलोक राउत चउरमा खेल्न गएका थिए । सो अवसरमा राति आतिसबाजी गरिएकामध्ये नपट्किएको एक थान पटाका घरमा ल्याए । पटाकासँग खेल्ने क्रममा आलोकलाई पनि आतिसबाजी गर्ने मन लाग्यो । त्यसपछि उनले उक्त पटाकालाई आगोको भुङ्ग्रामा हाले । एकैछिनपछि उक्त पटाका पड्कियो, पटाका पट्किँदा नजिकै रहेका आलोक गम्भीर घाइते भए । त्यसपछि उनलाई अस्पताल पुऱ्याउँदा पनि बचाउन सकिएन र उनको मृत्यु भयो ।

अहिले यो घटनालाई सामसुम पार्न १३औँ साग समारोह समितिका सचिव तथा प्रशासन विभागका प्रमुख कुलबहादुर थापा ज्यान छोडेर लागेका छन् । उक्त प्रतियोगिताका लागि आतिसबाजी एवम् पटाकाको जिम्मा समारोह समितिका सचिवका रूपमा रहेका थापाको थियो । पछि थापाले त्यसको जिम्मेवारी जनकपुरका लागि पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख चण्डिका बाँस्तोलालाई दिएका थिए । आतिसबाजी सकेर बाँस्तोला विराटनगरतर्फ लागेपछि भोलिपल्ट यस्तो घटना घटेको थियो । सम्बन्धित निकायका व्यक्तिको चरम लापरबाहीका कारण यस्तो दुर्घटना घटेपछि अहिले यो घटनालाई जिल्लामै मिलाउन थापाले धनुषा जिल्ला खेलकुद विकास समितिका प्रमुख विनोद सिंहलाई दबाब दिइरहेको स्रोतको दाबी छ ।

पटाका दुर्घटनामा आलोक राउतको मृत्यु भएपछि त्यसको केही दिनपश्चात् नै उनका बुबा शोभित राउतले राष्ट्रिय खेलकुद परिषद्मा १० लाखको क्षतिपूर्ति र आफूलाई परिषद्मा जागिर दिनुपर्ने मागसहित निवेदन दिएका थिए । तर, लामो समयसम्म पनि उक्त निवेदनमा परिषद्ले कुनै सुनुवाइ नगरेपछि शोभितले जिल्ला प्रहरी कार्यालय धनुषामा थापासहित उक्त घटनामा जिम्मेवार कर्मचारी चण्डिकाविरुद्ध गत साता किटानी जाहेरी दिएका थिए । यसरी आफूसहित अन्य कर्मचारीको विरुद्धमा किटानी जाहेरी परेपछि निकै आत्तिएका थापाले त्यसपछि शोभितलाई काठमाडौं बोलाएका थिए ।

त्यसपछि माघ २६ गते थापाकै कार्यकक्षमा उनीहरूको गोप्य बार्ता भएको थियो । उक्त गोप्य वार्तामा थापाले नौलो नाटकको मञ्चन गर्दै घटनालाई मत्थर पार्न शोभितलाई परिषद्मा जागिर दिने वचन दिएको सुनिनमा आएको छ । स्मरणीय छ, ०५२ सालमा तत्कालीन राखेपका उपाध्यक्ष सोमनाथ प्यासीको स्वकीय सचिवको रूपमा परिषद्मा छिरेका थापाको शुरुको नियुक्तिसमेत नरहेको कसैबाट छिपेको छैन । यस्तो अवस्थामा अहिले विभागीय प्रमुख भए पनि एउटा डनपेन किन्ने हैसियतसमेत नभएका थापाले कर्मचारी नियुक्तिजस्तो अत्यन्त संवेदनशील कार्य गर्ने अधिकार कहाँबाट पाए, त्यसमा राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल गम्भीर हुन आवश्यक देखिएको छ ।

यतिबेला राखेपअन्तर्गत र आफूनिकटका कर्मचारीउपर प्रहरीमा किटानी जाहेर परेपछि त्यसबाट पार पाउन अर्थात् उम्कन नियुक्तिको नाटक मञ्चन गरिएको अहिले परिषद्का आमकर्मचारीबीच चर्चाको विषय बनेको छ । स्मरण रहोस्, कानुनअनुसार पनि फौजदारी मुद्दामा मिलापत्र गर्न मिल्दैन । यो कुराप्रति अनविज्ञ थापाले कानुनको सिद्धान्त र मान्यताविपरीत मृतक आलोकका बुबा शोभितलाई जागिरको प्रलोभन दिँदै किटानी जाहेरी फिर्ता लिन बाध्य बनाउनु भ्रमको खेती मात्रै नभई गैररकानुनी कार्य पनि हो । प्रहरीमा परेको किटानी जाहेरी फिर्ता लिन कानुनसम्मत मिल्दैन भन्ने कानुनविद्हरूको जिकिर रहेको छ । अर्को कुरा, राज्यको जिम्मेवार सुरक्षा निकाय प्रहरी र प्रमुख जिल्ला अधिकारीले प्रचलित कानुनको परिपालना गर्नुपर्ने दायित्ववाट यतिबेला पन्छिन कदापि मिल्दैन ।

पटाका घटनालाई निस्तेज पार्न मृतकका बुबा शोभितलाई थापाले राखेपमा कर्मचारीको रूपमा नियुक्ति दिएको र उक्त नियुक्ति लिएर अहिले शोभित जनकपुर पुगेको खेलकुदमा चर्चा चलेको छ । छोराको ज्यान गएकोमा दुःखी हुनुभन्दा शोभित जागिर पाएर मख्ख पर्ने अवस्थाको सिर्जना कसरी भयो त्यो अहिले रहस्यको विषय बनेको छ । प्राप्त जानकारीअनुसार शोभितले १० लाखको क्षतिपूर्तिको मागसहित राखेपमा निवेदन दर्ता गरे पनि थापाले पाँच लाख अहिले दिने र पाँच लाख पछि दिने सर्तमा शोभितलाई नियुक्ति दिएको सुनिनमा आएको छ । यसबाहेक उनीहरूबीच अन्य कुन–कुन कुरामा सम्झौता भयो त्यो बाहिर आएको छैन । यसबारे सत्यतथ्य बुझ्न शोभितसँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन् । यसरी कर्मचारी नियुक्तिसम्बन्धी कुनै अधिकार नै नभएका विभागीय प्रमुख कुलबहादुर थापाले प्रदान गरेको भन्ने नियुक्तिको वैधानिकतामाथि भोलि प्रश्न उठ्ने कुरामा दुईमत छैन । यदि थापाले नियुक्ति दिएका हुन् भने त्यो गैरजिम्मेवार र गैरकानुनी कार्य हो, यो कुराको सदस्यसचिव सिलवालले जाँच–पड्ताल गर्नु जरुरी भइसकेको छ ।

त्यस्तै, जनकपुरमा आतिसबाजी गर्न ल्याइएको पटाका नेपाली सेनाले उपलब्ध नगराएको स्रोतले दाबी छ । प्रचलित कानुनले विस्फोटक पदार्थ पटाका किनबेच गर्न निषेध गरेको छ । यस्तो अवस्थामा भारतीय व्यापारीसँग अनैतिक साँठगाँठ गरी जनकपुरमा पटाका भित्र्याएर आतिसबाजी गरिएको बुझिनमा आएको छ । आतिसबाजी गरिए पनि त्यसपछि घट्ने सम्भावित घटना र दुर्घटनाप्रति सम्बन्धित निकायका व्यक्तिको लापरबाही र गैरजिम्मेवारीले गर्दा बालक आलोकको मृत्यु भएको छ । यसको लागि किटानीसहितको जाहेरी परिसकेको अवस्थामा अब थापाले चालेको कर्मचारी नियुक्तिको नाटक भविष्यमा उनलाई बचाउन कति सफल होला त्यो हेर्न लायक भएको छ । स्मरणीय छ, यस घटनाबारे अहिलेसम्म राष्ट्रिय खेलकुद परिषद्ले कुनै जानकारी गराएको थिएन । भित्रभित्रै गुपचुप तरिकाले मिलाउन खोज्दा नमिलेपछि पछिल्लो साता मात्रै शोभितले प्रहरीमा जाहेरी दर्ता गरेपछि घटना बाहिर आएको हो । अहिले पनि राखेपले यस घटनाबारे कुनै किसिमको पुष्टि गरेको छैन । सदस्यसचिव सिलवाललाई यो घटनाप्रति जानकारी थियो वा थिएन त्यसबारे पनि अहिलेसम्म जानकारी प्राप्त भएको छैन ।