‘पहिलो मित्रता अनि प्रतिस्पर्धा’ : हिसान खेलकुद सप्ताह शुरु

‘पहिलो मित्रता अनि प्रतिस्पर्धा’ : हिसान खेलकुद सप्ताह शुरु


उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताह शुरु भएको छ ।

बुधबार (२९ माघ) देखि आरम्भ भएको खेलकुद सप्ताहमा विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुने हिसानका अध्यक्ष नरेन्द्रबहादुर अधिकारीले जानकारी गराए । फुटसल, बास्केटबल, भलिबल, टेबलटेनिस र टग अफ वारमा प्रतिस्पर्धा हुने उनको भनाई छ ।

माकलबारीस्थित जया मल्टिपल कलेज र मनकामना फुटसलमा हुने फुटसलको ब्वाइजमा १६ र गल्र्समा १२ टिमको सहभागिता रहने छ । बास्केटबल–भलिबलको ब्वाइजमा समान २०–२० र गर्ल्समा समान १०–१० टिमले भाग लिने छन् । बास्केटबल र भलिबल दुवै वसुन्धरास्थित ऋत एकेडेमीमा खेलाइने छ ।

टेबलटेनिसमा करिव २ सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । नयाँ बानेश्वरस्थित प्रिमियर कलेजमा हुने टेबलटेनिसमा ब्वाइज–गर्ल्सतर्फ सिंगल्स र डबल्स गरी ४ स्पर्धा समावेश छन् । विश्व निकेतनमा हुने टग अफ वारको ब्वाइजमा २४ र गर्ल्समा १६ टिमको सहभागिता पक्का भएको जानकारी गराइयो ।

हिसानका केन्द्रीय अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुद सप्ताह नयाँ प्रतिभावन खेलाडी पहिचान गर्ने राम्रो ‘प्लेटफर्म’ सावित भएको धारणा व्यक्त गरे । प्रतियोगिता सञ्चालन गर्न करिव १० लाख रुपैयाँ खर्च हुने आयोजक हिसानका सहसचिव आनन्दकुमार यादवले जानकारी दिए ।

‘पहिलो मित्रता अनि प्रतिस्पर्धा’ भन्ने नारा दिइएको खेलकुद सप्ताहअन्तर्गत बास्केटबल र भलिबल माघ २९ गते, टेबलटेनिस फागुन १ गते तथा फुटसल र टग अफ वार फागुन २ गतेदेखि सुरु हुने छ ।

उद्घाटन फागुन २९ गते बसुन्धरास्थित ऋत एकेडेमीमा भएको छ । खेलकुद सप्ताहमा खेल बाहेक कविता, वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता पनि हुने आयोजकले जनाएको छ ।