काठमाडौं महानगरपालिकाले रात्रिकालीन सार्वजनिक यातायात पुुनः सञ्चालन गर्ने

काठमाडौं महानगरपालिकाले रात्रिकालीन सार्वजनिक यातायात पुुनः सञ्चालन गर्ने


काठमाडौं महानगरपालिकाले आगामी वैशाखदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । सार्वजनिक यातायातलाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी पाहुना पनि सहयोग होस् भन्दै कामपाले रातको समयमा पनि सार्वजनिक यातायात सञ्चालन गर्न लागेको हो ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अन्य सरोकारवालासँगको बैठकले यस्तो निणय गरेको हो । कामपाका प्रमुख शाक्यले नयाँ वर्षको शुरुआतसँगै पहिलो चरणमा बेलुका ८ बजेदेखि ११ बजेसम्म सेवा शुरु गर्ने गरी कार्यदल नै गठन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ज्ञातव्य छ, विगतमा २०६९ भदौ १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालनमा आए पनि करिव १८ महिनापछि सेवा बन्द भएको थियो ।

उक्त सन्दर्भको स्मरण गर्दै मेयर शाक्यले शुरुमा व्यवस्थापनका लागि पर्ने आवश्यकता पूरा गर्न महानगरपालिका तयार रहेको भन्दै दीर्घकालीन सेवा दिने गरी योजना बनाएर तयार रहन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई आग्रह गरे ।

बैठकमा पहिलो चरणमा रत्नपार्कलाई केन्द्रित गरेर छिमेकी नगरपालिकाहरू तथा ललितपुर र भक्तपुरमा समेत सेवा पु¥याउने गरी १५ वटा रुट बनाएर सेवा दिने निर्णय गरेको छ । शुरुमा कम्तीमा पनि ६० ओटा बस दैनिक सञ्चालन गर्न सकिने जनाइएको छ ।

बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक गोगनप्रसाद हमालले पनि कार्यदल बनाएर विवाद नआउने गरी समाधानको बाटो खोज्न तयार रहेको भन्दै सेवा दीर्घकालीन गर्ने कुराको सुनिश्चित महासङ्घले गर्नुपर्नेमा जोड दिएका थिए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक विमल बस्नेतले नेपाल भ्रमण वर्षलाई केन्द्रित गरेर महानगरभित्रका पर्यटकीय क्षेत्रमा पनि विदेशी पाहुनालाई सहज आगमन र अबेरसम्म हिँडडुलका लागि सेवा प्रभावकारी हुने गरी योजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । राससले जनाएअनुसार कामपाका शहरी सु–व्यवस्था विभागका प्रमुख हरि कुँवरले महानगरमा रात्रीकालीन बस सेवा सञ्चालनका लागि अब कार्यदल नै बनाएर छिट्टै अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।