एनआरएन : अपेक्षा र व्यवहार -बबिता बस्नेत

एनआरएन : अपेक्षा र व्यवहार -बबिता बस्नेत


गत वर्ष अमेरिका जाँदा वासिङ्टन डीसीमा भएका एक नातेदारले कुरैकुराको सिलसिलामा भने, ‘देश त खत्तमै भयो नि !’ कुन क्षेत्रको कुरा गर्नुभएको हो ? कतै बिग्रिएको छ, कतै राम्रो पनि छ,’ मेरो जवाफपछि उनले भने, ‘खै राम्रो भन्ने त केही छ जस्तो लाग्दैन ।’ कामको सिलसिलामा यात्रा गर्दा विभिन्न मुलुकमा भेटिने नेपालीको भनाइ प्रायः उस्तैउस्तै हुन्छ, नेपाल बर्बाद भयो, केही छैन, रित्तिनै सक्यो । नेपालमा बसेर केही गरिरहेकाहरूलाई कतिपयको भनाइ हुन्छ, नेपालमा के छ र ? किन बसिरहेको ? घुमिफिरी उनीहरूको कुरा यहाँको खराब राजनीतिमा गएर टुङ्गिन्छ । हुन पनि हाम्रा राजनीतिकर्मीहरूले त्यस्तै गरिरहेका छन्, होइन राम्रो हुँदै छ भन्ने ठाउँ नै नराखीकन भइरहेको व्यवहारले आफ्नै देशमा केही गर्न सकिन्छ र गर्नुपर्छ भन्नेहरूलाई चुपचाप बस्नुपर्ने परिस्थितिको सिर्जना गरिदिएको छ । अमेरिकाकै कुरा हो, चिनजानका एकजना व्यक्तिको बच्चा जन्मिएर अस्पतालबाट अपार्टमेन्टमा आएपछि ‘नेपालमा भए यस्तो सकुशल बच्चा कहाँ जन्माइन्थ्यो र ?’ भन्ने शैलीको उनीहरूको कुराकानीले म छक्कै परेकी थिएँ । नेपालमा भए के हुन्थ्यो होला… भन्ने शब्द धेरैपल्ट सुनेपछि मैले नेपालमा जन्मिएको भए यो बच्चा अमेरिकी नागरिकबाहेक यस्तै हुने थियो, कुनै खराबी हुने थिएन । निजी अस्पतालमा भए अलिकति खर्च हुन्थ्यो, सरकारीमा भए तपाईंहरूले एक हजार रुपैयाँ पाउनुहुन्थ्यो भनेकी थिएँ । नेटमा बसिरहेका बेला ‘ल अब बत्ती जान लाग्यो, एकछिनपछि म साइन आउट हुन्छु है’ भन्दा कतिपय साथीहरू भन्छन्, त्यस्तो ठाउँमा पनि के बसिरहेको होला… अब त अमेरिकातिरै आए हुन्छ नि, तपाईंहरू जस्ता मानिसको त ग्रिनकार्ड पनि चाँडै भइहाल्छ । एकछिन बत्ती जाँदैमा, धारामा पानी नआउँदैमा मुलुक नै छोड्ने विचार गर्नु र आफ्नी आमाको अवस्था नाजुक भएको बेला उनलाई सघाउनुपर्ला या स्याहार-सुसार गर्नुपर्ला भनेर आ… आमाले खान दिन सक्दिनन् जहाँ गए पनि आफैंले गर्ने त हो नि भनेर उनलाई छोडेर हिँड्नुमा के फरक छ र ? धेरै साथीलाई मैले यस्तै भन्ने गरेकी छु ।
अहिलेको तथ्याङ्कअनुसार, १९ लाख १७ हजार नौ सय तीन नेपाली विदेशमा छन् । यो तथ्याङ्क ‘डकुमेन्टेट’ रूपमा विदेश गएकाको मात्र भएकाले ‘अनडकुमेन्टेट’ रूपमा जानेहरूसमेत जोडेर करिब ४० लाख नेपाली मुलुकबाहिर रहेको अनुमान गरिएको छ । मुलुक छोडेर विदेशिनु हामी नेपालीको बाध्यता पनि हो । महिनाको पाँच हजार मात्रै कमाउने ठाउँ भए म विदेश जाने थिइनँ भन्नेको सङ्ख्या ठूलै छ । मुलुकबाहिर बसेर आफ्नै व्यापार, व्यवसाय गर्नेदेखि लिएर मजदुरी गर्नेसम्मले आफ्नो देशबारे चिन्ता लिनु स्वाभाविकै हो तर त्यसप्रकारको चिन्तामा देशप्रतिको सकारात्मक भावभन्दा पनि बिग्रियो, नासियो, अब केही बाँकी छैन, बर्बाद भयो भन्ने नै बढी पाइन्छ । हो, सकारात्मक-नकारात्मक पक्ष सबैतिर हुन्छन् । एउटै व्यक्तिमा त यी दुवै कुरा रहेका हुन्छन भने मुलुककै सन्दर्भमा नहुने कुरै भएन । हाम्रो राजनीतिक अवस्था अस्थिर भएको हो, वर्षौंदेखि उस्तै यहाँको अस्थिर राजनीतिले मानिसमा निराशा पैदा गरेको छ । तर, यति हुँदाहुँदै पनि नेपालमा अन्त नभएका धेरै कुरा छन् र हुँदै छन् । इन्टरनेटको दु्रतदर सेवा नेपालमा जस्तो कमै मुलुकमा छ । अरू त के कुरा छिमेकी मुलुक भारतमा इन्टरनेटबाट टेलिफोन गर्न पाइँदैन । अमेरिकामा जतिसुकै राम्रो होटलमा बसे पनि घन्टाको हिसाब गरेर इन्टरनेटको पैसा तिर्नुपर्छ, युरोपमा पनि त्यस्तै छ, हामीकहाँ अलि राम्रो रेस्टुरेन्टमा कफी खान गयो भने पनि कम्पाउन्ड छिर्नासाथ प्रयोग गर्न पाइन्छ । कुनै पनि मुलुकबाट रुपैयाँमा अमेरिकामा रहेका आफन्तसँग कुरा गर्न पाइँदैन, हामी कहाँ पाइन्छ ।
स्वास्थ्य सुविधाको कुरा गर्ने हो भने दाँत भर्नेदेखि लिएर अर्को दाँत राख्ने या दाँतसम्बन्धी सबै कामका लागि नेपालमा जस्तो सस्तो र राम्रो सुविधा अन्त कहीँ छैन । सुरक्षित मातृत्वलगायत स्वास्थ्य क्षेत्रमा राम्रो सुधार भइरहेको छ, शिक्षाको गुणस्तरमा पनि विगतको तुलनामा वृद्धि भएको छ । निजी स्कुलहरूले पनि राम्रो शिक्षा उपलब्ध गराइरहेका छन् । खोलानाला, प्रकृतिको त कुरै गर्नुपरेन, राजनीतिक खिचातानी मात्रै नहुने हो भने धेरै कुरामा हामी अगाडि बढिरहेका छौँ र आशा गर्ने ठाउँ प्रसस्त छ । बाहिर बसेर नेपालमा के छ र ? भन्नुभन्दा यदि केही गर्ने नै हो भने नेपालमा गर्न सकिने काम के-के हुन् भनेर त्यसको खाका कोर्ने बेला आएको छ । कतिपय एनआरएनले आफू बाहिर बसेर नेपालबाट केमा लगानी गरे फाइदा उठाउन सकिन्छ ? कसरी र कहाँबाट पैसा आउँछ ? भनेर त्यतातिर मात्र ध्यान दिएको पाइन्छ । लगानीअनुरूपको फाइदा खोज्नु स्वाभाविक हो तर के गर्दा मुलुक र आफू दुवैलाई फाइदा हुन्छ भन्नेतर्फध्यान दिनु आवश्यक छ न कि आफ्नै कमाइधमाइ मात्रै ।
प्रत्येक दुई वर्षमा हुने एनआरएनको सम्मेलन नेपालमा बडो धमाका साथ सुरु भए पनि यसको उपलब्धि भने खासै हुने गरेको छैन । एनआरएन सम्मेलन कसले कसलाई जिताउने कसलाई हराउने खेल र नेपालमा रहेका आफन्तलाई भेट्ने अवसर वा बाहना मात्र नबनाउनका लागि यसको नेतृत्वमा रहेकाहरूले फरक धारबाट सोच्नु आवश्यक छ । सरु जोशीको शब्दमा भन्ने हो भने वृद्ध बाबुआमालाई छोडेर परदेसिएकाहरूले बाबुआमाको सास नभेटेपछि त्यसबाट उत्पन्न ग्लानि मेटाउन वृद्धाश्रममा कम्मल बाँड्नु मात्र एनआरएनको दायित्व होइन । दसैँ मानिहालौँ, मिलेसम्म तिहारको रमझम पनि यतै गरौँ, छोराछोरीको पास्नी, छेवर, ब्रतबन्ध जे-जे छ यही समयमा भ्याइहालौँ भन्ने सोचले गैरआवासीय नेपालीले राष्ट्रका लागि गर्न सक्ने योगदान पूरा हुँदैन । यसका लागि त स्पष्ट खाका पहिला नै तय हुनुपर्छ जसलाई थप परिमार्जन गर्नका लागि सम्मेलनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । नेपालमा बस्नेहरूलाई जे-जे भने पनि विदेशमा बस्नेहरूमध्ये धेरैको ‘एटिच्युड’ पनि उनीहरूसँगै हवाईजहाज चढेर विदेश पुग्ने गरेको छ । यस कुराको जल्दोबल्दो उदाहरण त यसपटकको एनआरएन चुनाव नै बन्यो, उम्मेदवारले एक-अर्कालाई जे-जस्तो आरोप लगाए त्यसबाट नेपालका राजनीतिकर्मीभन्दा उनीहरूलाई फरक मान्न मिल्दैन । काङ्ग्रेस, एमाले, माओवादी या यस्तै कुनै दलका कार्यकर्ता मात्र नभएर तीमध्ये पनि गुट-उपगुटमा गैरआवासीय नेपाली विभाजित छन् । पार्टीगत गुट-उपगुटको विभाजनले नेपालको कुनै एउटा दुर्गम जिल्लामा बस्ने नेपालीलाई जसरी प्रभाव पारेको छ, ठीक त्यसैगरी युरोप, अमेरिका या अन्य मुलुकमा बस्ने नेपाली प्रभावित भएका छन् । यस अर्थमा नेपाल खत्तम हामीचाहिँ ठीक भन्ने ठाउँ रहेको पनि देखिँदैन । जे होस्, प्रवृत्तिगत विशेषता जे-जे भए पनि, जो, जहाँ र जसरी रहे पनि आखिर हामी सबै नेपाली हौँ, आफ्नो देशको लागि सकेको गर्नु हामी सबैको दायित्व र कर्तव्य दुवै हो । साथै राज्यले पनि जुनसुकै मुलुकमा बसे पनि आफ्ना नागरिकलाई राष्ट्रियताविहीन बनाउन मिल्दैन । गैरआवासीय नेपाली जो जहाँ बसे पनि, जसले जहाँको नागरिकता प्राप्त गरेको भए पनि उनीहरू जन्मँदै नेपाली हुन्, त्यसैले त्यो जन्मसिद्ध अधिकारबाट उनीहरूलाई वञ्चित गरिनुहुँदैन ।