प्रतिबन्धित नेकपाका दुई नेता भक्तपुरबाट पक्राउ

प्रतिबन्धित नेकपाका दुई नेता भक्तपुरबाट पक्राउ


नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीका दुई नेतालाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ । कालीकोटको रुक्सा गाउँपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ निकोसेरा बस्ने ३१ वर्षीय कुशल बोगटी र रोल्पाको त्रिवेणी गाउँपालिका–५ जुँगार घर भई हाल मध्यपुरथिमि नपा–२ बस्ने ३७ वर्षीय बुद्धिलाल पुनलाई पक्राउ गरिएको हो ।

भक्तपुरका फरक–फरक स्थानबाट पक्राउ परेका बोगटी प्रतिबन्धित नेकपाका भक्तपुर जिल्ला सेक्रेटरीसमेत रहेका प्रहरीले जानकारी दिएको छ । बोगटी यसअघि सो पार्टीका भक्तपुर जिल्ला सेक्रेटरी रहेकै बेलामा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई साङ्घातिक आक्रमण गरेको आरोपमा पक्राउ परेर पनि पछि छुटेका व्यक्ति भएका बताइएको छ ।

भक्तपुरस्थित फरक–फरक ठाउँमा विप्लव नेतृत्वको सो पार्टीका कार्यकर्ताले शङ्कास्पद गतिविधि गरिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा खोजतलास गरी उनीहरूलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।

उनीहरूलाई फेला पारी सोधपुछ गर्ने क्रममा बोगटी र पुनले प्रहरी कर्मचारीलाई उल्टै गालीगलौज तथा अनावश्यक हैरानी दिएको आरोपसमेत प्रहरीले लगाएको छ । पक्राउ परेका दुवैलाई मुलुकी फौजदारी अपराधसंहिता २०७६ को दफा ११८ बमोजिम अभद्र व्यवहारमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अघि बढाइएको छ ।