कांग्रेस जनताको भरोसाको पार्टी बन्न नसकेकोमा पौडेलको दुःखेसो

कांग्रेस जनताको भरोसाको पार्टी बन्न नसकेकोमा पौडेलको दुःखेसो


मुलुकमा भएको भ्रष्टाचारको विरुद्ध नेपाली कांग्रेस सशक्त रुपमा उभिनुपर्ने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरद्वारा मंगलबार आयोजित सम्मान समर्पण समारोहमा उनले सेक्युरिटी प्रेस र वाइडवडी जहाजको अनियमितताविरुद्ध सदन र सडकमा आफ्नो उपस्थिति देखाउनुपर्ने तर्क गरे ।

जनताले ठूलो त्यागबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि प्रतिपक्षको रुपमा पार्टीले सक्रिय भूमिका निभाउनुपर्ने जिकिर गर्दै उनले पद बाँडेर पार्टी बलियो नहुने भन्दै सभापति देउवातर्फ ब्यंग्य प्रहार गरे । भातृ सङ्गठनको अधिवेशन गरेर स्वच्छ छवि भएका प्रतिनिधिको चयन गर्न उनले सुझाव दिए ।

पार्टीभित्रको विमति नीतिगत र प्रक्रियागतको आधारमा हो, व्यक्तिको होइन भन्दै उनले आफ्नो बचाउको प्रयास गरे र भने– ‘पार्टी जोगाउन पूर्वाग्रह नराखी सहमति गर्न म सबैलाई आग्रह गर्दछु । कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउन नेतृत्व तह लाग्नुपर्छ, यसमा हामी चुकिरहेका छौँ ।’

समारोहमा नेता पौडेलले समाजसेवी एवं पूर्वराजदूत गोपालप्रसाद शर्मालाई सम्मान गरे भने नेपाली कांग्रेस, प्रदेश नं १ प्रमुख सचेतक केदार कार्कीले कार्यकर्ताले जनताको घरदैलोमा पदका लागि नभई सुखदुःखमा सहभागी हुन आग्रह गर्दै विधानअनुसार पार्टी सञ्चालन नभएमा समाप्त हुने धारणा राखे ।

कांग्रेसका केन्द्रिय सदस्य महेश आचार्यले पिताजी कृष्णप्रसाद कोइरालाले मुलुकमा प्रजातन्त्र स्थापनाको लागि ठूलो त्याग गर्नुभएको बताए भने अर्का केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीभित्र रहेका कमीकमजोरी सुधार गरी विधानसम्मत हिँड्न नेतृत्वलाई आग्रह गरे ।