‘माओवादी’ दूतलाई चीनबाट यसकारण गरियो फिर्ता

‘माओवादी’ दूतलाई चीनबाट यसकारण गरियो फिर्ता


माओवादी कोटामा परेर राजदूत बनेका लीलामणि पौड्याललाई उनको कार्यकाल पूरा हुनु केही महिनाअगावै सरकारले फिर्ता बोलाउने निर्णय गर्नुलाई राजनीतिक दृष्टिले समेत अर्थपूर्ण मानिएको छ ।

चीनका लागि राजदूत बनाइएका लीलामणि पौड्याल कूटनीतिक कौशलशून्य व्यवहारका कारण बेलाबखत विवादमा परिरहन्थे र उनको ‘हाउडे शैली’लाई चिनियाँहरूले समेत मन पराइरहेका थिएनन् । कामभन्दा गफमा रमाउने र ‘फुइँ’ लगाएर समय कटाउने भनी चिनिएका पौड्यालले पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयको समेत बद्ख्वाइँ गर्दै आएका थिए । कार्यशैली र क्षमताका दृष्टिले अयोग्य ठहर भइसकेपछि पनि उनी प्रचण्डको कृपाका कारण पदमा रहिरहन सफल भएका थिए ।

प्रधानमन्त्रीका रूपमा प्रचण्ड चीन भ्रमणमा जाँदा राजदूतको हैसियतमा आफैँले राजदूतावासमा आयोजना गरेको विशेष समारोहमा एक घन्टा ढिला पुगेर लीलामणिले आफ्नो ‘योग्यता’ उतिबेलै प्रमाणित गरिदिएका हुन् । माओवादीको कोटाका व्यक्ति नपरेका भए तात्कालिक सरकारले नै उनलाई फिर्ता बोलाउने निश्चित थियो ।

आफ्नाले गरेका हजार गल्ती माफ गर्ने र अर्काको एउटा सानो त्रुटिलाई पनि अक्षम्य ठान्ने संस्कार बसेको हुनाले त्यसबेला प्रचण्डले पौड्याललाई राजदूतमा कायम राखेका थिए । सबै विषयको विज्ञझैँ प्रस्तुत हुने र अलिक उत्ताउलो व्यवहार गर्ने पौड्याल कूटनीतिक क्षमतामा पूर्ण रूपले अयोग्य साबित भएका छन् । राजदूत भएर आफ्नो प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको उछित्तो काढ्ने, तर चीन र नेपालबीचको सम्बन्ध थप मजबुत बनाउन तथा परस्पर सहयोग अभिवृद्धि गर्न कुनै भूमिका निर्वाह गर्न नसक्ने लीलामणिलाई फिर्ता बोलाउन सरकारले निर्णय लिइनुलाई सर्वत्र स्वागतयोग्य मानिएको छ । तर, पौड्यालको स्वभावलाई चिन्नेहरूले उनी फर्किएपछि ‘कोरोनाका कारण मैले नै चीनबाट फिर्ता हुन चाहेको’ भनी आफ्नो अयोग्यता ढाकछोप गर्न सक्ने अनुमान गरेका छन् ।

सरकारले चीनका लागि नेपाली राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई नियुक्त गर्न प्रस्ताव गरेको छ । २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री हुनुअघि चीनको राजदूतमा पाण्डेकै नाम प्रस्ताव गरिएको थियो । पछि प्रचण्डले पाण्डेलाई पन्छाएर लीलामणि पौड्याललाई राजदूत बनाइदिएका थिए । दुई वर्षअघि नै पौड्याललाई हटाउने कुरा उठे पनि उनको कार्यशैली र क्षमतामा सुधार हुने विश्वास गरेर सरकार बसेको थियो । राजदूतको हैसियतमा रहेर पनि बेइजिङमा पौड्यालले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयलाई गाली र आलोचना मात्र गर्ने काम गरेपछि उनलाई पदमुक्त गर्ने निर्णयमा सरकार पुगेको हो ।