दुई साताभित्रै काममा फर्कन्छु : ओली

दुई साताभित्रै काममा फर्कन्छु : ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपण गरेको दुई साताभित्रै नियमित काममा फर्कने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । दोस्रोपटक (फागुन २१ गते, २०७६) मिर्गौला प्रत्यारोपण गर्न १९ फागुनमा शिक्षण अस्पतालतर्फ प्रस्थान गर्नुअघि ओलीले आफ्ना अति निकटस्थहरूलाई भेटी आफू दुई साताभित्रै नियमित काममा फर्कने विश्वास दिलाउनुभएको थियो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितका निकटस्थहरूलाई आफ्नो निवासस्थानमा बोलाएर प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘देश, जनता र प्रजातन्त्रका पक्षमा समर्पित भएर अहिलेसम्मको जीवन बिताइयो, अबको जीवन थप ऊर्जा र प्रतिबद्धतासाथ बिताइनेछ । मेरो मिर्गौला प्रत्यारोपणको बढीमा दुई साताभित्र म काममा फर्कनेछु, यस अवधिमा तपाईंहरूले राम्ररी कार्य सम्पादन गर्नुहुने विश्वास मैले लिएको छु ।’

ओलीले उक्त अवसरमा केही अति संवेदनशील कुराहरू पनि गर्नुभएको र उहाँका कुराले उपस्थित सबैलाई भावविह्वल बनाएको बुझिएको छ । अस्पताल जान गाडी चढ्नुअघि प्रधानमन्त्रीले त्यहाँ उपस्थित सबैलाई चिन्ता नलिन भन्नुभएको थियो । ओलीसँगको यो भेटपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले केही संवेदनशील विषयसहित आफ्नो जिम्मेवारीको भारी थपिएको महसुस गर्नुभएको बताइन्छ ।

यसरी निकटस्थहरूसँग समय बिताउनुभन्दा तीन दिन अघिदेखि नै प्रधानमन्त्री ओलीले खास–खास मानिससँग विशेष भेटवार्ता गर्नुभएको थियो । त्यसक्रममा वरिष्ठ नेता माधवकुमार नेपालसँग भएको वार्तालापलाई खास मानिएको छ । नेता नेपालसमक्ष ओलीले देश, प्रजातन्त्र र पार्टीको भविष्यप्रति गम्भीर चिन्ता प्रकट गर्दै आगामी दिनमा मिलेर काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । एक सूत्रका अनुसार प्रधानमन्त्री ओलीले उपचारपछि माधव नेपालसँगको सहकार्यलाई उच्च प्राथमिकतामा राख्नुहुने भएको छ ।

सोमबार नै प्रधानमन्त्रीले एक भिडियो सन्देश जारी गर्नुभएको छ । उहाँले सन्देशमा आफ्नो जीवन देश, जनता र प्रजातन्त्रका निम्ति सङ्घर्ष गर्दागर्दै बितेको स्मरण गर्दै भन्नुभएको छ, ‘हामीले देखेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न केही दिनको अस्पताल बसाइपछि थप ऊर्जा र आत्मविश्वास लिएर फर्किनेछु । पार्टी र संसद् दुवैतिर आवश्यक कार्य सम्पादन गर्न जिम्मेवार नेता, कार्यकर्ता, सांसदहरू र लाखौँ पार्टी कार्यकर्ताहरू निरन्तर क्रियाशील हुनेमा म विश्वस्त छु ।’