काङ्ग्रेसमा नेता व्यवस्थापनको समस्या

काङ्ग्रेसमा नेता व्यवस्थापनको समस्या


नेपाली काङ्ग्रेसको नेतृत्व ‘कब्जा’ गर्न नेताहरूबीच अहिलेदेखि नै चर्को प्रतिस्पर्धा शुरु भएको छ । प्रजातान्त्रिक पार्टी भनिए पनि सभापति निरङ्कुश बन्ने र जे इच्छा लाग्छ त्यही गर्ने ‘अधिकार’ सभापतिलाई मात्र रहने भएकोले पार्टीमा नेतृत्व कब्जा गर्ने अस्वस्थ होड चलेको हो ।

ठीक एक वर्षपछि हुने चौधौँ महाधिवेशनलाई हेरेर प्रतिस्पर्धी पक्षहरूले आफ्नो नीति, रणनीति, कार्यक्रम र गतिविधि तय गर्न थालेका छन् । एक वर्ष अवधि बढाएर महाधिवेशनको मिति तय भइसकेपछि सभापति शेरबहादुर देउवाले विभिन्न विभागहरूको गठन गर्नुलाई अर्को पक्षले महाधिवेशनलाई प्रभावित गर्ने चालबाजीका रूपमा लिएको छ । कोइराला पक्ष र देउवा पक्षबीचको प्रतिस्र्धाबाट काङ्ग्रेस चल्दै आएको भए पनि कोइराला पक्षभित्र उत्पन्न ‘उपप्रतिस्पर्धा’को स्थितिले आगामी महाधिवेशनमा पनि शेरबहादुर देउवालाई नै सजिलो बनाइदिने देखिएको छ ।

कोइराला पक्षमा सभापति पदका निम्ति हैसियत पुगेका नेताहरू आधा दर्जनको सङ्ख्यामा रहेका छन् । प्रकाशनमान सिंह, डा. रामशरण महत, डा. शेखर कोइराला, डा. शशाङ्क कोइराला, अर्जुननरसिंह केसी र रामचन्द्र पौडेललाई कोइराला पक्षका सम्भावित उम्मेदवारका रूपमा लिइन्छ । तर, उहाँहरूमध्ये डा. शेखर र डा. शशाङ्कको नाम विभिन्न कारणले अगाडि आएको छ ।

डा. शेखर कोइरालालाई पार्टीभित्र ज्यादा रुचाएको पाइन्छ भने डा. शशाङ्क कोइराला बाह्य साथ–समर्थनसमेत लिएर सभापति बन्ने तयारी गर्दै हुनुहुन्छ । उता रामचन्द्र पौडेल पनि आफूलाई सभापतिको एक मात्र उपयुक्त उम्मेदवार ठान्नुहुन्छ । तेह्रौँ महाधिवेशनमा शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा झिनो मतान्तरले पराजित भएकोले चौधौँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गर्ने एकलौटि हक आफ्नो भएको दाबी पौडेलको छ ।

तर, काङ्ग्रेसभित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेलको पुस्ताले अब सक्रिय राजनीतिक भूमिकाबाट आफूलाई टाढा लैजानुपर्छ भन्ने मत प्रबल हुँदै गएको छ । देउवासँगै पौडेललाई पनि बिदाइ गरिनुपर्छ भन्ने मत बलियो हुँदै गएको भए पनि देउवाको कित्तामा त्यसको कुनै असर पर्ने अवस्था छैन । देउवा पक्षमा सभापतिको दाबेदार एक्ला देउवा मात्र हुनुहुन्छ । महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र र विजयकुमार गच्छदारले समेत सभापति बन्ने आकाङ्क्षा राखेका भए पनि परिस्थितिले दुवैजनालाई खुम्चिन बाध्य तुल्याएको छ । त्यसैले देउवा क्याम्पका एकलौटि नेता देउवा नै रहनुभएको छ भने कोइराला पक्षबाट डा. शेखर कोइराला र डा. शशाङ्क कोइरालाले एक–अर्कोलाई समर्थन गर्ने स्थिति भए पनि रामचन्द्र पौडेल आफूबाहेक अरू कसैलाई समर्थन गर्ने मानसिकतामा देखिनुभएको छैन । त्यसैले देउवाका विरुद्ध अरू जोसुकैले उम्मेदवारी दिए पनि पौडेलले समेत उम्मेदवारी दिनुहुने स्थिति छ ।

डा. महत, प्रकाशमान सिंह र अर्जुननरसिंह केसी कोइराला पक्षबाट एउटा मात्र उम्मेदवार बनाउन कटिबद्ध हुनुहुन्छ, तर तत्काल त्यस्तो अवस्था बन्न कठिन छ । देउवाविरुद्ध डा. शेखर कोइरालाले एकल उम्मेदवारी दिने मौका पाउनुभएमा भारी मतान्तरले उहाँ विजयी बन्न सक्ने सम्भावना देखिए पनि डा. कोइराला देउवाविरुद्धको सर्वस्वीकार्य उम्मेदवार बन्न पाउने सम्भावनाचाहिँ न्यून छ । एकातिर रामचन्द्र पौडेल र अर्कोतिर कृष्णप्रसाद सिटौला उम्मेदवार बनेको अवस्थामा कोइराला पक्षबाट डा. शेखर नै उम्मेदवार बने पनि उहाँलाई विजय प्राप्त गर्न सजिलो छैन । पौडेल र सिटौलाले शेखरलाई पराजित गर्न देउवालाई समर्थन गर्ने निर्णय लिए पनि आश्चर्य हुनेछैन । डा. शेखरले आफ्नो महामन्त्रीको उम्मेदवार गगन थापालाई बनाउने सङ्केत मिलेको छ । त्यस अवस्थामा देउवाले पनि विश्वप्रकाश शर्मालाई महामन्त्रीको उम्मेदवार बनाउन असम्भव छैन ।

वर्तमान महामन्त्री पूर्णबहादुर खड्काले महामन्त्रीमै उम्मेदवारी दिनुहुने या उपसभापतिमा भन्ने यकिन छैन । पार्टीभित्र विशिष्ट भूमिका निर्वाह गर्नुहुने खड्कालाई महामन्त्रीको उम्मेदवार नबनाउने गुप्त योजना आरजु राणा, शेरबहादुर देउवा र विमलेन्द्र निधिले बनाउनुभएको जानकारी प्राप्त हुन आएको छ । सभापति पदमा उम्मेदवारी दिने मौका प्राप्त नभएमा डा. रामशरण महत, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतका नेताहरू पनि उपसभापति या महामन्त्रीको उम्मेदवार बन्नुपर्ने हुन्छ । नेताहरू गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, डा. नारायण खड्का र बालकृष्ण खाणहरूको जिम्मेवारी के रहने भन्ने चिन्ता पनि कार्यकर्ता तहसम्म प्रकट हसन थालेको छ । नेताहरूको व्यवस्थापन काङ्ग्रेसमा एउटा ठूलो समस्याको रूपमा देखापर्दै छ ।

शेरबहादुर देउवा आफैँ ज्येष्ठ नागरिकका रूपमा पुगेपछि उहाँले ‘ज्येष्ठ नागरिक सभा’ गठन गरेर तिनको पनि सहानुभूति जुटाउने प्रयास गर्नुभएको छ । ‘युवा सभापति’को हैसियतमा अर्को एउटा कार्यकाल सक्रिय रहने योजनामा रहनुभएका देउवाले आफूबाहेकका वृद्ध नेताहरूलाई थन्क्याउने थलोका रूपमा ज्येष्ठ नागरिक सभा निर्माण गरेको ठानिएको छ ।