पत्नीमा कोरोना ‘पोजेटिभ’ देखिएपछि क्यानडाका प्रधानमन्त्री आइसोलेसनमा

पत्नीमा कोरोना ‘पोजेटिभ’ देखिएपछि क्यानडाका प्रधानमन्त्री आइसोलेसनमा


क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी पत्नी सोफीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अब प्रधानमन्त्री ट्रुडोले पनि १४ दिन आइसोलेसनमा बस्नुपर्ने भएको छ । प्रधानमन्त्री ट्रुडोलाई सेल्फ आइसोलेसनमा राखिएको छ । उनी अब १४ दिनसम्म चिकित्सकको निगरानीमा घरमै रहनेछन् ।

प्रधानमन्त्रीपत्नी सोफीमा बिहीबार कोरोनाको लक्षण पाइएको थियो । परीक्षणपछि आएको रिपोर्टमा कोरोना ‘पोजिटिभ’ देखिएको हो ।

प्रधानमन्त्रीकी पत्नी सोफी दुई दिनअघि मात्र एक कार्यक्रममा सहभागी हुन लन्डन पुगेर फर्किएकी थिइन् । लन्डनबाट फर्किएपछि उनमा ज्वरो आउने, टाउको दुख्नेलगायतका लक्षण देखिएपछि परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

शुक्रबार क्यानडाको प्रधानमन्त्री कार्यालयले एक विज्ञप्तिमार्फत यसको पुष्टि गरेको छ । प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री जस्टिन ट्रुडो ठीक अवस्थामा हुनुहुन्छ । उहाँमा कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन ।’