अनिश्चितकालका लागि श्रम स्वीकृति स्थगित

अनिश्चितकालका लागि श्रम स्वीकृति स्थगित


कोभिड–१९ (कोरोना) भाइसरले विश्वव्यापी रूपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ ।

नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकले ‘अर्को सूचना नभएसम्म वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने’ निर्णय गरेपछि श्रम स्वीकृति प्रदान गर्ने कार्य आजदेखि स्थगित गरिएको वैदेशिक रोजगार कार्यालय ताहचलका प्रमुख उमेश बस्नेतले जानकारी दिए ।

नेपालको प्रमुख श्रम गन्तव्य मुलुक दक्षिण कोरिया, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), ओमन, बहराइन, कुवतेलगायतमा कोरोना भाइरस देखिएपछि ती मुलुकमा नेपाली कामदार नपठाउन सरकारलाई तीव्र दबाब परेको थियो । राससका अनुसार श्रम मन्त्रालयले यसअघि नै श्रम स्वीकृति स्थगन गर्ने तयारी गरे पनि निर्णय हुन सकेको थिएन ।

सरकारले दक्षिण कोरियामा मार्च महिनाभर श्रमिक नपठाउने निर्णय गरिसकेको छ । कोरोनाको संक्रमण बढ्न नदिन कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाइसकेको छ भने कुवेतले पनि भिसा दिन बन्द गरेको छ ।

बुधबार विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेको थियो । कोरोना भाइरसबाट बच्नका लागि अन्य देशहरूले पनि आवश्यक सतर्कता अपनाउँदै अन्तर्राष्ट्रिय हवाई उडान र आवतजावतमा प्रतिबन्ध लगाएका छन् ।