भृकुटीमण्डपमा १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदै

भृकुटीमण्डपमा १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदै


यही बैशाख २६ गतेदेखि काठमाडौंमा आयोजना हुने १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ को तयारी पूरा भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले मेलाको आयोजना गर्न लागेको हो ।

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक आगामी बुधबारदेखि पाँच दिन भृकुटीमण्डपमा चल्नेछ ।

मुलुकभरका झण्डै ६ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योग र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीहरुलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य नारा ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली बस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने रहेको छ ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहका अनुसार नेपालजस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रुपमा रहेको भएतापनि पुरातन प्रविधिको प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेका कारण आकर्षक प्रतिफल दिन सकिरहेका छैनन् जसले गर्दा हाम्रा युवा पुस्ता यस्ता उद्योगप्रति आकर्षित हुन सकिरहेका छैनन् ।

यसपटकको मेलामा पाँचौं राष्ट्रिय मह मेला पनि सञ्चालन हुनेछ । नेपालका तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धनसमेत गरिने यस मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी र बीटुजीजस्ता अन्तरक्रिया, छलफल र खाना महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणका रुपमा रहने अध्यक्ष सिंहले बताए ।

यसैगरी नेपाल मौरीपालक महासंघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडसँगको सहकार्यमा विविध अर्गानिक महका छुट्टै प्याभिलियनमार्फत प्रदर्शनी गरिने व्यवस्था गरिएको महासंघले जनाएको छ ।

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहने छ र प्रदर्शनीमा २ सय ५० वटा स्टलको व्यवस्था हुने र दुई लाख भन्दा बढी अवलोकनकर्ताले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने ७ करोड रुपियाँ भन्दा बढीको आर्थिक कारोबार हुने अनुमान छ ।

मेलामा काठ/ढुङ्गा/धातु कला, सेरामिक्स, भाँडाकुँडाहरु बाँस, वेतबाँस आदिबाट निर्मित सजावटका सामानहरु, गलैंचा, राडीपाखी पश्मिनाका वस्तुहरु तथा अन्य ऊनी कपडाहरु, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरु, नवीनतम प्रविधिहरु, नेपाली हाते कागजका वस्तुहरु, परम्परागत हस्तकलाका सामानहरु, अर्गानिक मह, कृषि तथा वनमा आधारित उत्पादनहरु, शिक्षा, पर्यटन लगायतका सेवाप्रदायक संघसंस्थाहरु, वैकल्पिक/नविकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरणहरु र अन्य औद्योगिक वस्तुहरु प्रदर्शन गरिने छ ।

मेला तयारी पूरा भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासंघका निवर्तमान अध्यक्ष श्याम गिरी, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरु शेभा गुरुङ, हरिहर थापा, राजेन्द्रमान श्रेष्ठ, मोहन कटुवाल, शान्ता बाँस्कोटा, महासंघअन्तरगत केन्द्रिय महिला समिति अध्यक्ष रोशनी उपाध्याय र वरिष्ठ उपाध्यक्ष रीता अवाल, कोषाध्यक्ष अच्युत पाण्डे, सचिव रुद्र न्यौपाने, केन्द्रिय सदस्य नारायण कार्की, पूर्ण पाण्डे, डिल्लीराम गिरी, महासंघ अन्तर्गत केन्द्रिय महिला समिति सचिव दीपा शाक्यसमेतको उपस्थिति थियो ।