गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालाले आफू परराष्ट्रमन्त्री रहेका बेला विदेशी नागरिक छोरीलाई पदीय दुरुपयोग गरी गैरआवासीय नेपाली ९ल्च्ल्० को परिचय उपलब्ध गराएको प्रमाण फेला परेको छ । सुजाताद्वारा जर्मन नागरिकता भएकी र बंगलादेशी नागरिक रुबेल चौधरीसँग वैवाहिक सम्बन्धमा रहेकी छोरी मेलानी रोशा जोस्टलाई परराष्ट्र मन्त्रालयको तर्फबाट गैरआवाशीय नेपालीको परिचयपत्र उपलब्ध गराइएको हो ।
सन् २०१० को फेबु्रअरी ८ देखि सन् २०२० को फेब्रुअरी ७ तारेखसम्म दश वर्षको मान्यता रहने गरी मेलानीलाई सुजाताले आफू परराष्ट्रमन्त्री हुँदा उक्त परिचयपत्र बनाइदिएकी हुन् । जर्मन नागरिकसँग विवाह गरेर जर्मनीमै जन्मिएका छोराछोरीलाई सुजाताले उतै हुर्काएकी थिइन् । आफ्ना पिता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि रातारात नेपाल फर्किएकी सुजाताले आफ्नो ‘बन्दोबस्ती’ भइसकेपछि छोराछोरीलाई पनि नेपाल ल्याएकी हुन् । तर, उनले छोरा आन्द्रेस र छोरी मेलानीलाई नेपाली नागरिकता दिलाएको जानकारी हुन सकेको छैन ।
छोराको विवाह पोखराको एक प्रतिष्ठित कन्यासँग गराएर अंशबन्डा गरी उनलाई विराटनगरको पाँच बिघा जमिन दिइएको छ । हाल बुढानीलकण्ठमा एक घर खरिद गरी बसेका छोरा आन्द्रेसको आमा सुजातासँग राम्रो सम्बन्ध नभए पनि उनले सुष्मा कोइराला मेमोरिएल ट्रस्टको व्यवस्थापन हेर्दै आएका छन् । बंगलादेशी बनेकी मेलानीका पति रुबेल चौधरी नेपालमा ‘मोस्ट वान्टेड’ को सूचीमा छन् । चौधरीमाथि ‘कल बाइपास’ धन्दा सञ्चालन गरी नेपाललाई करोडौँ रुपैयाँ क्षति पु¥याएको आरोप छ ।
रुबेल र मेलानी अहिले बेलायत बस्ने गर्दछन् र सुजाताले पनि नेपाल छोडेर छोरीज्वाइँसँगै बेलायत बसोवास गर्ने योजना बनाइरहेकी छिन् । बेलायतले दशवर्षे भिसा उपलब्ध गराएमा उनी उतै गएर बस्ने भएकी हुन् । नेपालसँग भावनात्मक र कानुनी दृष्टिले कुनै सम्बन्ध नभएकी मेलानीलाई गैरआवासीय नेपालीको सरकारी परिचयपत्र के आधारमा उपलब्ध गराइयो र उनलाई त्यसरी परिचयपत्र उपलब्ध गराउन परराष्ट्रका कर्मचारीहरूले कसरी सघाउन सके, आश्चर्यको विषय बनेको छ ।
प्रतिक्रिया