कोरोना भाइरस ससंक्रमण पुष्टि भएकी युवतीसँगै नेपाल आएका बाह्रदशी गाउँपालिका–१ (झापा) निवासी एक व्यक्तिसहित पाँच जनालाई नै क्वारेन्टाइनमा राखिएको छ ।
कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीसँगै वाह्रदशी–१ खयरवारीका एक युवा पनि नेपाल आएका थिए ।
सामाजिक सञ्जालमा सो उडानबाट कोरोना भाइरस संक्रमित युवतीसँगै आएका युवाबारे विवरण सार्वजनिक भएपछि गाउँपालिकाले उनलाई बिहीबार (१३ चैत) बाट क्वारेन्टाइनमा राखेको बाह्रदशी गाउँपालिका–३ का अध्यक्ष वीरेन्द्रप्रसाद राजवंशीले जानकारी दिएका छन् ।
कतारबाटै आएका अर्का एक व्यक्तिलाई पनि बाह्रदशी गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा राखिएका ती युवाले आफूहरुको स्वास्थ्य अवस्था अहिलेसम्म ठीक भएको र परिवार लगायत अरुलाई नआत्तिन सुझाव दिएका छन् । राससले दिएको जानकारीअनुसार झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले उक्त विमानमा आएका भनिएका झापाका पाँचै जना स्वस्थ रहेका र उनीहरुलाई क्वारेन्टाइनमा राखिएको बताएका छन् ।
प्रतिक्रिया