केपीमाथि दबाब दिन हस्ताक्षर अभियान

केपीमाथि दबाब दिन हस्ताक्षर अभियान


देश लकडाउनमा रहेर आम मानिस घरभित्र बस्न बाध्य भैरहेका बेला सत्ता राजनीतिमा भने अर्कै तनाव र छटपटीको स्थिति देखापरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली एकतिर आफ्नै मन्त्री र सल्लाहकारको कार्य–ब्यवहारलाई लिएर चिन्तित र गम्भीर बन्नुभएको छ भने अर्कोतिर प्रचण्डको दबाब पनि यसैबेला झेल्दै हुनुहुन्छ।

केपीलाई प्रधानमन्त्री पदबाट मुक्त गर्ने विगत नौ महिनादेखिको प्रयास सफल हुन नसकेर हैरान हुनुभएका प्रचण्डले स्वास्थ्य सामाग्री खरिद प्रकरणमा सरकार बदनाम भएको मौका पारेर केपीविरुद्ध मोर्चाबन्दीको प्रयत्न गर्नुभएको छ।

मृगौला प्रत्यारोपणपछि अति आवश्यकीय भेटघाटलाई मात्र स्थान दिँदै आउनुभएका केपीमाथि सचिवालयको बैठक तत्काल बोलाउन दबाब बढाइएको छ। यसक्रममा प्रचण्डले सचिवालय सदस्यहरूको हस्ताक्षर अभियान नै चलाउनुभएको बुझिएको छ।

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र आफू स्वयमले हस्ताक्षर गरी झलनाथ खनाललाई बामदेव गौतमको हस्ताक्षर गराउन पठाएकोमा गौतमले सही गर्न अस्वीकार गरेको बुझिएको छ । गौतमले दस्तखत नगरी सो कुराको जानकारी केपी ओलीलाई गराइदिनुभएपछि अहिले हस्ताक्षर अभियान अलपत्र परेको छ । गौतम र नारायणकाजी श्रेष्ठले दस्तखत गरेपछि मात्र दस्तखत गर्ने वचन दिनुहुने महासचिव विष्णु पौडेलले पनि उक्त कागजमा सही गर्नुभएको छैन।

सचिवालयका नौ सदस्य मध्ये माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ जता उभिनुहुन्छ त्यतैतिर बहुमत हुने अवस्था छ। केपीविरुद्ध बहुमत पुग्ने ग्यारेन्टी नभएमा रामबहादुर थापाले समेत सही नगर्ने स्थिति भएको बताइन्छ । प्रचण्डले माधवकुमार नेपालमाथि सरकार बदल्ने अभियानको नेतृत्व लिन दबाब दिँदै आउनुभएको छ। तर नेता नेपालले भने सरकार नबदल्ने केपीको कार्यशैली मात्र बदल्ने पक्षमा अडान कायम राख्दै आउनुभएको छ।

उता बामदेव गौतम भने निकै अप्ठ्यारोमा पर्नुभएको छ, केपीविरुद्ध जाइलाग्दा राष्ट्रिय सभा सदस्य बन्ने मौका गुम्नसक्ने भएकोले पनि गौतमको केपीप्रतिको व्यवहार बदलिएको बुझिएको छ। अहिले प्रचण्ड झलनाथले चलाएको हस्ताक्षर अभियान केवल सचिवालय बैठक बोलाउनका निम्ति भनिएपनि यसको उद्देस्य अर्कै भएको बताइन्छ। बैठक बोलाउने र केपीलाई अप्ठ्यारो पार्ने निर्णयहरू उहाँकै उपस्थितिमा गर्ने योजना प्रचण्डको भएको ठानिएको छ। बामदेव गौतमले हस्ताक्षर नगरेर रोकिएको हस्ताक्षर अभियान कसरी टुङ्गिने हो प्रतीक्षाको विषय बनेको छ।