इटलीमा ‘कोभिड–१९’का कारण एक सय एक चिकित्सकको मृत्यु

इटलीमा ‘कोभिड–१९’का कारण एक सय एक चिकित्सकको मृत्यु


इटलीमा कोरोना भाइरस सङ्क्रमण भेटिएको दिनदेखि अहिलेसम्म सय जनाभन्दा बढि चिकित्सकको कर्तव्य पालनाका शिलशिलामा मृत्यु भएको छ । इटलीको स्वास्थ्य संस्थाले बिहीबार (९ अप्रिल) जानकारी गराएअनुसार कोभिड–१९ को सङ्क्रमणविरुद्ध अग्रपङ्तीमा रहेर विरामीलाई उपचार सेवा दिने क्रममा १०१ चिकित्सकको मृत्यु भएको हो ।

मृतकमध्ये सेवा निवृत्त चिकित्सक चिकित्सक (जसलाई सरकारले सङ्क्रमणको महामारीमा सघाउन आह्वान गरेको थियो) सहित भर्खरै सेवा सुरू गरेको युवा चिकित्सकसमेत रहेका छन् ।

इटलीमा कोभिड–१९ को सङ्क्रमणबाट बिहीबारसम्म १७ हजार ६६९ व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्क रहेको एएफपीले जनाएको छ ।

इटलीका सञ्चारमाध्यमले सङ्क्रमणबाट ३० जना परिचारिका (नर्स) र अन्य स्वास्थ्य सहयोगीको मृत्यु भएको अनुमान गरेका समाचारहरू बाहिरिएका छन् ।

‘हामीले लामो समयसम्म हाम्रा चिकित्सकलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) बिना नै कोभिड–१९ को महामारी नियन्त्रणका लागि कार्यक्षेत्रमा पठाउन बाध्य भयौँ । त्यसैले हामीले कर्तब्य पालनाका शिलशिलामा धेरै सहकर्मीलाई गुमाउनु परेको हो’– स्वस्थ्य संस्थाका प्रमुख फिलिप्पो एनेलीले आफ्नो वेबसाइटमार्फत जारी विज्ञप्तिमा उल्लेख गरेका छन् । यो कोरोनाविरूद्धको सङ्घर्षमा आफूहरू चुकेको क्षण भएको भन्दै उनले पश्चाताप गरेका छन् ।

रोमको जनस्वास्थ्य संस्था (आईएसएस) का अनुसार इटालीका करिव १० प्रतिशत स्वास्थ्यकर्मीहरू कोरोना भाइरसबाट सङ्क्रमित रहेका अनुमान छ ।