भारतमा लगाइएको देशव्यापी २१ दिने लकडाउन लम्बिन सक्ने एक मुख्यमन्त्रीले बताएका छन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कोरोना भाइरसविरुद्धको लडाईलाई सफल पार्न लकडाउन लम्बिनसक्ने अभिव्यक्ति शुक्रबार (१० अप्रिल) सार्वजनिक गरेका हुन् ।
‘भारतका सवै राज्यहरुले लकडाउनलाई पूर्ण रूपमा कार्यान्वयन गराएका छन्, मलाई विश्वास छ, यही अप्रिल १४ तारिखसम्मका लागि यस अघि घोषणा गरिएको लकडाउनको अवधि थपिने छ,’– रावतले भनेका छन् ।
उनले उत्तराखण्ड राज्य कोरोना भाइरसको सङ्क्रमणको विषयमा पहिलो चरणमै रहेको जानकारी पनि दिएका एएनआईले जनाएको छ ।
तबलिगी जमातबाट फर्किएकाहरूका कारण सङ्क्रमणको खतरा रहे पनि उनीहरु सम्पर्कमा आएको र राज्यले उचित व्यवस्थापन गरिरहेको मुख्यमन्त्री रावतले बताए ।
शुरुमा उनीहरुले अटेरी गरे पनि फौजदारी अभियोग लगाउने चेतावनी दिएपछि उनीहरु सम्पर्कमा आएर कोरोना नियन्त्रणसम्बन्धी नियमहरु अवलम्बन गरेको उनको भनाई छ ।
‘फर्किएकाहरुलाई सुरुमा सम्पर्कमा आउन र स्वास्थ्य परीक्षण गराउन आग्रह गरिएको थियो, त्यतिवेला उनीहरुलाई यो कुनै तपाईहरुको गल्ती नभई स्वास्थ्य समस्या हो, त्यसको उपचार गर्नु पर्दछ भनेका थियौँ,’ रावतले भने– ‘त्यसपछि पनि आउन नमान्नेलाई कानुनी कारबाही गर्ने चेतावनी दिइएको थियो ।’
आफ्नो प्रदेशमा दिनदिनै परीक्षणको कामहरु भइरहेको र दुई प्रकारको परीक्षण हुने गरेको उनको दाबी छ । ‘हामीसँग झण्डै दश हजार व्यक्तिगत सुरक्षा सामग्री (पिपिई किट्स) ३० हजार मास्क र २५७ भेन्टीलेटरहरु छन्’ भन्दै उनले अहिले आफुहरूलाई एन–९५ मास्कको थप आवश्यकता नरहेको पनि बताए ।
उहाँले अहिलेसम्म भेन्टिलेटर प्रयोग गर्नु नपरेकोमा आफुहरु भाग्यमानी भएको मुख्यमन्त्रीको भनाई छ । मुख्यमन्त्री रावतले उत्तराखण्ड राज्यमा अहिलेसम्म ३५ जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण देखिएको र ती मध्ये निको भएर घर फर्किसकेको जानकारी दिए ।
उत्तराखण्डमा कोरोना भाइरसका कारण अहिलेसम्म कसैको पनि मृत्यु भएको विवरण नआएको उनको दाबी छ ।
प्रतिक्रिया