■ देवप्रकाश त्रिपाठी
भोलिपल्ट ।
वर्जितलाई निद्राले अलिक चाँडै छोड्यो, तर उनले ओछ्यान छोड्न सकेका थिएनन् । ब्युँझिएदेखि नै सरिनाको बारेमा सोच्दै थिए । हरेक रात र बिहान वर्जितले सरिनाको तर्फबाट एसएमएस प्राप्त गर्थे । रातको १० बजे, सधैं एउटै समयमा ‘गुडनाइट विथ माई लभ’ र बिहान साढे ६ बजे ‘गुडमर्निङ’ लेखिएको सन्देश प्राप्त गर्नु वर्जितका निम्ति खुसी र उमङ्गको विषय मात्र थिएन, ठीक समयमा सरिनाको सन्देश पाउनुलाई उनले आफ्नो अधिकार नै ठान्न थालेको थिए । एकप्रकारले भन्ने हो भने सरिनाको सन्देश वर्जितको आदत बनिसकेको थियो । अघिल्लो रात र आज बिहान उनको सन्देश प्राप्त नहुँदा देखिएको छटपटीले यही सङ्केत गर्दै थियो । राति मात्र सन्देश नआएको होइन, बिहान साढे ६ बजे आउनुपर्ने ‘स्विट’ सन्देश साढे सात बजिसक्दा पनि आएको थिएन । क्रमभङ्ग भएकोमा उनी खिन्न भएका थिए ।
वर्जितले आफ्नो तकियासँगै रहेको सेलफोन हातमा लिए, ‘मेसेज बक्स’मा भएका पुराना सन्देश पढेरै तुष्टि लिन खोजे । तर, पुराना सन्देशले मात्र उनलाई सन्तुष्टि मिलेन फोनसेट आफ्नो मुख नजिकै लगेर बोले– सरिना… !
साउन्डसेन्सबाट मोबाइल अपरेट गर्ने प्रविधिको विकास भइसकेको थियो । उताबाट आवाज आयो ‘फोनको स्विच अफ गरिएको छ ।’
वर्जितको उदासीनता झन् बढ्न पुग्यो । आफ्नो अवचेतन मनले सरिनालाई माया गर्न थालेको महसुस उनलाई यतिबेला बल्ल हुँदै थियो ।
खुइय…!
सुस्केरा छोड्दै वर्जितले ओछ्यान छोडे अनि स्नान कक्षतिर लागे ।
उनी ‘फ्रेस’ भएर निस्किएका थिए, तर ‘फ्रेस’ देखिँदैनथे । दराज खोलेर टी–सर्ट र पाइन्ट निकाले । आफूबराबर उचाइको ऐनालाई पछिल्तिर पार्दै उभिएर ती कपडाहरू पहिरिए, अनि ग्यारेजबाट सुपर कार निकालेर सोझै सरिनाको घरतर्फ हुइँकिए । २० मिनेटको ड्राइभिङमा पुगिने सरिनाको घर आज उनी १२ मिनेटमै पुगेका थिए ।
सरिनाको घरको ढोकाको निम्ति सुपरिचित वर्जितको गाडी पाँच मिटर नजिक पुग्नेबित्तिकै स्वतः ढोका खुल्थ्यो, तर आज खुलेन । उनले रिमोट दबाए, तैपनि खुलेन । त्यसपछि हर्न बजाए, दुई मिनेटसम्म बजाइरहे । तर, ढोका खुलेन ।
उनले गाडीको स्टार्ट बन्द गरे र सरिनाका साथीहरूलाई फोन गरेर जानकारी लिन कोसिस गरे । कतैबाट पनि सरिनाबारे कुनै जानकारी प्राप्त हुन सकेन ।
त्यसपछि वर्जित सरिनालाई मनपर्ने रेस्टुरेन्ट, पार्क र अन्य रमणीय ठाउँहरूमा जाने निधो गर्दै त्यहाँबाट हिँडे । बाटोमा जाँदै गर्दा बोलिभियामा बसिरहेका उनका बाबुआमालाई फोन गरेर जानकारी लिन पनि उनले कोसिस गरे, तर सरिनाका माता–पिता पनि उनीबारे अनभिज्ञ रहेको बुझियो । सरिनालाई हरियो घाँस पेलेर बनेको ग्रीन कटलेट चाँदीको प्लेटमा राखेर विशेष प्रकारको अचारसँग खुब मनपर्थ्यो। उनी त्यही क्याफेमा गए, जहाँ त्यस्तो परिकार बनाइन्थ्यो ।
‘तीन दिनदेखि आउनुभएको छैन’– जवाफ पाए उनले । त्यसपछि शहरको कुना–कुनामा पुगे उनी, कतै बाटैमा देखिन्छिन् कि भनेर, सडकमा गाडी गुडिरहँदा पनि उनका आँखा पेटीमा कुदिरहेका थिए ।
दिनभर यत्रतत्र कुँदिरहे उनी । जति खोज्दै थिए त्यति पाउँदै थिएनन्, नपाउँदै जाँदा सरिनाको आवश्यकता झन्–झन् महसुस हुँदै थियो उनलाई । उनी हैरान भए । साँझ परिन्जेल खोज्दा–बुझ्दा पनि कतै नभेटिएपछि घर फर्किए । घर पुग्दा रात परिसकेको थियो, तर रातभन्दा उनको मन र मुहार नै ज्यादा अँध्यारो भएको थियो ।
घरको ढोकासँगै राखिएको उनको मेलबक्समा ‘प्लिक–प्लिक’ रातो बत्ती बलिरहेको थियो । गाडीबाट ओर्लिएर उनले मेलबक्समा कार्ड छुवाए । बक्समा एउटा बिनाखामको पत्र रहेछ । उनले हतार–हतार पत्र पढे, यति हतार कि भोकले ग्रस्त मान्छेले मिष्ठान्न भोजन भेटेभन्दा कैयन गुणा बढी ! पत्रको हरेक शब्दमा उनी सरिनालाई खोज्दै थिए, तर पूरै पत्रमा सरिना भेटिइनन् ।
उनलाई त्यो पत्र स्थानीय प्रहरी कार्यालयबाट आएको रहेछ र जति सकिन्छ चाँडो आफ्नो अनुकूलतामा वर्जितलाई प्रहरी कार्यालय आउन भनिएको रहेछ । उनले यसरी प्रहरीले बोलाउनुको कारण पनि सरिना नै हुनुपर्छ भन्ने ठाने र तत्काल गाडी स्टार्ट गरेर प्रहरी कार्यालयतर्फ हानिए ।
कार्यालयमा वर्जितको स्वागत इन्स्पेक्टरले गरे । आफ्नो बैठककक्षमा लगेर कफी पिलाए । त्यसपछि वर्जितको नाममा तयार पारिएको एउटा चेतावनी–पत्र उनको हातमा थमाइयो र उसको फिङ्गर प्रिन्ट लिने कार्य भयो । चेतावनीको विषय थियो बाह्र घन्टा अवधिबीच एउटै शहरमा पाँच सय किलोमिटर गाडी दौडाउनु । एक शहरमा एउटा गाडी दिनभरिमा पचास किलोमिटरभन्दा चलाउन नपाइने नियम बसाइएको थियो र त्यसभन्दा बढी चलाउनुपर्ने अवस्था आएमा ट्राफिक प्रहरीको स्वीकृति लिनुपर्थ्यो ।
पहिलोपल्ट त्यसप्रकारको गल्ती गरेका कारणले मात्र वर्जितलाई जरिवाना तिराउने या काराबास पठाउने सजाय गरिएको थिएन । यसप्रकारको गल्ती दोहोरिएमा सोझै काराबास पठाइने कानुनी व्यवस्था थियो । ‘ग्लोबल वार्मिङ’का कारण वातावरणसम्बन्धी कानुनमा त्यस्तो किसिमको व्यवस्था गरिएको थियो । इन्धनबाट चल्ने र कार्बन बढी निःसृत गर्ने इन्जिनको प्रयोगमा नियन्त्रण ल्याउन वातावरण–कानुनमा कठोर प्रावधान समेटिएका थिए ।
चेतावनी–पत्र पढिसकेपछि वर्जित ‘सरी’ भन्दै बाहिरिन खोजे । तर, इन्स्पेक्टरले रोकेर भने, ‘तपाईंमा ग्लोबल वार्मिङसम्बन्धी ज्ञानको कमी छ कि जस्तो लाग्यो, भविष्यमा ‘ग्लोबल वार्मिङ’कै कारण पृथ्वीबाट प्राणीको अस्तित्व नास हुनसक्ने खतरा छ भन्ने कुराको हेक्का राख्नुभएको छ ?’
‘पढेको त हो तर त्यसलाई मैले गम्भीर ढङ्गले लिन नसकेको रहेछु, सरी !’, वर्जितले भने । तर इन्स्पेक्टरले सजायबापत उनलाई ‘ग्लोबल वार्मिङ’ र यसबाट भविष्यमा उत्पन्न हुनसक्ने प्रभावबारे जानकारी गराउन दुई महिनाका लागि नर्वे पठाउन माथिल्लो तहमा सिफारिस गरिसकेका रहेछन् । उनले नम्रतापूर्वक भने, ‘तपाईं अहिले जान सक्नुहुन्छ, तर दुई महिना नर्वे जानुपर्ने मानसिकताचाहिँ बनाउनु होला ।
वर्जित फिस्स हाँसे र सहमतिमा टाउको हल्लाए, अनि नमस्कार भन्दै त्यहाँबाट बाहिर निस्किए । सरिना सम्पर्कविहीन भएको पीडाले रन्थनिएका वर्जितमाथि अर्को पीडा थपियो । उनी गाडी राखिएको ग्यारेजतर्फ गए । तर, त्यहाँ उनले गाडी पाएनन्, सात दिनपछि गाडी लिन आउन सक्ने पुर्जी पाए । अनि चुपचाप पैदलै घरतर्फ लागे । बाटोमा उनका निराश आँखाले सरिनाको खोजी भने गरिरहेकै थियो । (क्रमशः)
हेर्नुहोस् पहिलेको खण्ड-
स्वार्थ, व्यापार र प्रेमको भ्रम !

प्रतिक्रिया