किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु

किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु


युक्रेनको राजधानी किभनजिक रक्षा उद्योगसम्बन्धी कार्यक्रम भइरहेको स्थानमा शुक्रबार (२४ जुलाई) भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन् ।

युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण किभको केन्द्रबाट करिब २०–३० किलोमिटर टाढा बुचा जिल्लास्थित निजी सैन्य प्रशिक्षण केन्द्रमा भएको हो । घटनामा २७ वटा घर र ४४ वटा सवारीसाधनमा क्षति पुगेको छ ।

क्षेत्रीय सैन्य प्रशासनका कार्यवाहक प्रमुख रुस्लान ओलिइनिकका अनुसार आपत्कालीन उद्धार टोलीहरू घटनास्थलमा परिचालन गरिएका छन् ।

यो आक्रमण अमेरिकी रक्षा कम्पनी ‘रेथियन’का वरिष्ठ प्रतिनिधिसँग युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भेटवार्ता गरेको भोलिपल्ट भएको हो । उक्त कम्पनीले युक्रेनलाई आवश्यक ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणाली उत्पादन गर्छ ।

आक्रमणपछि जेलेन्स्कीले ‘प्याट्रियट’ प्रणालीका लागि आवश्यक इन्टरसेप्टर क्षेप्यास्त्रको आपूर्तिलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

युक्रेनी रक्षा उद्योग परिषद्ले आक्रमणका बेला रक्षा उद्योगसँग सम्बन्धित प्रतिनिधिहरू कार्यक्रमस्थलमा रहेको जनाएको छ ।

यस घटनासम्बन्धी समाचार सम्प्रेषणमा युक्रेनी सरकारले अस्थायी प्रतिबन्ध लगाएको जनाइएको छ ।