रास्वपा संसदीय दलद्वारा भर्त्सना
रौतहट निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी दलिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा यही साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्कने क्रममा सांसद पौडेलमाथि भएको उक्त घटनाको घोर भर्त्सना गरिएको छ ।
विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित रहे पनि जनप्रतिनिधिमाथि हुने हिंसा, दुर्व्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ । यस्ता गतिविधिले विधिको शासन, लोकतान्त्रिक संस्कार तथा शान्तिपूर्ण र सुसंस्कृत राजनीतिक अभ्यासमाथि प्रहार गर्ने रास्वपाको धारणा छ ।
रास्वपाले घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही गर्न, घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी जनप्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरेको छ ।
ज्ञातव्य छ, गत बिहीबार गढीमाई नगरपालिका–७, पर्सामा आयोजित ‘जनतासँग भेटघाट’ कार्यक्रमबाट फर्किने क्रममा सांसद पौडेलको शरीरमा कालो मसी दलिएको थियो । बिहीबार राति करिब ८ बजेदेखि सवा ८ बजेको बीचमा कार्यक्रमस्थलबाट बाहिरिने क्रममा पछाडिबाट आएका एक व्यक्तिले आत्मीयता देखाउँदै अँगालो हाल्ने बहानामा सांसद पौडेलमाथि कालो मसी प्रहार गरी फरार भएका थिए । रातको समय हुनाले ब्यक्तिको पहिचान गर्न नसकिएको बताइएको छ ।
प्रतिक्रिया